दाङको तुलसीपुर उपमहानगरपालिका– ७ स्थित शान्ति उद्यानमा बिहीबारदेखि तीन दिने सर्प मोहत्सव सुरू भएको छ।
स्थानीय युवा तथा सर्प उद्धारकर्ता प्रभात भण्डारीको अग्रसरतामा सर्पबारे समाजमा ज्ञान, चेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक सर्प महोत्सव गरिएको हो। महोसत्वमा देशका विभिन्न ठाउँबाट सर्प उद्धारकर्ताहरू आएका छन्।
महोत्सप झाँकी जुलुस र र्यालीसहित सुरू भएको थियो। आधा दर्जनभन्दा धेरै स्कुलका कक्षा ८ माथिका विद्यार्थीहरू पनि सहभागी थिए। तुलसीपुरभन्दा २४ किलोमिटर पूर्वको घोराहीबाट समेत महोत्सव अवलोकनका लागि आएका थिए।
महोत्सवमा मानव बस्तीबाट उद्धार गरिएका विभिन्न प्रजातिका सर्पहरू प्रदर्शनीमा राखिएको छ। सर्पको नामसहित विषालु भए वा नभएको बारे जानकारी गराइएको छ।
महोत्सवका संयोजक भण्डारीले मानव-सर्प द्वन्द्वका घटना न्यूनीकरणका लागि चेतना फैलाउन महोत्सव आयोजना गरिएको बताए।
'पृथ्वी सबै जीवजन्तुका लागि साझा थलो हो। तर मान्छेले आफ्नो मात्रै थलो भन्ने सोच्दा सर्प लगायत जन्तुसँगको द्वन्द्व बढेको छ,' उनले भने, 'हरेक जीवजन्तुको महत्व हुन्छ। सर्प कम हुँदै गए वा मासिए भने मुसाको संख्या बढेर मानिसको अस्तित्व नै संकटमा पर्छ।'
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले जैविक विविधता र पर्यावरण जोगाउन सर्प लगायत अन्य जीवजन्तुको महत्त्वपूर्ण भूमिका रहने बताए।
तुलसीपुरका मेयर टीकाराम खड्काले पनि हरेक जीवजन्तुको व्यवहार बुझेर त्यसको सुरक्षा र संरक्षणमा लाग्न जरूरी रहेको बताए।
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले जिल्लामा पहिलो पटक फरक खाले महोत्सव भएको भन्दै यसले महत्त्वपूर्ण सन्देश दिएको बताए।
'हामीले चितवनको हात्ती महोत्सवबारे सुनेका थियौं। आज यहाँ सर्प महोत्सव भयो। वन्यजन्तु प्रतिको हाम्रो बुझाइ थप फराकिलो हुँदै गएको अनुभूति भएको छ। पृथ्वी साझा थलो हो। सर्प लगायत हरेक जीव बाँचे मात्रै मानवको अस्तित्व सम्भव छ भन्ने बुझ्न जरूरी छ,' उनले भने।