बर्खायामभरि पहिरोले पटक–पटक अवरूद्ध बनेको खोडपे–चैनपुर–बझाङ सडकखण्डको हालत हिउँदमा पनि उस्तै छ।
हिउँदे सिजन सुरू भएयता पनि दुई महिनादेखि लगातार पहिरो खस्दा यो सडकखण्ड प्रायःअवरूद्ध भइरहन्छ। जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार पहिरोले यो सडकखण्डमा दैनिक यात्रामा ठूलो प्रभाव पारेको छ।
‘मान्छेले दुःख पाएका छन्। रातीको समयमा त सवारी साधन नै पाइँदैन,’ डिएसपी भण्डारीले भने।
मालसामान ढुवानी गर्ने ट्रकहरू त पहिरो पन्छाउन नसकिने अवस्थामा त्यहीँ रोकिन्छन्। समयमै खाद्यान्न भण्डारण गर्न नपाएपछि कुहिएर खेर जाने समस्या छ। पहिरोले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था यहाँ बाह्रै महिना छ।
‘बर्खायामको समयमा त एक साता जति सडक बन्द भयो। सडक डिभिजन कार्यालय पनि टाढा भएकाले समयमा काम गर्न समस्या भएको छ। हामीलाई पहिरो हटाएर सडक खुलाउन कठिनाइ थियो। धेरै जुगाड गरेर सडक खुलाउने गरेका थियौं,’ भण्डारीले भने।
यो सडकखण्ड अन्तर्गत छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै कात्तिक २८ गते त खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको थियो। पहिरोले सडक बिगारेका कारण धनगढीबाट खाद्यान्न बोकेर सदरमुकाम चैनपुरतर्फ गइरहेको ट्रक सडकबाट पाँच मिटर तल खसेको थियो।
‘पहिरो अहिले पनि झरिराख्छ। सडक हेर्ने सुपरभाइजर, एक मेसिन छ। यसले सडकको पहिरो हटाउनै हम्मेहम्मे परेको छ,’ डिएसपी भण्डारी भन्छन्।
खोड्पे–चैनपुर–बझाङ सडकखण्ड, बैतडीको खोड्पे बजारदेखि बझाङको सदरमुकाम चैनपुर बजारसम्म जोड्ने महत्वपूर्ण सडकखण्ड हो। यो सडकखण्ड जयपृथ्वी राजमार्गको नामले पनि परिचित छ।
खोड्पेबाट तीन दशकअघि १ सय ८ किलोमिटर लम्बाइको यो सडक निर्माणको काम सुरू भएको थियो।
२०६५ सालमा सदरमुकामसम्म कच्ची सडक निर्माण भयो। त्यसको चार वर्षपछि २०६९ सालमा यो सडक पूर्ण रूपमा कालोपत्रे भएको थियो। सडक निर्माण पश्चात् स्तरोन्नति, मर्मत सम्भार र संरक्षणको जिम्मा सडक डिभिजन कार्यालय बैतडीलाई दिइएको छ।
सडकलाई तीन वटा खण्ड छुट्याएर स्तरोन्नति, मर्मत, सुधार र संरक्षण लगायतका काम गरिरहेको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लिलाधर भट्टले जानकारी दिए।
२९ किलोमिटर ५ सय मिटरको खोड्पे–बित्थड खण्ड, ३० किलोमिटर ७ सय २० मिटरको बित्थड–कलंगाड र ५२ किलोमिटर ७ सय ४० मिटरको कलंगाड–चैनपुर खण्ड गरि तीनवटा खण्ड रहेका छन्।
खण्ड अनुसार सडक सुधारका काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रममार्फत् सडक चौडा पार्ने काम भइरहेको इन्जिनियर भट्टले बताए।
सडकमा अप्ठ्यारा मोडहरू सुधार गर्ने, सडक चौडा गर्ने, चौडा भएका ठाउँमा कालोपत्रे गर्ने काम भइरहेको उनी बताउँछन्। खोड्पे–बित्थड खण्डमा कटिङ पूरा गरेर कालोपत्रे गर्ने तयारी छ। बित्थड–कलंगाड र कलंगाड–चैनपुरमा सानातिना खाल्डाखुल्डी मर्मत गर्ने काम जारी छ।
सडक डिभिजन कार्यालयका अनुसार यो सडकको स्तरोन्नति, मर्मतको काम गर्न धेरै चुनौती छन्।
‘यहाँ क्रसर पनि छैन। चाहिने मालसामान पाउन कठिनाइ छ। मध्यपहाडी राजमार्ग भनेरै बर्सेनि सडक सुधारका लागि बजेट आउँछ, तर काम गर्ने चुनौती छ। चुनौती मोलेर पनि धेरै सुधारको काम भइरहेको छ,’ इन्जिनियर भट्ट भन्छन्।
उनका अनुसार यो सडकखण्डको तीन वटा भागमध्ये कलंगाड–चैनपुर खण्डमा दैनिक पहिरो झरिरहन्छ। यो खण्डअन्तरगत छविसपाथिभेरा गाउँपालिका–१ को बालुवाटार क्षेत्रमा पहिरो रोकिएको छैन।
बर्खायाममा बालुवाटार क्षेत्रमा सेती नदीले धेरै कटान गरेको भट्टले बताए। त्यसैले सडक पनि बेला–बेला अवरूद्ध हुन्थ्यो। भदौको अन्तिमतिर त ६/७ दिन बाटो पूर्ण रूपमा बन्द भयो।
पटक–पटक अवरूद्ध हुँदा भदौतिरै कार्यालय प्रमुख परिवर्तन भएपछि मेसिन चलाउन पेट्रोल समेत जोहो गर्न कठिन भएको थियो। बाढी र पहिरोले क्षति गरेको ठाउँमा त्यसपछि सडक डिभिजन कार्यालयले आकस्मिक ठेक्का खोलेर सेती नदीलाई रिभर टर्निङको काम गरिएको थियो। त्यसपछि सडक पूर्ण रूपमा सञ्चालन भयो।
अहिले हिउँदमा पनि अवस्था त्यस्तै हुँदा संरक्षण, मर्मत र स्तरोन्नतिको जिम्मा पाएको निकाय सडक डिभिजन कार्यालय नै हैरान बनेको छ।
बालुवाटार क्षेत्रमा हिउँदको यो समयमा माथिबाट सुख्खा पहिरो खसिरहेको छ।
‘बालुवाटारमा दुई महिना भयो निरन्तर पहिरो खस्न थालेको, रोकिएको छैन। हामीले धेरै पटक साइट गएर पनि हेरेका छौं,’ भट्टले भने, ‘हाम्रो दक्षताले नभ्याउने भएपछि अहिले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयलाई यसको भित्री भौगोलिक बनावट के छ, किन पहिरो खसिरहेको छ, कसरी रोक्ने भन्ने बारेमा अध्ययन गर्न पत्राचार गरेका छौं।’
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयको टोलीले स्थलगत जाँचबुझ गरेर तयार पारेको रिपोर्ट अनुसार त्यहाँ काम हुने सडक डिभिजन कार्यालयको भनाइ छ।
‘माथिबाट अब कहिले टोली आउँछ र त्यहाँबाट आएको टोलीले रिपोर्ट तयार गरेपछि त्यही अनुसार काम हुन्छ समस्याको दीर्घकालीन समाधानका लागि। नत्र त पहिरो सधैंका लागि रोक्न गाह्रो छ,’ इन्जिनियर भट्टले भने।
बालुवाटार क्षेत्रमा सुख्खा पहिरो नरोकिँदा यात्रामा जोखिम बढेको सवारी चालक वीरेन्द्र खड्का बताउँछन्।
‘पहिरो आइरहँदा डर छ। मन मुटु बलियो पारेर यात्रा गरिहेका छौं। नेताहरू चुनाव जितेर कता छन्, यता आएर हाम्रो समस्या बुझिदिनु पर्यो। सधैंभरि जोखिममै यात्रा गर्नुपर्ने कस्तो हो हाम्रो कर्म’ उनले भावुक हुँदै भने।
सडक डिभिजनले अहिले पहिरो आएपछि हटाउनका लागि दैनिक तीन घण्टा जति एक सुपरभाइजर र एक मेसिन प्रयोग गरिरहेको छ। ठूलो पहिरो खस्दा एक मेसिनले मात्र काम गर्न नसकिने हुँदा निर्माण व्यवसायीबाट भाडामा अर्को मेसिन पनि प्रयोग गर्ने गरिएको बताएको छ।
‘दुई महिनादेखि पहिरो रोकिएको छैन विभागबाट थप बजेट माग गरिरहेका छौं,’ इन्जिनियर भट्टले भने, ‘समस्या समाधानका लागि सडक विभाग र सांसदहरू समक्ष बजेटको माग गरिरहेका छौं।’
सडक डिभिजन कार्यालयकाअनुसार खोड्पे–चैनपुर सडकखण्डको मर्मत सम्भारका लागि सडक बोर्डले बजेट दिन्छ। पूरा सडकको सानातिना खाल्डाखुल्डी पुर्ने र टालटुल गर्न २२ लाख रुपैयाँको ठेक्का खोलेर काम हुँदैछ।
यस्तै सडक सुरक्षाअन्तरगत दैनिक सुरक्षा पोष्ट, राति सडकमा चम्किने लाइट लगायतका सुरक्षा सामग्री सडकमा लगाउनका लागि चालिस लाख रुपैयाँको ठेक्का खोलेर सम्झौता भएको छ। सम्झौता अनुसारको काम सुरू हुने तयारी रहेको सडक डिभिजन कार्यालयले जानकारी दियो।