कात्तिकको तेस्रो साता (नोभेम्बर ४ मा) पाकिस्तानको लाहोरमा एक साताका लागि विद्यालय बन्द गरियो।
लाहोरको हावा विषाक्त भएर सास फेर्न नै मुस्किल भएपछि विद्यालय आपतकालीनरूपमा विद्यालय बन्द गरिएको थियो।
नोभेम्बरको मध्यसम्म पनि पाकिस्तानको वायु प्रदूषणको अवस्था सुध्रिएको छैन, झन् विकराल बन्दै गइरहेको छ।
बिहीबार अपराह्न वायु प्रदूषण हुने सहरहरूको सूचीमा लाहोर विश्वकै पहिलो नम्बरमा छ।
सिंगापुरको वायुको शुद्धता (गुणस्तर) मापन गर्ने वेभसाइटले जनाएअनुसार त्यहाँको वायु शुद्धता सूचकांक (एक्युआई) १११७ रहेको छ। जुन अत्यत्नै हानिकारक हो।
एक्युआई सूचकांकअनुसार ० देखि ५० अंक स्वस्थ, ५१ देखि १०० मध्यम र १०१ देखि १५० संवेदनशील र १५१ देखि २०० सम्मको अंकलाई अस्वस्थकर र त्यसभन्दा माथिकोलाई अत्यन्त हानिकारक मानिन्छ।
पाकिस्तानको विषाक्त वायुको प्रभाव नेपालसम्मै विस्तार भएको छ।
विपद् पोर्टलले उल्लेख गरेअनुसार नेपालको काठमाडौंसहित केही सहरहरूको वायुको गुणस्तर हानिकारक देखिएको छ।
बिहीबार अपराह्न ३ः३६ बजे गरिएको मापनअनुसार भरतपुरको एक्युआइ १५९.१४ पुगेको छ।
रत्नपार्कको अहिले अपराह्न ४ बजेको एक्युआइ १५१.१५ पुगेको छ।
नेपालको वायुमण्डलमा लाहौरको प्रदूषण भित्रिएको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले जानकारी दिए। ‘सुख्खायाम सुरू भएसँगै प्रदूषण बढ्न थालेको छ। बुधबारदेखि पाकिस्तानको प्रदूषण पनि भित्रिएको देखिन्छ,’ उनले भने।
भूउपग्रह प्रणालीबाट खिचिएको तस्बिरमा पाकिस्तानको प्रदूषण भित्रिएको देखिएको उनले बताए।
पछिल्लो केही वर्षयता हिउँदयाममा वायु प्रदूषण उच्च हुने गरेको छ।
वन डढेलो, सवारी साधन, उद्योगधन्दा, कलकारखानाले उत्सर्जन गर्ने धुवाँका कारण हावा विषाक्त बन्ने गर्छ।
हिउँदयाममा कम पानी पर्ने हुनाले धुवाँधुलो वायुमण्डलमा रहिरहने ज्ञवालीले बताए। वरिपरि डाँडाकाँडाले घेरिएको 'कचौरा प्रकृति'को काठमाडौंमा जोडसँग हावा नचल्दा वायुमण्डलमा थुप्रिएको धुवाँधुलो उडाएर अन्यत्र लैजान नसक्ने हुँदा वायु विषाक्त बन्ने गर्छ।
‘उद्योगधन्दा, कलकारखानाले धुँवा उत्सर्जन गरिरहेका हुन्छन्। ठाउँठाउँमा सडक निर्माणाधीन छ। कलंकी–कोटेश्वर सडक खण्ड मात्रै होइन, ठाउँठाउँमा यस्ता बाटाहरू निर्माणाधीन छ। चिसो बढेसँगै ठाउँठाउँमा फोहोर बाल्नेजस्ता क्रियाकलाप पनि देखिन्छ,’ उनले भने, ‘हिउँदमा पानी कम पर्ने र चर्को घाम पनि नलाग्ने हुँदा वायु प्रदूषण घट्ने अवस्था देखिँदैन।’
बढ्दो सहरीकरणसँगै सवारी साधनको संख्या पनि बढेकाले वायु प्रदूषणमा त्यसको योगदान उच्च छ। अझ बिग्रिएका सवारी साधनबाट निस्कने धुवाँले हावा विषाक्त बनाउन मद्दत गर्छ।
बिग्रिएका सवारी साधन मर्मत गरेर चलाउने र जथाभावी आगो सल्काउने, फोहोर बाल्ने आदि क्रियाकलाप नगरे पनि वायु प्रदूषण कम हुने उनले बताए।