थापाथली हुँदै जावलाखेलको यात्रा गर्ने यात्रुहरूले सडकमा पछिल्लो केही सातादेखि केही नौलो चिह्न त देख्नुभएकै होला। धेरैलाई थाहा नहुन सक्छ यो चिह्न के हो भनेर। यो हो 'यल्लो बक्स'।
धेरैलाई यल्लो बक्स भनेको के हो, किन प्रयोग गरिन्छ भन्नेबारे जानकारी नहुन सक्छ। त्यसैले यी प्रश्न हामीले ललितपुर महानगर प्रहरी बलका प्रमुख सीताराम हाछेथूलाई सोधेका छौं।
उनका अनुसार यल्लो बक्स कोरिएको एरियालाई 'नो स्टप जोन' भनेर पनि बुझिन्छ।
'ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन यो कन्सेप्ट ल्याएको हो,' उनले भने।
हाछेथूका अनुसार महानगरले पहिलोपटक ट्राफिक व्यवस्थापनका लागि यल्लो बक्स कन्सेप्ट प्रयोग गरेको हो। र यसको मुख्य प्रयोजन भनेको दुर्घटना हुन नदिनु र जाम कम गर्नु भएको उनको दाबी छ।
अहिले कुपन्डोल, हरिहर भवन, पुल्चोक र दमकल चोकमा यल्लो बक्स कोरिएको छ।
'यल्लो बक्स कोरिएको ठाउँबाट बाटो काट्न र सवारी साधन रोक्न पाइँदैन। त्यो सवारी साधन कुद्ने स्थान मात्र हो,' उनले भने, 'सवारी साधन रोक्नुपरेको खण्डमा यल्लो बक्स अगाडिको सेतो धर्को कोरिएको ठाउँमा रोक्नुपर्ने हुन्छ।'
ट्राफिक लाइटमा हरियो बत्ती बले पनि अगाडि जाम छ भने यल्लो बक्स भएको स्थानमा सवारी साधन रोक्न पाइने छैन।
यल्लो बक्स खाली राख्दा ट्राफिक व्यवस्थापनका लागि सहज हुने उनको भनाइ छ।
'चोकमा सबै ठाउँबाट आउने जाने काम हुन्छ,' उनले भने, 'जब चोकमा नै सवारी साधन रोकिन्छ तब जामले ठप्प हुन्छ। तब सवारी साधन चलाउन कठिन हुन्छ। तर यल्लो बक्सले गर्दा त्यो समस्या समाधान हुन्छ। किनकि यल्लो बक्स भएको एरियामा कुनै सवारी साधन हुने छैन।'
यल्लो बक्सको प्रयोगबारे जानकारी दिन महानगरले जनचेतनामूलक काम पनि गरिरहेको छ।
यस्तै, महानगरले एआई ट्राफिक लाइट समेत जडान गरेको छ। सात ठाउँमा उक्त लाइट जडान गरिएको छ।
कुपन्डोलस्थित कान देवतास्थान, हरिहरभवनमा एक एकवटा, पुल्चोकमा तीन वटा, दमकल चोकमा एउटा र जावलाखेलस्थित तीन ठाउँमा जडान गरिएको हाछेथूले बताए।
उनका अनुसार यी ट्राफिक लाइटले एकअर्कासँग कुराकानी गरी काम गर्ने हुँदा एआई ट्राफिक लाइट भनिएको हो।
'जस्तै हरिहर भवनमा जाम भइरहेको छ भने ट्राफिक लाइटले आफै नजिकका अन्य लाइटसँग कुराकानी गरेर कम सवारी साधन पठाउन संकेत गर्छ,' उनले भने, 'त्यसपछि पुल्चोक र कुपन्डोलबाट जाने सवारी साधनको चाप कम हुन्छ र यसले ट्राफिक व्यवस्थापनमा सहज हुन्छ।'
अहिले भएका अधिकांश ट्राफिक लाइटहरू सेन्सर र टाइमरवाला भएको उनको भनाइ छ।
'अहिले जुनसुकै साइडबाट सवारी साधनको जतिसुकै चाप बढी भएता पनि टाइमर अनुसार नै काम हुँदै आएको छ,' उनले भने, 'तर यो प्रविधिले जुन साइडमा धेरै सवारी साधनको चाप छ, त्यता धेरै सवारी साधन जान समय दिने र चाप नभएको क्षेत्रमा स्वत थोरै समयको संकेत देखाइदिनेछ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
-1735203079.jpg)
-1735203079.jpg)
-1735203078.jpg)
-1735203078.jpg)
-1735203078.jpg)