चितवनस्थित वरण्डाभार वन क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग (गोन्द्राङ–टिकौली) को दायाँ-बायाँ निउरोको किनबेच भइरहन्छ।
बिहानभर जंगल गएर निउरो टिप्ने, दिउँसो सडकको किनारमा बसेर बेच्नेहरू करिब ४ किलोमिटरको जंगल क्षेत्रमा दर्जन बढी भेटिन्छन्।
यो फोटामा राजमार्ग नजिकै एउटा एक सिंगे गैंडा चरिरहेको छ।
उसको करिब पचास मिटर अगाडि दुई महिलामा निउरो बेचिरहेका छन्। उनीहरूले निउरो बेचेकै आम्दानीले घर चलिरहेको बताए। निउरो बिक्री गरेर दैनिक एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरू बताउँछन्।
विद्यालय बिदा भएको दिन यहाँ बसेर निउरो बेच्ने बालबालिका पनि भेटिन्छन्। रत्ननगर नगरपालिकाको मोहना माविमा कक्षा ५ मा पढ्ने अभिषेक चेपाङ दसैं बिदा भएपछि नियमित जंगल जान थालेका छन्। बिहान आमासँग गएर निउरो टिप्ने दिनभर वरण्डाभारस्थित राजमार्गको छेउमा बसेर बेच्ने उनको दैनिकी बनिरहेको छ।
यहाँ निउरो बेच्नेहरू गैंडासँग भाग्ने बानी परिसकेको बताउँछन्। उनीहरूलाई डर गैंडासँग भन्दा बाघसँग बढी छ।
‘गैंडालाई हेर्दै बेचिरहेको छु। यता आउला जस्तो लाग्यो भने साइकल पनि छाडेर भाग्ने हो,’ अभिषेक भन्छन्, ‘बाघ, चितुवा नै आयो भने चाहि आपत पर्छ।’
चितवन राष्ट्रिय निकुञ्ज एक सिंगे गैंडाको प्रमुख बासस्थान हो। निकुञ्जको उत्तरतर्फ वरण्डाभार करिडोर पर्छ। चुरेलाई महाभारतसँग जोड्ने यो क्षेत्रमा पाटेबाघ, एक सिंगे गैंडालगायतका वन्यजन्तुहरू विचरण गर्छन्। उनीहरूबाट जोखिम हुने जान्दाजान्दै पनि यहाँ बसेर निउरो बेच्ने गरिएको छ।
एकातर्फ राजमार्गमा तीब्र गतिमा गाडी चलाउँदा वन्यजन्तु दुर्घटनामा पर्ने गरेका छन्। अर्कातर्फ जंगलभित्र मानवीय गतिविधि बढ्दा वन्यजन्तुबाट खतरा पनि बढ्दो छ।
केही वर्षअघि चितवन निकुञ्जले वन क्षेत्रमा व्यवसाय गर्न रोकेको थियो। सन् २०२२ मा गरिएको गणनामा देशभरमा ७५२ वटा एक सिंगे गैंडा भेटिएका थिए। तीमध्ये चितवन निकुञ्जमामात्रै ६९४ वटा थिए।