राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलविरूद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला अदालत कास्कीमा आइतबार रवि दम्पतीविरूद्ध मुद्दा दर्ता भएको हो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरणमा रविसँगै श्रीमती निकितालाई पनि मुद्दा लगाएको छ।
रविलाई सरकारी वकिलले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा प्रतिवादी बनाएको छ।
साथै निकितालाई सम्पत्ति जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सेतोपाटीलाई जानकारी दिइन्। ‘निकिता लगायतलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएका हौं,’ उनले भनिन्।
लामिछानेको सम्पत्ति पौडेलमा पनि गएको भन्दै जफत गर्नका लागि प्रतिवादी बनाइएको हो।
रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।
यसका साथै लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ।
पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो। उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।
आइतबार दर्ता गरिएको पूरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो। आठ वटा कम्पनि र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो।
सम्पत्ति शुद्धीकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लीला पछाईविरूद्ध मुद्दा दायर भएको हो।
यसअघि सरकारी वकिलले शुक्रबार जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।