प्रहरीले काठमाडौंमा चार क्विन्टल बढी रक्तचन्दन बरामद गर्यो।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलास्थित एक घरबाट चार सय ३१ किलो रक्तचन्दन बरामद भएको हो।
यो घटना गत माघ १ गतेको हो।
पेप्सीकोलास्थित एक घरभित्र भण्डारण गरिराखेको अवस्थामा बरामद भएको रक्तचन्दनबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धानबाट प्रारम्भिक रूपमा प्रहरीलाई केही जानकारीसमेत प्राप्त भएको छ।
प्रहरीले रक्तचन्दनसँग संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेकोले थप जानकारी लिन सहज भएको थियो।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकी बस्ने ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोलामा बस्ने ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना रक्तचन्दन बरामद भएसँगै पक्राउ परेका थिए।
प्रहरीले पेप्सीकोलास्थित तिमल्सिनाकै डेराबाट रक्तचन्दन बरामद गरेको हो। ती रक्तचन्दन बोराभित्र थिए।
२९ वटा रक्तचन्दनको गोलिया ४३१ किलो बराबरको थियो। त्यसलाई जुटको बोराभित्र राखेर घरको कोठामा राखिएको थियो।
कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार लामो समयपछि काठमाडौंमा रक्तचन्दन बरामद भएको हो।
‘धेरैपछि ठूलो परिमाणमा काठमाडौंमै रक्तचन्दन बरामद भयो, यस घटनामा थप अनुसन्धानका लागि वन कार्यालय हात्तिसार पठाइसकेका छौं,’ उनले भने।
अब वन कार्यालयले रक्तचन्दन परीक्षण गर्नेछ र थप अनुसन्धान पनि अघि बढ्नेछ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा भने रक्तचन्दन काठमाडौंसम्म ल्याउने व्यक्ति कलंकी बस्ने रमेश थापा रहेको खुलेको छ।
रमेशविरूद्ध काठमाडौंमा चेक अनादर लगायतका केही मुद्दा छन्। त्यसैले उनी भागेर भारतको बैंगलौरमा बस्दै आएका थिए।
‘रमेश काठमाडौंबाट भागेर भारतमा बस्दै आएका रहेछन्। त्यहाँ बस्दा उनको चिनजान तस्कर समूहसँग भएको देखियो,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।
उनले भारतीय समूहसँगै मिलेर रक्तचन्दन तस्करी गर्ने गरेको दाबी प्रहरीको छ।
रमेशले अर्को समूहलाई रक्तचन्दन हस्तान्तरण गर्ने जिम्मा पाएको र त्यसबापत उनले ६ लाख र थप कमिसन पाउनुपर्ने देखिएको प्रहरीको भनाइ छ।
रमेशले करिब १० दिन अघि पर्साको नाका हुँदै भारतीय नम्बर प्लेटको गाडीबाट रक्तचन्दन काठमाडौं ल्याएका थिए।
यो रक्तचन्दन प्रतिकिलो चार हजार रुपैयाँसम्म बिक्री गर्ने गरी भारतीय पक्षले चिनियाँ पक्षसँग डिल गरेको खुलेको छ।
भारतबाट ल्याएको रक्तचन्दन रमेशले तिमल्सिनाको पेप्सीकोलास्थित डेरामा राखेका थिए। रमेशले तिमल्सिनालाई पैसा दिनुपर्ने र रक्तचन्दन बिक्री गरेर पैसा तिर्ने भन्दै रक्तचन्दन भण्डारण गरेको खुलेको छ।
‘रक्तचन्दनबाट आएपछि पैसा तिर्छु भन्दै तिमल्सिनाको डेरामा रक्तचन्दन भण्डारण गरिएको रहेछ। भारतीय पक्षले पनि रमेशलाई पैसा दिइसकेको अवस्था छैन। त्यही भएर सामान होल्ड गरेको देखियो,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘रमेशले अर्को एउटा नेपाली पक्षलाई रक्तचन्दन दिएर त्यो पक्षले चिनियाँ समूहलाई हस्तान्तरण गर्ने गरी नेक्सस बनाएको पनि अनुसन्धानका क्रममा देखिएको छ।’
उनीहरूबीच लफडा चलिरहेका बेला प्रहरीले सूचना पाएको थियो। त्यसपछि रक्तचन्दन बरामद भएको हो।