मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ।
बुधबार जिल्ला अदालत काठमाडौंमा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरेर केही समयअघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
ब्युरोले उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो।
त्यसअनुसार सरकारी वकिलले उनलाई दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो।
त्यसैगरी प्रसाईंले दोहोर्याएर सोही अपराध गरेको भन्दै थप सजायको पनि माग गरेको हो।
‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।
डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप गर्नु हो। अर्थात पाँच वर्ष कैद भएमा डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष सजाय हुनसक्छ। यसो भएमा प्रसाईंलाई सात वर्षसम्म सजाय हुन सक्छ।
प्रसाईंलाई पहिलो कसुरमा असोज ६ गते पक्राउ गरेको थियो। दुई वटा छुट्टाछुट्टै जाहेरीका आधारमा उनी ९ दिन हिरासतमा बसेर छुटेका थिए। जिल्ला अदालतले दुई वटा कसुरमा ५०-५० हजार धरौटी माग गरेको थियो।
त्यो मुद्दा किनारा नलाग्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुरको निवासबाट मंसिर ४ गते पक्राउ गरेको थियो।
जब फुयालले प्रहरीकै अगाडि प्रसाईंलाई भने- तपाईंलाई पैसा माग्न फोन गरेको थिएँ!
मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) हिरासतमा छन्।
केही दिन अघिसम्म साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंलाई अर्कै मुद्दामा अनुसन्धान तथा बयानका लागि सिआइबी ल्याइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि उनी मंसिर ४ गते पक्राउ परेका थिए। प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।
आइतबार प्रतिवेदन बुझाएपछि उनीमाथि आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धानका लागि सिआइबीले बयान थालेको छ।
सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंमा सिआइबीका अनुसन्धान अधिकृत र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिन सुरू गरेका हुन्।
नेपालका उच्चस्तरीय व्यक्ति तथा व्यवसायीहरूलाई धम्क्याउन झापाका हरिचन्द्र फुयाललाई परिचालन गरेको खुलेको थियो। उनले प्रसाईंकै निर्देशनमा भारतमा बसेर विभिन्न व्यक्तिहरूलाई धम्की दिएको खुल्यो।
उनी पक्राउ नपरेका भए सम्भवतः प्रसाईंमाथि अर्कोमा अनुसन्धान हुने थिएन। तर जब उनलाई मंसिर १४ गते प्रहरीले पक्राउ गर्यो, त्यही बेला सिआइबीले प्रसाईंविरूद्ध पनि पर्याप्त प्रमाण फेला पार्यो।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रसाईंविरूद्ध पर्याप्त प्रमाण भएकाले उनले नै फुयाललाई परिचालन गरेको देखिन्छ।
'प्रहरीले फुयालबाट बरामद गरेको फोन नै मुख्य प्रमाण बनेको छ,' ती अधिकारीले भने, 'जसबारे प्रहरीले सबै कुराबारे सोधपुछ गरिरहेको छ। प्रसाईंलाई यस मुद्दामा गाह्रो छ। यो मुद्दा विस्तृत रूपमै हुन्छ।'
फुयालबाट प्रहरीले भिभो कम्पनीको एउटा र रेडमी कम्पनीको एउटा फोन बरामद गरेको थियो। त्यही दुइवटा फोनबाट उनले धम्क्याउने गरेका थिए।
केही समयअघि नै पक्राउ परेका फुयालको बयान लगभग सकिइसकेको थियो।
सोमबार फेरि बयानका लागि फुयाल र प्रसाईंलाई सँगै राखियो।
त्यही क्रममा फुयालले प्रहरी र सरकारी वकिलकै अगाडि भने, 'तपाईंलाई पैसा माग्न फोन गरेको थिएँ नि।'
उनले यसो भन्दा प्रसाईंले आफूलाई केही थाहा नभएको बताएका छन्।
स्रोतका अनुसार प्रसाईंले फुयाललाई तीन लाख रूपैयाँ दिने बाचा गरेका थिए। सो रकम माग्न फुयालले फोन गर्दा प्रसाईंले 'अर्कै मान्छेको खातामा हालेको छ, पछि मिलाऊँला' भनेका थिए।
पाँच लाख रूपैयाँको भौचर पनि उनको ह्वाट्सएपमा देखिएको थियो। तर त्यो रकम फुयालले लिएको वा नलिएको भन्ने खुलेको छैन।
सिआइबी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार प्रसाईंको बयान सकिएको छैन। मंगलबार थप बयान हुनेछ।
उनका अनुसार फुयालले प्रत्यक्ष रूपमा प्रसाईंसँग गरेको कुराकानीको अडिओ रेकर्ड फेला परेको छ।
'हामीले फुयालबाट बरामद गरेको फोनबाट प्रसाईंसँग कुराकानी गरेका सबै अडिओ फेला पारेका छौं,' उनले भने, 'यसमा हामी भ्वाइस टेस्ट गराउँछौं।'
सिआइबीले फुयालले गरेका कलका रेकर्डहरूलाई नै प्रमाणको रूपमा पेस गर्न लागेको छ।
त्यस्तै विभिन्न अपराधको आरोपमा हाल जेलमा रहेका भारतीय नागरिक लरेन्स विश्नोईको नाम लिएर प्रसाईंले नेपाली व्यापारीहरूलाई धम्क्याएको आरोप छ। तर उनीहरूबीच कुनै सम्बन्ध देखिएको छैन। यही अनुसन्धानमा प्रहरीले अन्य ६ जनालाई पनि खोजी गरिरहेको छ। तर उनीहरूको भूमिका के कस्तो थियो भन्ने प्रहरीले खुलाएको छैन।
विश्नोईले जेलभित्रैबाट आफ्नो समूह परिचालन गर्दै आएका छन्। उनको समूहमा सात सयभन्दा धेरै जना मानिस रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। क्यानडा, इटाली, अस्ट्रेलियासम्म उनको पहुँच रहेको समाचारहरूमा उल्लेख छ।
विश्नोईले सन् २०१८ मा सलमान खानको हत्या गर्ने योजना बनाएका र पटक पटक धम्की दिँदै आएका पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ६६ वर्षीय भारतीय पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा उनकै समूहको संलग्नता भएको अनुमान छ। सन् २०२२ मा भारतीय गायक सिद्धु मुसेवालाको हत्याको जिम्मेवारी पनि विश्नोईको समूहले लिएको थियो।