रूसले नयाँ वर्ष २०२५ देखि लागु हुने गरी युरोपमा युक्रेन हुँदै गरिरहेको ग्यासको निर्यात बन्द गरेको छ।
आफ्नो भूमि हुँदै रूसी ग्यास युरोपमा निर्यात गर्ने सम्झौता युक्रेनले नवीकरण नगरेपछि करिब ६ दशकदेखि तत्कालीन सोभियत संघ र रूसबाट युरोपमा गइरहेको ग्यास बन्द भएको हो।
सन् २०१९ मा गरिएको पछिल्लो सम्झौता मंगलबार सकिएको छ। रूसले युक्रेनमा २०२२ फेब्रुअरीमा आक्रमण गरेका कारणले युक्रेनले सो सम्झौता नवीकरण नगरेपछि युरोपका केही देशमा हिउँदमा न्यानोका लागि प्रयोग हुने मुख्य ऊर्जा ग्यासको कमी हुन भएको छ।
रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार बिहान मस्कोको स्थानीय समय ८ बजेदेखि युरोपमा ग्यास निर्यात बन्द गरेको जनाएको छ।
तत्कालीन सोभियत संघले साइबेरियाको ग्यास युरोपमा निर्यात गर्न आफ्नो प्रान्त युक्रेन हुँदै सो पाइपलाइन बनाएको थियो। सोभियत संघ विघटन भएपछि रूसले पछि बाल्टिक सागरमुनिबाट युरोपमा ग्यास पठाउन नोर्ड स्ट्रिम पाइपलाइन पनि २०११ मा बनाएको थियो। तर जर्मनी ग्यास लाने उक्त पाइपलाइन २०२२ मा विस्फोट भएको थियो। रूसी आम्दानी घटाउन सो विस्फोट युक्रेनले गराएको मानिन्छ।
रूसले युक्रेन आक्रमण गरेपछि रूसबाट बेलारूस हुँदै नेटो राष्ट्र पोल्याण्ड जाने पाइपलाइन पनि पछिल्लो समयमा बन्द भएकाले रूसी ग्यास मुख्यतः युक्रेन हुँदै युरोप जान्थ्यो।
रूसले युक्रेन आक्रमण गर्दा युरोपले खपत गर्ने ग्यासमध्ये ३५ प्रतिशत रूसी ग्यास थियो। त्यसै कारणले युक्रेन आक्रमण गरेपछि पनि हिउँदको कठ्याङ्ग्रिँदो चिसोका बेला जनतालाई न्यानो राख्न रूसी ग्यास चाहिने भएकाले युरोपेली देशले युक्रेनलाई सहायता नगर्ने आकलन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए।
तर युक्रेनी सेना र जनताको अदम्य साहसका कारण पुटिनले सोचेजस्तो केही दिनमै रूसले युक्रेन कब्जा गर्न नसकेपछि युरोपेली देश र अमेरिकाले युक्रेनलाई निरन्तर सैन्य सहायता दिइरहेका छन्।
युरोपेली देशले बिस्तारै रूसी ग्यासको साटो नर्वे, कतार र अमेरिकाबाट ल्याएको ग्यास प्रयोग गर्न थाले। अहिले युरोपले करिब आठ प्रतिशत मात्रै रूसी ग्यास खपत गर्छ।
युक्रेन हुँदै जाने रूसी ग्यास अहिले मुख्यतः अष्ट्रिया, हङ्गेरी, स्लोभाकिया र मल्डोभालगायत केही बाल्कन देशले खपत गर्छन्।
बिजुलीका लागि मुख्यतः युक्रेन हुँदै निर्यात हुने रूसी ग्यास प्रयोग गर्ने मल्डोभाले ग्यास आउन बन्द हुने खतराका कारण डिसेम्बरमा सङ्कटकाल नै घोषण गरेको थियो।
युक्रेनले रूसी ग्यास निर्यातका लागि आफ्नो भूमि प्रयोग गर्न दिएबापत वर्षको ८० करोडदेखि एक अर्ब डलरसम्म कमाउँछ। तर पनि आफ्नो भूमिको प्रयोग भएर निर्यात गरेको ग्यास बेचेर कमाएको पैसाले रूसले आफूविरूद्ध युद्ध गरिरहेकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले सो पाइपलाइन बन्द गर्ने धम्की दिइरहेका थिए।
त्यस कारणले उनको रूसी ग्यासमा निर्भर भूपरिवेष्ठित स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोसँग पछिल्ला केही हप्तामा विवाद चलिरहेको थियो। पुटिनसँग राम्रो सम्बन्ध भएका भिक्टर ओर्बान प्रधानमन्त्री रहेको हङ्गेरीले पनि सो धम्कीका कारण जेलेन्सकीको विरोध गरिरहेको थियो।
पछिल्ला केही दिनमा जेलेन्सकीले ग्यासबापत रूसलाई दिइने भुक्तानी युद्ध नरोकिइन्जेल रोकेर राखे सो पाइपलाइन प्रयोग गर्न दिने बताउँदै आएका थिए। तर त्यसका लागि रूस राजी हुने सम्भावना थिएन।
त्यसैले युक्रेनले सम्झौता नवीकरण नगर्ने भए पछि रूसले आफै ग्यास निर्यात बन्द गरेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)