दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या प्रकरणमा स्थानीय दुई युवाहरू पक्राउ परेपछि भरूवा बन्दुक पनि बरामद भएको छ।
स्थानीय जंगलमै लुकाएको अवस्थामा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।
यो घटनामा प्रेमबहादुरका दुई साथीहरू छविलाल डाँगी र पुष्प बस्नेत पक्राउ परेका हुन्। छविलाल बाँकेको कोहलपुरबाट र पुष्प दाङकै तुलसीपुरबाट शनिबार पक्राउ परेका हुन्।
उनीहरूको बयानका आधारमा खोजतलास गर्दा जंगलमा बन्दुक फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए।
'प्रेमबहादुरलाई गोली लाग्दा सँगै रहेका भनिएकाहरू दुवैलाई हामीले नियन्त्रणमा लिएका छौं,' एसपी तिमिल्सिनाले भने।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोद खत्रीका अनुसार सुरूमा प्रेमबहादुर रूखबाट लडेर घाइते भएको सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचना छविलाल र पुष्पले नै दिएका थिए।
अनुसन्धान क्रममा प्रेमबहादुरको घुँडा, तिघ्रा लगायत शरीरको विभिन्न भागमा चोट देखिएको थियो।
उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। तुलसीपुरमा उपचार सम्भव नभएपछि बाँके रिफर गरियो। बाँकेको अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले प्रेमबहादुरलाई मृत घोषणा गरेका थिए।
एसपी तिमिल्सिनाका अनुसार प्रेमबहादुरलाई माघ ३ गते दिउँसो करिब ३ देखि ४ बजेको बीचमा गोली लागेको थियो।
बाँकेमा प्रारम्भिक र सामान्य पोस्टमर्टम गरेर र माघ ४ गते प्रेमबहादुरको शव फिर्ता ल्याइएको थियो।
घरपरिवार र गाउँ उनको अन्त्येष्टिको तयारीमा जुटिसकेको थियो। सबै कर्म सकेर घाट लैजाने बेलामा मलामीबीच गाइँगुइँ सुरू भयो। प्रेमबहादुर रूखबाट लडेको नभएर गोली हानिएको भन्ने हल्ला फैलियो। मलामी बीच यस्तो कुरा चल्दा सादा पोसाकमा गएका प्रहरी पनि सुनिरहेका थिए।
हत्याको कुरा उठेपछि विवाद र अन्योल सुरू भयो। प्रेमबहादुरको शव घाटमा लैजान ठिक्क परेको उनको परिवार अलमलमा पर्यो। अनि प्रेमबहादुरको शव घाट लगिएन।
शुक्रबार रातभर प्रेमबहादुरको शव रूँघेर परिवार र गाउँले बसे।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिना पनि मध्यरातमै त्यहाँ पुगे। शनिबार बिहानै उनले थप पोस्टमर्टमका लागि प्रेमबहादुरको शव नेपालगन्जको भेरी अस्पताल पठाए। यो पोस्टमर्टम पहिलेभन्दा विस्तृत भयो। उनको तिघ्रामा बन्दुकका छर्रा फेला पर्यो। अरू विवरण पनि लिएर प्रेमबहादुरको शव परिवारलाई दिइयो।
शनिबार बेलुकी उनको अन्त्येष्टिको तयारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खत्रीले बताए।
प्रहरी स्रोतका अनुसार चोरीशिकार गर्न गएका बखत प्रेमबहादुर लड्दा उनी आफैले बोकेको बन्दुक पड्किएर गोली लागेको भनेर पक्राउ परेका छविलाल र पुष्पले बताएका छन्। थप अनुसन्धानपछि मात्रै गोलीबारे स्पष्ट भन्न सकिने प्रहरी अधिकारीहरूले बताएका छन्।
'आफैले बोकेको बन्दुक पड्किएर गोली लागेको हो वा पुरानो कुनै रिसिइवीका कारण साथीहरूले गोली प्रहार गरेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ,' एसपी तिमिल्सिनाले भने।