सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान स्थगित गरिएको छ।
मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मंगलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले समय अभावका कारण मंगलबार बयान नसकिएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिइन्।
लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन्। लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिने प्रहरीले जनाएको छ।
बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ। जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए।
गोर्खा मिडिया, सहकारीको रकम हिनामिनासँग सम्बन्धित विभिन्न ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरीले जनाएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो।
सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बहादुर राई र उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। राई फरार छन् भने लामिछाने र छविलाल बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ।
लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। त्यसयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।
लामिछानेलाई बयानका लागि भैरहवा ल्याएसँगै रास्वपा कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताले दिनभर भैरहवामा विरोध प्रदर्शन गरेका थिए।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई रूपन्देही ल्याएपछि प्रहरीले भैरहवा आसपासमा सुरक्षा कडा पारेको छ।