रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।
रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए।
'उनीहरूको साथबाट ४ सय ६२ किलो रक्तचन्दन फेला परेको थियो, बोरा र डोरी छुट्याएर जोख्दा ४ सय ३२ किलो रक्तचन्दन देखिएको छ,' एसपी आचार्यले भने।
उनीहरूले भारतबाट रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेका थिए। तिमल्सिना भने पेप्सीकोलामा कोठा भाडामा बस्दै आएका थिए। यो रक्तचन्दन कहिले, कसरी ल्याएका थिए र कसका लागि ल्याएका थियो भन्ने खुलिसकेको छैन।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गरेको पाइएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी आचार्यले जानकारी दिए।