सर्वोच्च अदालतले कात्तिक २० गते गण्डकी प्रदेशका सांसद राजिब गुरूङ ‘दीपक मनाङे’ लाई ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गर्यो।
सोही दिनदेखि नै गुरूङले आफ्नो मोबाइल अफ गरे। उनका स्वकीय सचिव सन्तोष अधिकारीले फैसला आएको दिन मनाङे काठमाडौंमै रहेको र त्यसदिनपछि सम्पर्क नभएको बताएका थिए।
सर्वोच्चबाट फैसला आएसँगै मनाङे भाग्न सक्ने भन्दै प्रहरीले खोजी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायत विभिन्न निकायले मनाङेको खोजी गरेको थियो।
प्रहरीले उनलाई मोबाइलमार्फत ट्र्याक गर्न खोजेको थियो। तर उनले मोबाइल नै अफ गरेर बसेपछि भने उनीसम्म पुग्न सकिरहेको थिएन।
कात्तिक २३ गते मनाङेले सञ्चारकर्मीहरूले फोन गरी हैरान बनाएपछि आफू मोबाइल अफ गरी बसेको र अदालतमा फैसला कार्यान्वयनका लागि आफू उपस्थित हुने उनले जानकारी गराएका थिए।
‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहित सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ शुक्रबार विज्ञप्ति निकालेर भनेका थिए, ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु, यसमा मेरो आपत्ति छ।’
यसरी विज्ञप्ति निकालेर बसेका मनाङेलाई भने सिआइबीले मंगलबार बिहान काठमाडौंबाटै पक्राउ गर्यो।
सिआइबीका एक प्रहरी अधिकारीका अनुसार उनलाई केही दिनदेखि नै खोजी गर्न थालिएको थियो। तर प्रहरी सफल हुन सकिरहेको थिएन।
‘उनी कहाँ सजिलै पक्राउ पर्नु। हामीलाई धेरै नै घुमाएपछि बल्ल पक्राउ परेका हुन्,’ उनले भने।
प्रहरीले केही दिनदेखि उनका नजिकका मानिसलाई समाएर सोधिखोजी गरिरहेको थियो। सोमबार सिआइबीको टोलीले क्षेत्रपाटीको मण्डला होटलमा छापा मारेको थियो। तर उनी त्यहाँ भेटिएनन्।
त्यहाँ नभेटिएपछि प्रहरीले मनाङेलाई पक्राउ गर्ने हो भने एकैपटक सम्भावित ठाउँमा छापा मार्नुपर्छ भन्ने निश्कर्ष निकाल्यो।
‘हिजो एक-दुई ठाउँमा छापा हान्दा मनाङेसम्म मेसेज फ्लो भइहाल्थ्यो। त्यसपछि हामीले यसरी हुँदैन, अब एकैपटक हान्नुपर्छ भनेर आज बिहानै सिआइबीको विभिन्न टोलीलाई विभिन्न ठाउँमा खटाइयो,’ ती अधिकारीले भने।
विभिन्न ठाउँमा खोजी गर्ने क्रममा केही नजिकका मानिसहरूलाई पनि सिआइबीले समायो। तर उनीहरूले उल्टै प्रहरीलाई भुलाउने खालका जबाफ दिएका थिए।
एकैपटक छापा मार्दा सिआइबीको कम्फर्ट हाउसिङभित्र पनि दुई वटा घरमा सम्भावना थियो।
घर नम्बर १५ मा भने गाडी स्टार्ट नै गरिरहेको थियो।
‘घर नम्बर १५ मा हुनसक्ने भन्ने थियो। त्यो घर अनिल गुरूङ भन्ने आफन्तको थियो। हाम्रो दुई-चार जनाको टिम पहिले पुगेको थियो,’ उनले भने, ‘गाडी स्टार्ट नै गरेर राखेको छ भनेपछि अरू टोलीलाई पनि त्यहाँ खटाएर घरमा हेर्दा त्यहीँ भेटियो।’
घरमा पुगेपछि भने उनले प्रहरीलाई भने, ‘म आफै प्रहरीकहाँ आउने तयारी गरिरहेको थिएँ।’
प्रहरी केही समयपछि मात्रै पुगेको भए ढिला हुनसक्ने ती प्रहरी अधिकृतको भनाइ छ।
यस्तै मनाङेले प्रहरीबाट बच्नकै लागि पटक-पटक सिम परिवर्तन गरिरहेको पनि खुलेको छ।
‘मोबाइलबाट ट्र्याक गर्न सम्भव नै भएन। केही दिन यता मात्रै उनले १०-१२ वटा सिम परिवर्तन गरेको देखिन्छ,’ ती अधिकारीले भने।
प्रहरीले उनलाई पक्राउ गरेसँगै मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। हाल उनी डिल्लीबजार कारागारमा चलान भएका छन्।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई गत मंगलबार सदर गरेपछि यो मुद्दा टुंगिएको हो।
यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन्। त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ। मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ।