करिब एक महिनायता दाङमा १५ जना लागुऔषध सेवनकर्ता पक्राउ परे।
प्रहरी कार्यालयले बेलाबेलामा लागुऔषध दुर्व्यसनीविरूद्ध अभियान चलाउने गर्छ। यसैबीच दाङ प्रहरीले पनि पछिल्लो समय अभियान चलाएको हो।
धेरैजसो पक्राउ परेका प्रयोगकर्ताले दुई जना डिलरको नाम लिए।
प्रयोगकर्ताले कि त ‘आन्टी’बाट किनेको हुँ भन्ने कि त बिक्रमबाट किनेको हुँ भन्थे। यसरी धेरै दुर्व्यसनमा फसेका युवायुवतीहरूले कारोबारीको नाम लिएपछि प्रहरी हैरान थियो। दुबै जनाको वास्तविक नाम पनि प्रहरीलाई थाहा थिएन।
त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले लागुऔषध कारोबारीलाई पक्राउ गर्न अपरेशन चलाउने निर्णय लियो।
कार्यालय प्रमुख डिएसपी अनिल ठकुरीको नेतृत्वमा ‘अपरेशन आन्टी’ सुरू भयो।
हप्तादिनमा प्रहरीले विभिन्न ठाउँबाट सुराकहरू बटुल्यो। जसबाट ‘आन्टी’ भनिने महिलाको पहिचान खुल्यो। सल्यान घर भई मेडिकल केयरमा काम गर्दै आएकी महिला रहेको खुल्यो।
उनी दाङको तुलसीपुुर उपमहानगरपालिका –८ दुधेन बस्ने ५३ वर्षीया तिलकुमारी विश्वकर्मा रहेको खुल्यो।
उनी त्यस मेडिकल केयरमा सहयोगीको रूपमा काम गर्थिन्। काम गर्दागर्दै उनले औषधिबारे जानकारी पनि लिएकी थिइन्। त्यसो त उनले केयरका लागि ल्याउने डिस्टिब्युटर समेत पत्ता लगाइन्।
केयरका लागि नेपालगञ्जबाट औषधि आउँथ्यो। लामो समय केयरमा काम गरेकी उनी ६ वर्षअघि नेपालगञ्जको उक्त डिस्टिब्युटर कहाँ पुगिन्। त्यहाँबाट उनले ‘ट्रामाडोल’ किनेर ल्याउन थालिन्। उक्त औषधि चिकित्सकको सल्लाह बमोजिम मात्रै बिक्री गर्न पाइन्छ भने उक्त औषधि अस्पतालकै मेडिकलमा मात्रै किन्न पाइन्छ। अन्त किनबेच गर्न प्रतिबन्ध लगाइएको छ।
दुर्व्यसनीहरूले उक्त औषधि खाने गरेको तिलकुमारीले थाहा पाइन्। तर उनले उक्त औषधि केयरमा बेच्न सम्भव नै थिएन।
केयरमा बेच्न असम्भव भएपछि उनले जुक्ति लगाइन्। उनले सडकपेटीमा तरकारी बेच्ने बहानामा लागुऔषध बेच्न थालेको डिएसपी ठकुरीले बताए।
‘तुलसीपुरका सडकमा नाङ्लो पसल थाप्दै त्यहीँबाट लागुऔषधिको कारोबारो थालनी गरेको खुलेको छ,’ डिएसपी ठकुरीले भने, ‘६० रुपैयाँ पर्ने क्याप्सुल सेवनकर्ता हेरेर पाँच सयभन्दा बढीमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’
यसरी लामो समयसम्म बिक्री गरेर उनी दुर्व्यसनका माझ मुख्य डिलर समेत बनिसकेकी थिइन्। यसरी नै उनले दुधेनीमा घर-जग्गा नै निर्माण गरिसकेको प्रहरी दाबी छ।
उनी आफै भने लागुऔषध प्रयोग गर्दिनन्।
अनुसन्धानकै क्रममा प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले कात्तिक ११ गते दिउँसो फेला पारी उनलाई पक्राउ गरेको थियो। उनीबाट ३५ वटा ट्रामाडोल फेला परेको थियो। अनुसन्धानकै लागि उनको घरमा पुग्दा दुई हजार तीन सय ४० ट्याबलेट फेला परेको प्रहरी निरीक्षक थापाले बताए।
अहिले उनी प्रहरी हिरासतमा छिन्।
तर लामो समयसम्म खुलमखुला लागुऔषध बिक्री गर्नुबारे विस्तृत रूपमा अनुसन्धान गर्नुपर्ने डिएसपी ठकुरीले बताए।
यही अपरेशनकै सिलसिलामा दाङमै रहेका अर्का डिलरलाई पनि प्रहरीले पक्राउ गर्यो। असोजयता तुलसीपुर क्षेत्रमा ब्राउन सुगरसहित पक्राउ परेका पाँच जना र घोराहीका एक जनाको बयानका आधारमा ३१ वर्षीय बिक्रम केसी पक्राउ परेका छन्।
डिएसपी ठकुरीका अनुसार घोराही उपमहानगरपालिका–११ हापुरका बिक्रम आफै भारतबाट लागुऔषध ल्याउने तथा जिल्लामा ल्याएर बिक्री गर्न थालेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानबाट केसी २०६६ सालमा भारतको चेन्नाईमा गएको र २०६९ सालमा घर आएर लागुऔषधको कारोबार सुरू गरेको डिएसपी ठकुरीले बताए।
‘ऊ यति चलाख छ कि ऊ आफू लागुऔषध खाँदैन,’ डिएसपी ठकुरीले भने, ‘जहिलै चिटिक्क परेर हिँड्ने उसले वर्षौंदेखि ब्राउन सुगरको कारोबार गर्दै आएको थियो।’
केही दिन अघि बिक्रमलाई प्रहरीले घोराहीस्थित घरबाट नियन्त्रणमा लिएको थियो। तर, उनीबाट भने ब्राउन सुगर बरामद हुन सकेको थिएन।