प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रा सुरू भएको छ।
यो जात्राका लागि रातिदेखि नै हजारौं दर्शनार्थीको घुइँचो लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा विजयादशमीको दिन नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै यहाँ भव्य मेला लाग्छ।
मन्दिरमा नवमीका दिन साँझदेखि हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो। शुक्रबार साँझ नवदुर्गा मन्दिरबाट महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई जाँड, रक्सी खुवाएर मत्ताइन्छ। त्यसपछि अबिर दलेर नवदुर्गा देवता घरबाट हजारौंको संख्यामा दर्शनार्थीले लखेट्दै दत्तात्रय, च्यामासिंहबाट ब्रह्मायणी मन्दिरमा पुर्याएर राति वध गरिएको थियो।
राँगोलाई महिषासुर दैत्यका रूपमा लखेट्दै वध गर्ने परम्परा सयौं वर्षदेखि भक्तपुरमा चल्दै आएको भक्तपुरका संस्कृतकर्मी कमलनाथ जोशीले जानकारी दिए। खःमेयको वधपछि पनि रातभर यस मन्दिरमा हजारौं दर्शनार्थीको भीडमा जात्रा मनाइएको थियो।
विजयादशमीको दिन ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउँछन्। मन्दिरमा पूजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ।
आजका दिन व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने चलन छ। बालकदेखि वयस्क पुरुषहरू शरीरमा बत्ती बालेर घरबाट मन्दिरसम्म पुग्छन्। कतिपय भने सडकमा सुतेर हात जोड्दै घरबाट मन्दिरसम्म पुग्ने गर्छन्।
शरीरमा दीप बालेर र हात जोड्दै उनीहरू घरबाट मन्दिरसम्म पुग्छन्। यसो गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ। मन्दिरमा शनिबार दिनभर नै भव्य मेला लाग्छ।