जिल्ला प्रहरी कार्यालय मकवानपुरमा श्रीमानको संलग्नतामा सामूहिक बलात्कार भएको भन्दै ५० वर्षीया महिलाले जाहेरी दिएकी छन्।
मनोहरी गाउँपालिका-५ स्थित आफ्नै घरमा ६० वर्षीया श्रीमानसहित तीन जनाले सामूहिक बलात्कार गरेको भन्दै कात्तिक १ गते प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
'५० वर्षीया महिलाको श्रीमान पक्राउ परेका छन्, बाँकी दुई जनालाई प्रहरीले खोजिरहेको छ,' उनले भने।
महिलाले प्रहरीलाई बताएअनुसार असोज ३० गते श्रीमानसहित आएका १९/२० वर्षका दुई युवकले सामूहिक बलात्कार गरेको बताएकी छन्। तर अहिलेसम्म उनका श्रीमानले यस घटनामा केही नबोलेको डिएसपी अर्यालले बताए।
'उक्त महिलाको स्वास्थ्य परीक्षण गरिएको छ। रिपोर्ट आउन बाँकी छ, महिलालाई सेफ हाउसमा राखेका छौं,' उनले भने, 'उनका श्रीमानविरूद्ध जिल्ला अदालतबाट बिहीबार ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं।'
महिलाका श्रीमानले यस घटनाबारे केही नबोलेकाले सुक्ष्म ढंगबाट अनुसन्धान गरिएको उनको भनाइ छ।