नेकपा (एमाले) बाट निकालिएका भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोधेका छन्।
उनले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पनि ओलीले नै दिनुपर्ने बताएका छन्।
‘कुनै संस्थामा कार्यरत व्यक्ति वा त्यसको सदस्यलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरीत काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि र पर्नसक्ने असरलाई ध्यानमा राखेर पहिले छलफल वा कुरा गरिन्छ। राजनीति त झन आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा संचालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ। निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत लिखित रुपमा कसैसंग स्पष्टीकरण सोध्नु अघि कुरा गर्ने सामान्य परिपाटी छ। यस्तो सामान्य परिपाटी विपरीत केपी शर्मा ओलीबाट म जस्तो पार्टीमा पाँच दशक अनेकौं जिम्मेवारी र योगदान गरेको व्यक्तिसंग छलफल र कुरा नगरी सोधिएको कथित स्पष्टिकरण प्रथम दृष्टिमा नै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ,’ उनले भनेका छन्।
अझ एकदेखि तीन वर्षअघिका कुरा कथित स्पष्टीकरणमा सोधिनु हाँस्यास्पद भएको उनले बताएका छन्।
‘अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा (एमाले) को देशभक्त, इमान्दार पंक्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरुको जवाफ दिनुपर्ने देखिएको छ,’ उनले भनेका छन्।
रावलले आफूलाई संगठित सदस्यबाट निकालेपछि पार्टी महासचिवले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी पार्टी अनुशासन सिकाएकोबारे पनि उनले कटाक्ष गरेका छन्।
‘यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्काशित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले संचारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले ‘भीम रावललाई हामीले निकालेका होइनौं आफै छोडेर गएको हो’ भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र? कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो?,’ उनले भनेका छन्।
पूर्णपाठ: