त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बेग्लै माहोल थियो। खेलकुद भइराख्ने रंगशालामा विद्यार्थी र अभिभावक भेला भएका थिए।
दशरथ रंगशालामा शनिबार करिब १४ हजार विद्यार्थी जमघट भए। त्रिभुवन विश्वविद्यालयमा पढेका ती विद्यार्थीहरू ५० औं दीक्षान्त समारोहमा भाग लिन दशरथ रंगशाला पुगेका हुन्।
यही भिडमा थिए- रेविका र उनका अभिभावक।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ की २८ वर्षीया रेविका भण्डारी र उनकी बहिनी २७ वर्षीया रिकिता भण्डारी स्वर्ण पदक विजेता 'गोल्ड मेडलिस्ट' हुन्।
रेविका व्यवस्थापनकी विद्यार्थी हुन्। उनले एमबिएसमा ३.९० सिजिपिए ल्याएकी थिइन्। गोल्ड मेडलिस्ट उनलाई नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार दिइएको हो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रेविकालाई उक्त उपाधि प्रदान गरेका हुन्।
उनलाई एमबिएस परीक्षामा सर्वप्रथम भएकोमा स्वर्ण पदक दिइएको हो भने प्रधान पुरस्कार महिलाहरू मध्ये सर्वप्रथम भएकाले दिइएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।
रेविकाले एमबिएस काठमाडौं मोडेल कलेज बागबजारबाट गरेकी हुन्। रेविकाका अनुसार उनी नियमित कक्षा लिन जान भने पाएकी थिइनन्।
उनले २०७६ मा एमबिएस पढ्न सुरू गरेकी थिइन्। त्यतिबेला कोभिड १९ सुरू भएकाले अनलाइन कक्षा सञ्चालन हुन्थ्यो। उनले धेरैजसो अनलाइबाटै पढिन्।
'बिबिए सकेपछि नै राष्ट्रिय वाणिज्य बैंकमा काम गर्न थालेँ, त्यसैले एमबिएस पढ्न नियमित कलेज जान पाइनँ,' उनले भनिन्।
उनले बिबिए भने पिपुल्स क्याम्पसबाट पास गरेकी थिइन्।
उनले बिबिए सकिँदै गर्दा बैंकमा नाम निकालेकी थिइन्। धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ खानीखोलास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट उनले काम सुरू गरेकी थिइन्।
उनी नियमित कलेज गएर पढ्न नपाए पनि बिहान-बेलुका समय मिल्दा अनलाइन कक्षा लिइन्। कहिलेकाहीँ उनी कलेज पनि जान्थिन्। कलेज गएका बेला मुस्किलले तीन-चार विषयका कक्षा लिन पाउँथिन् किनभने १० बजे उनी जागिरमा पुग्नुपर्थ्यो।
'काम गर्ने भएकाले पढ्न भ्याइनँ भन्नेहरू मन नभएर त्यस्तो भनेका हुन् जस्तो लाग्छ। पढ्न मन भयो भने समय जसरी पनि मिलाउन सकिँदो रहेछ,’ उनले भनिन्, ‘धेरै समय पढ्नु पर्दैन, कुनै विषयले भन्न खोजेको अर्थ बुझ्यो भने सजिलै हुने रहेछ।'
कलेजमा पढेका कुरा घर फर्केपछि दोहोर्याएर पढ्ने हो भने बुझ्न सहज हुने उनले बताइन्। उनले साथीहरूसँग नोट मागेर पनि पढेको बताइन्।
‘कामका कारण पढाइमा बाधा पुर्याएझैं लागेन, त्यसैले गोल्ड मेडलिस्ट भएँ,’ उनले खुसी साटिन्।
उनकी बहिनी रिकिता पनि गोल्ड मेडलिस्ट हुन्। उनले ३.९४ सिजिपिए ल्याएकी छन्।
वातावरण तथा विज्ञान विषयमा एमएस्सी गरेकी रिकिताले मदन विद्या वातावरण विज्ञान पुरस्कार पाएकी हुन्। एमएस्सी वातावरण विज्ञान विषयमा सर्वप्रथम भएकोमा उनलाई उक्त पुरस्कार दिइएको हो।
उनले वातावरण विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर गरेकी हुन्। रेविका रिकिताभन्दा एक ब्याच सिनियर हुन्। तर उनले स्नातकोत्तर गर्ने क्रममा बीचमा एक सेमेस्टर ग्याप हुँदा सँगै भएको उनले बताइन्।
'हामीले एकै महिनामा थेसिस बुझाएका हौं। २०८० जेठभित्र बुझाएका थियौं भने गत वर्ष नै दीक्षित हुन्थ्यौं। हामीले असारमा बुझएकाले यसवर्ष दीक्षित भयौं,' उनले भनिन्, ‘दीक्षित हुनका लागि शैक्षिक कागजात लिएको निश्चित समयअवधि पुगेको हुनुपर्ने त्रिविको नियम छ। सोहीअनुसार अघिल्लो वर्ष भ्याएनौं।'
रिकिता भने थेसिस बुझाइसकेर पिएचडी गर्न गत भदौं ९ गते अमेरिका गइन्। उनी वातावरण विज्ञानमा पिएचडी गर्न पाँच वर्षका लागि अमेरिका गएकी हुन्। त्यही कारण उनी शनिबार दीक्षान्त समारोहमा उपस्थित हुन सकिनन्।
‘बहिनी पनि सँगै भएको भए अझै रमाइलो हुन्थ्यो,’ रेविकाले भनिन्, ‘दीक्षान्तका बेला डाटा नचलेर खुसी साट्न पनि पाइनँ,’ उनले भनिन्, ‘हामीभन्दा बा-आमा खुसी हुनुहुन्छ, उहाँहरूको मेहनतकै सफलता हो यो।'
दिदीबिहनी नै कक्षा १२ सम्म एकै विद्यालयमा पढेका थिए। तर रूचिअनुसार स्नातक पढ्दा उनीहरू बेग्लाबेग्लै कलेजमा पुगे।
रेविका व्यवस्थापन संकायतिर लागिन् रिकिता भने वातावरण विज्ञानतर्फ मोडिइन्। उनीहरूलाई आफूले चाहेको विषय पढ्न परिवारले सहयोग गरे। उनीहरूले पनि मेहनत गरेर पढे तर उत्कृष्ट विद्यार्थी सूचीमा परेका थिएनन्।
'हामी दुवै जना राम्रो पढ्ने विद्यार्थी हौं तर कलेजको उत्कृष्ट बन्न सकेका थिएनौं,' रेविकाले भनिन्, 'स्नातकोत्तर पढ्ने भएपछि दुवैजनाको सिकाइको दायरा फराकिलो भयो।'
विगतमा भन्दा दोब्बर मेहनत गरेकाले नै गोल मेडलिस्ट बन्न सकेको उनले बताइन्। दुवै छोरी गोल्ड मेडलिस्ट भएकोमा बुवा राजेन्द्रकुमार भण्डारी र आमा विमला पाण्डे भण्डारी खुसी छन्। उनीहरू पनि शनिबार छोरीको दीक्षान्त समारोह हेर्न दशरथ रंगशाला पुगेका थिए।
दुवै छोरी गोल्ड मेडलिस्ट भएको थाहा पाएपछि खुसी साट्न दीक्षान्त समारोहमै पुगेको विमलाले बताइन्। उनकाअनुसार कान्छी छोरीको प्रमाण पत्र लिन पाइन्छ कि भन्ने थियो तर पाइएन। तर छोरीको नाम गोल्ड मेडलिस्टका रूपमा बोलाउँदा भने खुसी लागेको उनले सुनाइन्।
'दुवै छोरीहरूको सिटनजिकै थियो। त्यहाँ कान्छी छोरी नहुँदा भने अलि खल्लो लाग्यो। मोबाइलमा डाटा राम्रोसँग नचल्दा कान्छी छोरीसँग कुराकानी गर्न पाएनौं,’ उनले भनिन्, ‘मेरो सपना छोरीहरूले पूरा गरिदिए।’
नुवाकोटमा जन्मे हुर्केकी उनले कक्षा १२ सम्म पढिन्। उनलाई स्नातकोत्तर गरेर सरकारी जागिर खाने मन भए पनि अधुरै रह्यो। आफूले नपढे पनि छोराछोरीले पढेर सरकारी जागिर गरूँन् भन्ने उनलाई लागेको थियो। यो कुरा उनले छोरीहरूलाई पनि सुनाइरहन्थिन्।
५१ वर्षीय उनका दुई छोरी र एक छोरा छन्। छोरा पनि पढाइमा अब्बल रहेको उनले सुनाइन्। छोराछोरीलाई पढ्ने वातावरण घरमा पनि मिलाउनुपर्ने उनले बताइन्।
कान्छी छोरी अमेरिका गए पनि जेठीले आफ्नै देशमा काम गरेको हेर्ने मन उनलाई छ। पढ्नका लागि विदेश गए पनि काम गर्न भने आफ्नै देशमा आइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।
आमाकै जस्तो चाहना छ, जेठी छोरी रेविकाको पनि। अवसर पाएका खण्डमा पिएचडीका लागि अमेरिका जाने सोच रहेको बताएकी उनले स्थायी रूपमा त्यहीँ नबस्ने बताइन्।
'अवसर पाएँ भने पिएचडीका लागि अमेरिका जान्छु तर त्यहाँ बस्दिनँ। यही काम गर्ने हो,' उनले भनिन्, ‘नेपालमै बस्न चाह्यो भने यहाँ पनि अवसर छ। तर त्यसलाई खोज्न र चिन्न सक्नुपर्छ।’