उमेरले ३३ वर्षकी सोमना खड्का शिक्षक हुन्। सुर्खेतको भेरीगंगामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा उनी प्रावि तहलाई पढाउँछिन्। २०७७ सालमा विद्यालयको राहत दरबन्दीमा उनको पदस्थापन भएको थियो।
सोमना दृष्टिविहीन हुन्। घाम लाग्दा उनी छायाको सहारामा हिँडडुल गर्छिन्। उनी मधुरो छायामात्रै देख्न सक्छिन्। घाम नलाग्दा भने उनलाई मानिस वा छडीकै सहारा चाहिन्छ।
सानैदेखि सामान्य व्यक्तिले जस्तो किताबका अक्षर देख्न नसक्ने सोमनाले आफ्नो जीवनकै ठूला कष्ट भोगेर शिक्षा लिइन्। अपांगता भएकै कारण उनलाई केही समय विद्यालयले भर्ना लिन पनि मानेनन्। जब भर्ना लिइन् तब उनले अपांगता भएकै कारण विभिन्न किसिमका हिंसा भोग्नुपर्यो। छात्रावासमा हुने हिंसाका कारण विद्रोह गर्दा आफै निकालिएकी थिइन्।
तै पनि सोमनाको पढ्ने इच्छाशक्तिलाई दृष्टि अभावले मार्न सकेन। डटेर उच्च शिक्षा पूरा गरिन्। अनि शिक्षा दिने काममा पनि लागिन्।
२०४७ वैशाखमा दैलेखको साविक कट्टी गाविसमा सोमना जन्मेकी हुन्। उनको दृष्टि जन्मजातै गुमेको भने होइन। साढे दुई वर्षको हुँदा उनका आँखा पाक्न थाले। घर नजिक अस्पताल नभएकाले तत्काल उपचार गर्न सम्भव भएन। रोगले ठूलो रूप लियो। अन्ततः उनको दृष्टि नै गुम्यो।
सोमनाका दिदीबहिनी मात्रै थिए। छोराको आशमा अर्को विवाह गरेपछि उनीहरू टुहुरा जस्ता बने। सहारा आमामात्रै थिइन्। उनले जसोतसो छोरीहरूको पालनपोषण गरिन्।
६ वर्षको हुँदा सोमनाले पढ्ने अवसर पाएकी थिइन्। उनकी फुपू सुर्खेतको रामघाट बस्थिन्। फुपूकी जेठी छोरीले रामघाटमा अपांगता भएका व्यक्तिलाई पढाउने स्रोत कक्षा भएकाले आफ्नो घरमा पठाइदिन दैलेख खबर पठाइन्।
‘बुवा त आँखा नदेख्नेलाई किन पढाउनुपर्यो भन्नुहुन्थ्यो, आमाले घरबाट अलग बनाएर भए पनि पढायो भने मेरो मृत्युपछि पनि छोरीलाई जीवनयापनमा सहज हुन्थ्यो भन्ने सोच्नुभयो। मलाई पढ्न पठाउन राजी हुनुभएको थियो,’ उनले भनिन्, ‘आमाले कर गरेपछि बुवाले रामघाटमा रहेको फुपूको घरमा लगेर छोडिदिनुभयो।’
सोमना २०५५ सालमा रामघाट झरेकी थिइन्। परिवारले सुरूमा पुर्याइदिए पनि पछि बिदाको समयमा लिन आउने वा भेट्न आउने गरेनन्।
उनका अनुसार त्यतिबेला वीरेन्द्रनगरमा आवास सहितको स्रोत कक्षा थिएन। तर रामघाटमा आवास सहितको थियो। त्यहाँ उनले ६ महिना मात्रै पढ्न पाइन्। त्यसपछि त्यहाँको स्रोत कक्षा नै बन्द भयो। सोमना गाउँमै फर्किनुपर्यो।
गाउँमा हजुरबुवा नाता पर्ने एक जना शिक्षकले ब्रेललिपी अक्षर चिन्न सक्ने सामान्य तालिम लिएका थिए। उनै शिक्षकले सोमनालाई आफूले पढाउने विद्यालयमा भर्ना गर्न लगाए। उनी त्यो विद्यालयमा एक कक्षामा भर्ना भइन्। सामान्य ब्रेललिपी अक्षर उनले रामघाटमा पनि सिकिसकेकी थिइन्। दैलेखमा उनी चार कक्षासम्म पढिन्।
ब्रेललिपी सामग्री उनीसँगै थिए। गाउँको सरकारी विद्यालयमा उनी आफूले परीक्षामा लेखेको उत्तरपुस्तिका आफैले पढेर शिक्षकहरूलाई सुनाउँथिन्। किनभने शिक्षकहरू उनको ब्रेललिपी अक्षर पढ्न सक्थेनन्। पढेर सुनाएका आधारमा शिक्षकले उनलाई नम्बर दिन्थे।
त्यसबीचमा रामघाटको स्रोत कक्षा पुनः सञ्चालनमा आइसकेको थियो। गाउँमा चार कक्षा पास गरिसकेपछि सोमना रामघाटै फर्किइन्। रामघाटको शिखर माविमा उनी कक्षा ५ मा भर्ना भइन्।
उनको पढाइ अपांगता भएका अरू विद्यार्थीको भन्दा राम्रो थियो। त्यसको मूल्यांकन गर्दै शिक्षकहरूले सोमनालाई नेपालगञ्जको एउटा विद्यालयमा सिफारिस गरिदिए।
‘रामघाटका शिक्षकहरूले मलाई राम्रो पढ्ने विद्यार्थी हो, यसलाई योभन्दा राम्रो विद्यालयमा पठाउनुपर्छ भनेर सल्लाह गर्नुभएको थियो,’ उनले भनिन्, ‘शिक्षकहरूले नै मलाई छात्रवृत्तिमा छनोट गरेर नेपालगञ्जको मंगल माध्यमिक विद्यालयमा सिफारिस गरिदिनुभयो।’
तर नेपालगञ्ज गएपछि उनलाई पढ्न निकै समस्या भयो।
‘एक त दृष्टिविहीन, त्यहीमाथि आफ्नो चिनजानको कोही नभएको सहरमा मलाई एकदमै गाह्रो भयो, शिक्षकले मलाई सिफारिस गरेको त्यहाँको स्कुलले होस्टलमा राख्न चाहेन,’ सोमनाले भनिन्, ‘मेरो शारीरिक बनावट त्यतिबेला एकदमै सानो थियो। मलाई यसले होस्टलमा बसेर पढ्न सक्दिनँ भन्ने मुल्यांकन गरेर भर्ना नलिने एकतर्फी निर्णय स्कुलले गरेको थियो।’
होस्टल सहितको सुविधा पाउनेगरी विद्यालयमा भर्ना नपाएपछि उनी जिल्ला शिक्षा अधिकारीकहाँ पुगिन्। जिल्ला शिक्षा अधिकारीले उनलाई अर्को विद्यालयमा फेरि पाँच कक्षामा भर्ना गर्नेगरी सिफारिस गरिदिने भने। सोमनालाई भने सरासर कक्षामा अघि बढ्नु थियो।
तत्कालीन जिल्ला शिक्षा अधिकारीलाई उनले आफूलाई रामघाटको विद्यालयले सिफारिस गरेको विद्यालयमा ६ कक्षामै भर्ना नगरिदिए आत्महत्या गर्ने चेतावनी दिइन्। त्यसपछि बल्ल जिल्ला शिक्षा अधिकारीले त्यही विद्यालयलाई भर्ना गर्न निर्देशन दिएका थिए।
जिल्ला शिक्षा अधिकारीको सहयोगमा उनी भनेकै विद्यालयमा भर्ना त भइन। टिक्न भने सकिनन्। ६ कक्षामा भर्ना भएपछि विद्यालयको छात्रावासमा हिंसा भएको महसुस उनले गरिन्।
छात्रावासमा हुने हिंसाको उनले खुलेर विरोध गरिन्। पत्रकार सम्मेलन गर्ने चेतावनी विद्यालयलाई दिइन्। विद्यालयले उनलाई होस्टलबाटै निकालिदियो। त्यसपछि सोमनाका दुःख झनै थपिए। उनी कहिले कोही साथीकोमा, कहिले चिनजान भएकाहरूका घर र डेरामा बसेर पढ्न थालिन्।
छात्रावासबाट निकाले पनि पढ्न भने त्यही स्कुलमा पाएकी थिइन्। निकै दुःख गरेर उनले त्यही विद्यालयबाट २०६४ सालमा एसएलसी परीक्षा दिइन्। दोस्रो श्रेणीमा पास भइन्।
‘नेपालगञ्ज बसेर पढ्दा मेरो सबैभन्दा दुःखदायी समय थियो, त्यही बेला मेरो किशोरावस्था थियो,’ सोमनाले भनिन्, ‘एक त किशोरावस्थामा सानो दुःखलाई पनि सहन गाह्रो हुन्छ, त्यस्तो समयमा जीवनकै ठूलो दुःख सहनुपर्यो।’
एसएलसी पास भएपछि उनले सुर्खेत फर्किने विचार गरिन्। एसएलसीमा राम्रो अंक ल्याएकाले विद्यालयले भने सोमनालाई त्यहीँ पढ्न कर गरेको थियो। केही समय त प्रमाणपत्र दिन समेत मानेको थिएन। विद्यालयले छात्रवृत्तिको व्यवस्था गरिदिन्छौं पनि भनेको थियो। तर उनले मानिनन्।
‘विद्यालयले जुनबेला मलाई सहयोग गर्नुपथ्र्यो, त्यो बेला असहयोग गर्यो। अब त म केही गर्दै पढ्न सक्ने अवस्थामा पुगेको छु। सुर्खेत फर्किएर आफै पढ्छु भनेर प्रमाणपत्र मागें अनि फर्किएँ,’ उनले भनिन्।
सुर्खेतको वीरेन्द्रनगर आएर २०६५ सालमा सुर्खेत क्याम्पसमा शिक्षा संकायमा प्लसटु भर्ना भइन्। उनले त्यसअघि नै विवाह गरिसकेकी थिइन्। क्याम्पस पढ्न सुरू गर्दा उनको बच्चा जन्मियो। भनेअनुसार अध्ययन सामग्री नपाइने, भएका सामग्री पढेर सुनाइदिने मान्छे पनि नपाएर उनले पर्याप्त अध्ययन गर्न सकिनन्। तै पनि ४१ प्रतिशत अंकसहित उनी पास भइन्।
वीरेन्द्रनगरमा बस्दा पनि उनले सुख भने पाइनन्। आँखा नदेख्ने भएकै कारण भाडामा लिएको कोठाबाट बच्चासहित निकालिनुपरेको उनले बताइन्।
‘अहिले कस्तो छ मलाई थाहा छैन, त्यतिबेला सुर्खेतमा आँखा नदेख्ने मान्छेलाई कोठा पाउन पनि मुस्किल थियो, एक पटक त म १२ कक्षा पढ्दै गर्दा घरबेटीले घरबाटै निकालेका थिए,’ उनले भनिन्, ‘जतिबेला मेरो बाबु पनि दुई वर्षको पुग्दै थियो। बच्चासँग सडकमा आउँदा मेरो के अवस्था भयो होला?’
घरबाट निकालिएपछि सोमनालाई रामघाटको अपांगता भएका विद्यार्थी बस्ने छात्रावासले बोलायो। उनलाई त्यहाँ बस्ने बच्चाहरूको हेरचाह गर्ने जिम्मा दियो। त्यसबापत उनले बस्ने र खाने सुविधा पाउँथिन्। पछि केही समयका लागि त्यही छात्रावासमा बच्चाहरूलाई पढाउने अवसर पनि उनले पाइन्।
सोमनालाई उनका श्रीमानले सुरूबाटै पढ्ने हौसला दिएका थिए। यसले आफूलाई उच्च शिक्षा लिन सहज भएको उनले बताइन्। उनले पढाइलाई निरन्तरता दिइन्। शिक्षा क्याम्पसबाटै स्नातक गरिन्। शिक्षा संकायमा स्नातकोत्तर पनि त्यही क्याम्पसबाट गरिन्।
उनले छात्रावासमा आफूले खेपेको हिंसाका कारण दृष्टिविहीन र बौद्धिक अपांगता भएका बालिकाहरूका लागि छुट्टै छात्रावास स्थापना गर्न पनि पहल गरेको बताइन्। २०७२ सालमा उनले रामघाटको छात्रावासबाट बालिकाहरूलाई अलग गरेर छुट्टै राखिन्। एक वर्ष आफैले सञ्चालन गरिन्।
‘होस्टलका कर्मचारीदेखि शिक्षकसम्मले हिंसा गर्थे, त्यसले गर्दा अब दृष्टिविहीन महिलाहरूका लागि छुट्टै होस्टल हुनुपर्छ भनेर मैले होस्टल छुट्याउन भूमिका खेलेँ,’ सोमनाले भनिन्, ‘त्यसको एक वर्षपछि चाहिँ महिलाका लागि नै छुट्टै होस्टल सञ्चालन गर्ने भनेर विद्यालय आफैले लियो, अहिले विद्यालयमा त्यो होस्टल चलिरहेको छ।’
अहिलेको समावेशी शिक्षाको अवधारणाले बालबालिकालाई परिवार वा साथीभाइसँग नछुट्याएर शिक्षा दिनुपर्ने मान्यता राख्ने हुँदा अब त्यो छात्रावासलाई संयुक्त बनाउने सोच उनले बनाएकी छन्।
शिक्षण पेशाका अलावा उनले १३ वर्षजति आफूजस्तै बालिकाहरूका लागि परामर्शदाता भएर पनि काम गरिन्। विभिन्न संघसंस्थासँग जोडिएर हिंसा र प्रतिकारका बारेमा परामर्श दिने काम उनले गरिन्।
अब राज्यले समावेशी शिक्षाको अवधारणाअनुसार नै अपांगता भएका बालबालिकालाई शिक्षा दिनुपर्ने उनको बुझाइ छ।
‘अभिभावक र बचपनका साथीभाइबाट अलग नगराइकन पढाउनुपर्छ। त्यसअनुसारको संरचना बनाउनु आवश्यक छ,’ सोमना भन्छिन्, ‘यदि होस्टलमै राखेर पढाउने हो भने पनि सुरक्षित हुनुपर्छ।’
राज्यले बनाएका अपांगतासम्बन्धी कानुनहरू व्यावहारिक नभएको उनलाई लाग्छ। भाषिक रूपमा मात्र राम्रा बनाइएका कानुनहरूलाई व्यावहारिक रूपमा संशोधन गरेर पूर्ण कार्यान्वयन गर्नुपर्ने उनी बताउँछिन्।