टर्कीकी रूमेसा गेल्गी विश्वकै सबभन्दा अग्ली महिला हुन् भने भारतकी ज्योति आम्गे विश्वकै होची महिला।
'गिनिज वर्ल्ड रेकर्ड्स' को वार्षिकोत्सवका अवसरमा लन्डनमा हालै यी दुईको पहिलोचोटि भेट भयो।
गिनिज वर्ल्ड रेकर्ड्सले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार गेल्गी र आम्गे दिउँसो चियापानका लागि लन्डनको सभोय होटलमा भेटेका थिए।
गेल्गी २१५.१६ सेन्टिमिटर (७ फिट ०.७ इन्च) अग्ली छिन् भने आम्गेको उचाइ ६२.८ सेन्टिमिटर (२ फिट ०.७ इन्च) मात्रै छ।
कदमा पाँच फुटको अन्तर भए पनि यी दुई महिलाले कुराकानीका क्रममा आफूहरूबीच धेरै समानता पाएको बताएका छन्।
'हामीबीच धेरै समानता छन्। हामी दुवैलाई मेकअप गर्न, आफ्नो स्याहार गर्न, आफ्नो नङ राम्रो बनाउन र गरगहना मनपर्छ,' गेल्गीले वक्तव्यमा भनेकी छिन्।
गेल्गीका अनुसार कुराकानी गर्दा कदका कारण बेला बेलामा आँखा जुधाउन गाह्रो भए पनि उनीहरूको भेट रमाइलो भयो।
आम्गेले पनि गेल्गीलाई भेट्न पाउँदा एकदम खुसी लागेको बताइन्।
२७ वर्षीया गेल्गी पेसाले वेब-डिजाइनर हुन्। सन् २०२१ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई आधिकारिक रूपमा विश्वकै अग्ली जीवित महिला घोषणा गरेको थियो।
सबभन्दा ठूला हात (२४.९३ सेन्टिमिटर) हुने महिला, सबभन्दा लामो पिठ्युँ (५९.९ सेन्टिमिटर) हुने जीवित महिला र सबभन्दा लामा कान (औसत ९.५८ सेन्टिमिटर) हुने महिलाका कीर्तिमान पनि उनकै नाममा छन्।
गेल्गीको असाधारण कदको कारण 'विभर सिन्ड्रोम' नामक अत्यन्तै विरल समस्या हो। यो समस्या भएको व्यक्तिको शारीरिक विकास तीव्र रूपमा हुने गर्छ। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार गेल्गी विभर सिन्ड्रोम पहिचान हुने विश्वकै २७ औं व्यक्ति हुन्। उनलाई 'स्कोलिओसिस' नामक मेरूदण्ड बांगो हुने समस्या पनि छ।
गेल्गी यी दुई समस्याका बारेमा अनुसन्धान गर्ने र जनचेतना जगाउने काममा पनि सक्रिय छिन्।
गेल्गीले अमेरिकाका विभिन्न भाग घुमेर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएका अन्य व्यक्तिसँग भेटेकी थिइन्। यसैलाई समेटेर गिनिज वर्ल्ड रेकर्ड्सले एउटा वृत्तचित्र नै बनाएको छ।
आम्गे भने भारतको नागपुरमा जन्मेकी हुन्। उनी सन् २०११ मा विश्वकै होची महिला घोषित भएकी थिइन्।
उनलाई 'अकोन्ड्रोप्लेजिया' नामक आनुवांशिक समस्या छ जसले हड्डीको विकास सुस्त बनाउँछ। गर्भमै भ्रूण विकासको प्रारम्भतिर देखापर्ने यो समस्याले बच्चाका हातखुट्टाका रूपमा विकसित हुनुपर्ने 'कार्टिलेज' तन्तुलाई असर गर्छ।
३० वर्षीया आम्गे अभिनेत्री र मिडिया व्यक्तित्व हुन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय छिन्।
आम्गेले अमेरिकी टेलिभिजन शृंखला 'अमेरिकन हरर स्टोरी: फ्रिक शो' मा अभिनय गरेकी थिइन्। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यसबाट उनी आधिकारिक रूपमा अहिलेसम्मकै विश्वकी होची अभिनेत्री बनेकी छिन्।
आम्गे इटालीको टिभी कार्यक्रम 'लो शो देई रेकर्ड' मा पनि धेरैचोटि देखिएकी छिन्। त्यस्तै, उनले भारतीय टिभी रियालिटी शो 'बिग बोस ६' मा अतिथिका रूपमा भाग लिएकी थिइन्।
सन् २००९ मा उनी ब्रिटेनको 'बडी शक' नामक वृत्तचित्र शृंखलामा पनि देखिएकी थिइन्।
गिनिज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेका अनुसार यी कीर्तिमानहरूको उद्देश्य भिन्नताहरूको सम्मान गर्नु हो।
'यी दुई अदभूत, प्रतिष्ठित महिलाहरूलाई एकसाथ ल्याउनाले उनीहरूले जीवनका बारेमा आफ्ना दृष्टिकोण एकअर्कासँग र हामीसँग पनि साट्न सक्छन्,' उनले वक्तव्यमा भनेका छन्।
गेल्गी र आम्गे दुवैलाई 'जिडब्लुआर आइकन्स' का रूपमा पनि सम्मान गरिएको छ। यो विधा गिनिज वर्ल्ड रेकर्ड्सको पुस्तकको '२०२५' संस्करणका लागि पहिलो पटक समावेश गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको।)