गत कात्तिक ५ गते पर्वत र स्याङ्जाका केही भागहरूमा भीषण असिना पानी पर्यो।
मनसुन बाहिरिइसकेपछि एक्कासि परेको असिनापानीले पर्वतको महाशिला गाउँपालिकामा व्यापक क्षति पुर्यायो।
कुश्मा, फलेवास नगरपालिका, जलजला, मोदी गाउँपालिकामा असिनापानी परेको महाशिला–४ का वडाध्यक्ष पूर्णबहादुर मल्लले जानकारी दिए।
उनकाअनुसार असिनापानीले साविक पाखापानी गाउँविकास समितिको साविक १, ७ र ८ वडामा बढी क्षति पुर्याएको छ।
‘एक घन्टा ठूलो असिनापानी पर्यो। मनसुन बाहिरिइसकेपछि परेको असिनापानीबाट हामी आश्चर्यचकित छौं। भीषण असिनापानीले अकल्पनीय क्षति पुर्यायो,’ उनले भने।
असिनासहितको मुखमा आइसकेको धान, कोदो र अरू खाद्यान्नबालीमा पनि असर पुर्याएको उनले बताए। क्षतिको यकिन लेखाजोखा नगरिए पनि खेतमा ठाडो धान देख्न मुस्किल भएकाे उनले बताए।
‘ठडिएका धानबालीमा पनि एउटा गेडा पनि नरहनेगरी असिनाले झार्यो। वर्षदिन खाने अन्न असिनाले एकै झट्कामा झारिदिएपछि कृषक पनि चिन्तित छन्। उनीहरूलाई राहत दिनेबारे गाउँपालिकाले पनि योजना बनाउन सकेको छैन,’ उनले भने।
पर्वतमै कृषि उत्पादन बढी हुने क्षेत्रमा चिनिएको महाशिलामा असिनापानी खनिएकाले उत्पादनमा ह्रास आउने अवस्था देखिएको वडा नम्बर ५ का अध्यक्ष चन्द्रबहादुर मल्लले जानकारी दिए।
मौसमविद् सञ्जीव अधिकारी मनसुन बाहिरिएपछि र हिउँदयामसम्मको अवधिमा कम वर्षा हुने बताउँछन्। यसलाई पोस्ट मनसुन पनि भनिन्छ। यही अवधिमा कृषकले बालीनाली पनि भित्र्याउँछन्। धान, कोदोलगायत खाद्यान्नबाली भित्र्याउने मुख्य सिजन यही हो।
तर खण्डितरूपमा वर्षा हुँदा कृषकले मुखमा आएको बालीनाली पनि भित्र्याउन पाएका छैनन्। पोस्ट मनसुन अवधिमा ठाउँठाउँमा परेको पानीले कृषकलाई मात्रै नभएर मौसमविद्लाई समेत आश्चर्यमा पारेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार पनि पहाडी भूभागमा बदली र छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
यो अवधिमा स्थानीय वायुले वर्षा गराउन सक्ने प्रणाली पैदा गर्न सक्छ। त्यसकारण पनि पर्वतमा असिनापानी खनिएझैं खण्डितरूपमा केहीकेही ठाउँमा त्यस्ता मौसमी घटना देखिन सक्छन्।
‘हामीकहाँ ठूलो मात्रामा पहाडी भू–भाग छ। स्थानीय वायु सक्रिय हुँदा पहाडी भू–भागमा खण्डितरूपमा वर्षा हुनसक्छ,’ उनले भने।
तर तत्काल ठूलो पानी पर्ने प्रणाली तत्कालै भित्रने सम्भावना भने नरहेको उनले बताए।
अहिले भारतको ओडिसा आसपास एउटा सानो पानी पार्ने (न्यूनचापीय) प्रणाली बनेको उनले बताए।
त्यसको प्रभाव हाम्रो मौसम प्रणालीमा आंशिक रूपमा छ। जसका कारण कोशी प्रदेशमा आइतबार अपराह्नपछि बदली र कतै छिटपुट वर्षाको पनि सम्भावना छ।
केही समयअघि बंगालको खाडीमा विकास भएको दाना चक्रवातको असर पनि नेपालको मौसमी प्रणालीमा देखिएको थियो। तर अहिले त्यसको प्रभाव क्षीण बनिसकेको मौसमविद् अधिकारीको भनाइ छ।
‘चक्रवात जमिनमा आइसकेपछि त्यसको प्रभाव स्वतः कमजोर हुन्छ। अहिले त्यसको प्रभाव मत्थर भइसकेको छ। ओडिसा आसपास सानो न्यूनचापीय क्षेत्र बनेको छ। त्यसको पनि ठूलो प्रभाव देखिँदैन,’ उनले भने।
अर्का मौसमविद् विनोद पोखरेलले यसपालि विकास भइरहेको मौसमी प्रणाली पूर्वानुमान गर्न कठिन रहेको बताएका छन्।
उनले यो हप्ता मनसुन पूर्णरूपमा सफा हुने सम्भावना न्यून रहेको बताएका छन्। उनले तिहारमा पनि वर्षाको सम्भावना देखाएका छन्।
‘तिहारमा यात्रा गर्दा जोखिम नै त हुँदैन तर पानी पर्ने सम्भावना राम्रै देखिन्छ,’ उनले मौसम विश्लेषण गर्दै भनेका छन्।
उनले केही स्थानमा छोटो समयका लागि पानी पर्ने सम्भावना औंल्याएका छन्।
पछिल्लो एक सातामा कति पानी परेको थियो भनेर हेरौं।
कात्तिक ४ गते ९७ वटा केन्द्रमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ। कात्तिक ४ गते बिहान ८ः४५ को अभिलेखअनुसार २४ घन्टामा ९७ केन्द्रमा वर्षा भएको देखिन्छ। जसमध्ये बढी वर्षा धनुषा केन्द्रमा भएको थियो। धनुषामा २४ घन्टामा ७०.५ मिलिमिटर वर्षा भएको थियो भने त्यस दिन तीनवटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।
कात्तिक ५ गते ८२ वटा केन्द्रमा पानी परेको थियो। त्यस दिन ६६ वटा मानव सञ्चालित र १५० वटा स्वचालित स्टेसनहरूमा वर्षा मापन गर्दा सबैभन्दा बढी वर्षा कैलालीको बलिया केन्द्रमा (३०.२ मिलिमिटर) भएको थियो।
कात्तिक ६ गते २०७ केन्द्रमा वर्षा मापन गरिएमध्ये ४३ केन्द्रमा वर्षा भएको थियो। त्यस दिन काभ्रेपलाञ्चोकको धुलिखेल केन्द्रमा २४ मिलिमिटर पानी गरेको रेकर्ड छ।
कात्तिक ७ गते २२३ वटा केन्द्रमा वर्षा मापन भएको थियो। जसमध्ये ३१ वटा केन्द्रमा पानी परेको अभिलेख छ। कात्तिक ७ गते सबैभन्दा बढी रौतहटको गौर केन्द्रमा २० मिलिमिटर वर्षा भएको अभिलेख छ।
कात्तिक ८ गते २०८ केन्द्रमा वर्षा मापन भएको थियो। मानव सञ्चालित ५७ र स्वचालित १५१ केन्द्रमा मापन गरिएको अभिलेखअनुसार २२ वटा केन्द्रमा वर्षा भएको थियो।
जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकको तार्केघ्याङ केन्द्रमा ६ मिलिमिटर वर्षा भएको थियो।
कात्तिक ९ गते २०७ वटा केन्द्रमा वर्षा मापन भएको थियो। ९ गते २४ घन्टाको अवधिमा ३२ वटा केन्द्रहरूमा वर्षा भएको अभिलेख छ। वर्षा मापन भएको केन्द्रमध्ये कपिलवस्तुको पत्थरकोट पश्चिम केन्द्रमा ४३ मिलिमिटर पानी परेको थियो।
पोस्ट मनसुनमा कति पर्छ पानी?
जल तथा मौसम विज्ञान विभागले ३० वर्ष परेको पानीलाई हेरेर औसत वर्षा निकाल्ने गर्छ।
सामान्यतया असोज १४ देखि मंसिर १४ सम्मको अवधिलाई हामीकहाँ पोस्ट मनसुन भन्ने गरिन्छ। यो अवधिमा ७४.३ मिलिमिटर औसत वर्षा हुने गरेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
अघिल्लो वर्ष यो अवधिमा औसतभन्दा केही बढी अर्थात् ७५.३ (१०१.३ प्रतिशत) वर्षा भएको थियो।
अहिले पोस्ट मनसुनको एक महिनाको अवधिमा औसतभन्दा कमै वर्षा भएको छ।
असोज १५ देखि कात्तिक ९ गतेसम्म २० वटा मौसम केन्द्रहरूको औसत वर्षा अनुगमन गर्दा ५०.७ मिलिमिटर सञ्चित वर्षा भएको विभागले जनाएको छ।
अहिलेसम्म ६८.१ प्रतिशत वर्षा भएको देखिए पनि यो औसतभन्दा कम नै भएको विभागले बताएको छ।
अहिलेसम्म दाङको घोराही, विराटनगर विमानस्थल, धरान बजार, धनकुटा केन्द्रमा औसतभन्दा बढी वर्षा भएको देखिएको। बाँकी केन्द्रमा औसतभन्दा कम वर्षा भएको छ।