बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस पुग्यो।
जुम्लाको मात्रै होइन, अहिले देशैभरिको तापक्रम घटिरहेको छ।
बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्यिस रह्यो। मंसिर लागेयता काठमाडौंको यो कम तापक्रम हो।
मौसम विभागकाअनुसार बिहीबार बिहान ताप्लेजुङको तापक्रम ६.७, डडेलधुराको तापक्रम ५.० पुगेको थियो। त्यस्तै धनकुटा र ओखलढुंगाको तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको थियो।
मंसिर लागेसँगै देशैभरको मौसम घट्दोक्रममा रहेको मौसमविद् रोजन लामिछानेले बताए। जाडो बढेसँगै उपत्यका, खोंच क्षेत्रमा बिहान हुस्सु, तुवाँलो लाग्न थालेको उनले बताइन्। तराईमा अझ बाक्लो हुस्सु र तुवाँलो लाग्न थालिसकेको उनको भनाइ छ।
‘मंसिर लागेयता तापक्रम निकै घटिरहेको छ, तापक्रम घटेर चिसो बढेसँगै उपत्यका, खोँच, तथा तराईका भू–भागमा तुवाँलो पनि लाग्न थालिसकेको छ। यो क्रम अझै बढ्ने हुनाले चिसोबाट बच्नुपर्ने देखिन्छ,’ मौसमविद् लामिछानेले भने।
गत कात्तिक २९ गते काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस थियो। बिहीबार बिहानसम्म घटेर न्यूनतम तापक्रम ७.६ र अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस पुगेको छ।
काठमाडौंको बुधबारको अधिकतम तापक्रम १९.६ र न्यूनतम तापक्रम ८.० पुगेको थियो। सन् २००० मा काठमाडौंको न्यूनतम तापक्रम शून्यमा झरेको थियो।
हेर्नुहोस् काठमाडौंको तापक्रम
देशभर चिसो बढे पनि वर्षात् भने भएको छैन। मनसुन बाहिरिएयता कम पानी परेको मौसमविद् लामिछानेले बताए। जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो एक सातामा सबैभन्दा बढी पानी पाँचथरको फिदिममा परेको छ।
गत मंसिर ७ गते १९९ वटा केन्द्र (४६ मानव सञ्चालित र १५३ स्वचालित) मध्ये तीन वटा केन्द्रमा पानी परेको थियो। मंसिर ७ गते २४ घन्टाको अवधिमा पाँचथरको फिदिममा ११.८ मिलिमिटर वर्षा मापन भएको विभागले जानकारी दिएको छ।
मंसिर ५ गते २१२ वटा केन्द्रमध्ये संखुवासभाको नुम केन्द्रमा ३.० मिलिमिटर वर्षा भएको रेकर्ड छ। मंसिर ६ गते संखुवासभाको नुम केन्द्रमै ४.८ मिलिमिटर, मंसिर ९ गते कुनै पनि केन्द्रमा पानी परेन।
मंसिर १० गते दुई वटा केन्द्रमा १ मिलिमिटरभन्दा बढी पानी परेकामा रोल्पाको लिबाङ केन्द्रमा १.८ मिलिमिटर वर्षा मापन भएको अभिलेख छ।
मंसिर ११ गते संखुवासभाको नुम केन्द्रमा मात्रै पानी परेको थियो। त्यस दिन त्यहाँ १.५ मिलिमिटर वर्षा मापन भएको थियो। बुधबार २०७ केन्द्रमध्ये २ केन्द्रमा वर्षा मापन भएको थियो। त्यसमध्ये बढी (२.२ मिलिमिटर) वर्षा सुर्खेत केन्द्रमा भएको विभागले जानकारी दिएको छ।
पश्चिमी वायुले तत्काल पानी पार्ने प्रणाली नभित्र्याउने देखिएकाले यो हप्ता छिटपुटबाहेक ठूलो वर्षाको सम्भावना नरहेको लामिछानेले बताए।
‘वेस्टर्न डिस्टर्बेन्स (पश्चिमी न्यून चापीय प्रणाली) को सम्भावना देखिएको छैन। त्यसकारण यहाँ ठूलो वर्षाको कुनै सम्भावना छैन। गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू-भागमा बदलीदेखि छिटपुट वर्षाको सम्भावना छ। योक्रम शनिबारसम्मै रहेन। साथै उच्च पहाडी तथा हिमाली भेगमा कतैकतै हिमपातको सम्भावना छ,’ उनले भने।
यो वर्षको पोस्ट मनसुनमा कम पानी परेको छ। असोज १४देखि मंसिर १४ गतेसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ। यो अवधिमा ७४.३ मिलिमिटर वर्षा हुने गर्छ। अघिल्लो वर्ष सरदरभन्दा बढी अर्थात् ७५.३ मिलिमिटर वर्षा भएको थियो।
यस वर्ष पोस्ट मनसुन याम सकिन २ दिन बाँकी हुँदा ६३.२ अर्थात ८४.८ मिलिमिटर वर्षात् भएको छ।
पानी नपर्दा र तापक्रम पनि घट्दै जाँदा काठमाडौंको हावा प्रदूषित बनेको छ। घाम नचर्कंदा तल्लो वायुमण्डल चिसो हुने र धुलोधुवाँ अन्यत्र उडेर जान सक्दैन। पानी नपरेकाले वायुमण्डलमा भएको धुवाँधुलो पखालिँदैन। जसले वायु प्रदूषण निम्त्याइरहेको छ।
पछिल्लो एक घन्टाको अवधिमा भरतपुर, काठमाडौंको रत्नपार्क, ललितपुरको वायु हानिकारक देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार भतपुरको एक्युआई १७५, रत्नपार्कको १७० र खुमलटारको एक्युआई १६३ छ।
त्यस्तै नेपालगञ्जको ७२, शंखपार्कको ६९, धनकुटाको एक्युआई ५५ छ। हेटौंडाको वायुको गुणस्तर राम्रो देखिएको छ। त्यहाँको एक्युआइ २ छ।
सूचकांकअनुसार ०–५० स्वस्थ, ५१ देखि १०० मध्यम, १०१देखि माथि संवेदनशील मानिन्छ।