जिल्ला प्रहरी कार्यालय कास्कीले टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक विचार, सूचना, समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ।
आइतबार सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले एक विज्ञप्ति जारी गर्दै भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्।
‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
कात्तिक ८ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थप गराउन लैजाँदा भ्रमक सूचनाहरू आएको कार्यालयले जनाएको छ।
प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने भ्रामक सूचनाहरू बाहिरिएको विज्ञप्तिमा उल्लेख छ।
यस्ता समाचारहरू आएको भन्दै सुनेको कसैले भनेको, सुनेको तथ्यहिन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषण गर्न कार्यालयले अनुरोध गरेको हो।