गत असोज १० देखि १२ गतेसम्म परेको पानीले रोशी कलाती क्षेत्रमा विध्वंश मच्चायो।
लेदोसहितको बाढीले खोला छेउछाउका घरहरूलाई मात्रै दपेटेन, टाढाटाढाका घरहरूलाई समेत निशाना बनायो।
पनौती नगरपालिका वडा नम्बर ८ मल्पीमा यस्तो घर ढलायो, जहाँबाट खोला पुग्न नै पाँच मिनेट लाग्थ्यो। झन्डै तीन सय मिटरको दुरीमा थियो घर।
अहिले डेढ-दुई तलाका घर पूरै लेदोले पुरेर त्यसको धुरीबाट समेत रोशी बगिरहेको छ।
यत्रो विध्वंश मच्चाउने बाढीको स्रोत त्यस भेगमा सञ्चालनमा रहेका अवैध ढुंगा खानी र क्रसरहरू रहेको पाइएको छ। त्यस्ता नदी-खानीजन्य उद्योगहरूको कारण रोशी खोलाको उद्गम ठाउँबाटै भेलबाढी सुरू भएको थियो। जसले कलाती भूमिडाँडामा मात्रै सयभन्दा बढी घरपरिवारको उठिबास लगाएको छ। ती घरहरू अहिले खोला किनारमा जताततै पल्टिइरहेका देख्न सकिन्छन्। पक्की तवरले बनाएका घरका दायाँबायाँबाट रोशीले बाटो बनाइरहेको छ। रोशीको धारले छलेका घरहरू पनि बस्न अयोग्य छन्।
त्यसबाहेक कालोपत्रे सडक, बनेपादेखि, धुलिखेलसम्म वितरण हुने खानेपानी आयोजना, सिँचाइ कुलाहरूमा पुर्याएको क्षति अकल्पनीय छ। पनौती नगरपालिका वडा नम्बर १२ मा मात्रै पाँचवटा अवैध रोडा, बालुवा उत्पादन गर्ने क्रसर सञ्चालनमा थिए। रोशीको शिर क्षेत्र मानिएको भूमिडाँडा, कलाती क्षेत्रमा चारवटा अवैध ढुंगा खानी सञ्चालनमा थिए।
तिनै भेलबाढीको स्रोत बनेको स्थानीयले बताएका छन्। स्थानीयले बाढीपूर्व पनि विपत्तिबारे स्थानीय तह प्रशासन र नगरपालिकालाई जानकारी नगराएका होइनन्। नगर प्रमुखको बेवास्ताका कारण रोशीले विध्वंश मच्चाएको उनीहरूले बताएका छन्।
'खानीको मापदण्ड छैन। खोलामाथि 'डस्ट' (धूलो) थुपारिएको छ भनेर हामीले यसअघि पनि स्थानीय तहलाई जानकारी गराएका थियौं। रोशी कोशीमा जान्छ भनेर सबैलाई थाहा छ। यसअघि पनि बाढी गएको थियो। २०३८ सालमा पनि खतरनाक बाढी आयो। त्यसैले खानीलाई मापदण्ड लगाउनुस् भनेर मेयरलाई समेत जानकारी गराएका थियौं। उनीहरूले केही पनि गरेनन्,' एक स्थानीयले आक्रोश पोख्दै भने, 'खानीवालाले पार्टीका मानिस हात लिए। खानीको विषयमा बोल्दा ज्यान धरापमा छ। कहाँबाट के गिरोह लाग्छ। ज्यान नै सिध्याइदिन्छ।'
नेपाल प्रहरीका पूर्वअधिकारी, पूर्व प्रशासक, राजनीतिक दलका नेतृत्वको आडमा उनीहरूले विध्वंश निम्त्याएको स्थानीयले बताएका छन्।
गत असोज १० देखि १२ गतेसम्म काभ्रेपलाञ्चोकको खोपासी केन्द्रमा रेकर्ड ब्रेक वर्षा भयो। १२ गते वर्षा मापन गर्दा खोपासी केन्द्रमा २४ घन्टामा ३३१.६ मिलिमिटर पानी पर्यो। वर्षाले २०७२ भदौ १७ गते त्यस स्थानमा २७६.९ मिलिमिटर वर्षा भएको थियो।
रेकर्ड ब्रेक वर्षाले रोशीको तटीय क्षेत्र भूमिडाँडादेखि नेपालथोकसम्मै असर पुर्यो। पनौती नगरपालिकाभित्र २० जनाको मृत्यु भएको थियो। बाढी-पहिरोबाट ५०० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको मेयर रामशरण भण्डारीले जानकारी दिएका छन्।
उनका अनुसार ७१३ घरमा आंशिक क्षति पुगेको छ। दुई हजारभन्दा बढी पशुचौपायाको मृत्यु भएको छ। खेतीयोग्य जमिनको त हिसाबै छैन। रोशी किनारमा कैयन हेक्टर जमिन बगरमा परिणत भएका छन्। त्यसको विवरण संकलन भइरहेको नगरपालिकाले बताएको छ।
पनौती नगरपालिकामा पनि वडा नम्बर १२ साबिक भूमिडाँडा गाविसमा सर्वाधिक क्षति पुगेको छ।
पनौती, बनेपा, धुलिखेलको खानेपानीको स्रोत र रोशीको जलाधार क्षेत्र भएकाले त्यस ठाउँमा क्रसर–ढुंगा खानी सञ्चालन गर्न दिन नहुने र गेग्रान बहाब भएर तल्लो तटीय क्षेत्रमा असर पुर्याउने अड्कल स्थानीयले गरेका थिए।
त्यस क्षेत्रमा सञ्चालित नौवटा त्यस्ता उद्योगले खोलाको किनारमै ढुंगाको धूलो र गिटी-बालुवा थुपारेका थिए। ढुंगा खानीबाट निस्किएको माटो पनि उनीहरूले खोलामै व्यवस्थापन गर्दै आएका थिए।
नदी जलाधार क्षेत्रमा प्रशासनको स्वीकृतिबिना नै अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन भइरहेको, निजी जग्गा खरिद गर्ने र खानी सञ्चालन गर्ने क्रम बढेको, वन, खानेपानीका मुहान र खोला क्षेत्र वरपर खानी सञ्चालन भइरहेको र जनप्रतिनिधिहरू रमिते बनिरहेको गुनासो आएपछि २०७९ भदौ ७ गते काभ्रे जिल्ला समन्वय समितिले शान्तिराज प्रसाईंको नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा नौजना थिए। कार्यदलले झन्डै एक महिना लगाएर काभ्रे जिल्लाभरिका खानी तथा क्रसरहरूको अध्ययन गरेको थियो।
कार्यदलले काभ्रे जिल्लामा सञ्चालित १२ ढुंगा खानी, २२ वटा क्रसर र १४ वटा खानी तथा क्रसर दुवै भएको १४ वटा गरी ४८ वटा त्यस्ता नदी तथा खानीजन्य उद्योगहरूको अध्ययन गरेको थियो।
कार्यदलले ३० वटा उद्योग चालू हालतमा रहेको र १८ वटा उद्योग बन्द भइसकेको पाएको थियो।
अध्ययनका क्रममा पनौती नगरपालिकामै सबैभन्दा बढी अर्थात १४ वटा खानी तथा क्रसर पाइएका थिए। दसवटा चालू हालतमा थिए। चारवटा बन्द भइसकेको पाइएको थियो।
पनौतीपछि रोशी गाउँपालिकामा बढी अर्थात आठवटा त्यस्ता उद्योग थिए। त्यसमध्ये पाँचवटा नचलेको र तीनवटाले अवैध ढंगले खानी सञ्चालन गरिरहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो।
कार्यदलको प्रतिवेदन अनुसार नमोबुद्ध नगरपालिकामा ६, मन्डनदेउपुर नगरपालिकामा ३, बनेपा नगरपालिका १, बेथानचोक गाउँपालिकामा २, तेमाल गाउँपालिकामा ५, भुम्लु गाउँपालिकामा ४, चौरीदेउराली गाउँपालिकामा १ वटा त्यस्ता उद्योग सञ्चालनमा थिए। अधिकांश अवैध रहेको समितिको निष्कर्ष छ।
अध्ययनका क्रममा पत्ता लागेको पनौती नगर क्षेत्रका नदी र खानीजन्य उद्योगहरूको अवस्थाबारे हेरौं।
पनौती-५ को नैकिन्टारमका धनेश्वर रोडा उद्योग सञ्चालनमा छ। घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता रहेको त्यस उद्योगका सञ्चालक शेषनारायण सुवाल हुन्। अध्ययनका क्रममा उक्त क्रसर खोला तथा सडक नजिक रहेको र मानववस्तीको बीचमा रहेको पाइएको कार्यदलले बताएको छ।
त्यसबाहेक पनि उद्योगले कुनै पनि मापदण्ड परिपालना नगरेको कार्यदलको ठहर छ।
उद्योगले खानीबाट निस्किएको 'वेस्ट मटेरियल्स' (खेर जाने पदार्थ) व्यवस्थापन नगरेको, ढुंगा टुक्रिएर निस्किएको धूलो पुण्यमाता खोलामा मिसाएको प्रतिवेदनमा उल्लेख थियो। उक्त उद्योग वस्तीको बीचमा भएको, सडकसँग जोडिएको र खोला क्षेत्रमा भएकाले मापदण्ड पूरा गरेर सञ्चालन गर्न अथवा बन्द गर्न सुझाव दिएको थियो।
कलाती भूमिडाँडामा रहेको उडुवादेवी रोडा उद्योग पनि अवैध रूपमै सञ्चालनमा रहेको कार्यदलको निष्कर्ष छ। उक्त उद्योगका सञ्चालक सुरेन्द्र यादव रहेको कागजपत्रबाट देखिन्छ। उद्योग २०६२ सालदेखि नै सञ्चालनमा रहेको कार्यदलले अध्ययनका क्रममा फेला पारेका थियो।
उक्त खानी दर्ता भएको कागजातसमेत उद्योगले देखाउन नसकेको कार्यदलले बताएको छ। केही समयअघि बन्द रहेको उक्त क्रसरले पनि धूलो पदार्थ रोशी खोलामा मिसाएको प्रतिवेदनमा उल्लेख छ।
कलाती भूमिडाँडामै दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालि पनि सञ्चालित छ। २०७४ सालमा घरेलु तथा साना उद्योग कार्यालय, काभ्रेपलाञ्चोकमा दर्ता भएको उक्त खानी २०६४ सालमा जिल्ला विकास समितिमा पनि दर्ता रहेको पाइएको छ। प्रदीप बोगटी सञ्चालक रहेको उक्त खानी आफ्नै जग्गामा सञ्चालनमा रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ।
तर रोशी खोलाको किनारमै रहेको उक्त खानीले रोशी खोलालाई क्षतविक्षत बनाएको कार्यदलले बताएको छ।
स्वीकृत खानी क्षेत्रभन्दा बाहिर उत्खनन गरेको, तोकिएको क्षमताभन्दा बढी मात्रामा दैनिक उत्खनन हुने गरेको पनि कार्यदलले उल्लेख गरेको थियो।
क्रसर तथा खानी कलाती खोलासँगै भएकाले खानी क्रसरले फालेका वस्तुहरूले रोशी खोलाको बहाव परिवर्तन हुन सक्ने देखिएको समितिको त्यति बेलैको निष्कर्ष थियो। खानीले कलाती खोलामा ढुंगाको धूलो मिसाएकाले पानीको स्रोत नै बिग्रिएको समेत कार्यदलको निचोड थियो।
पनौती १२ मै भालेश्वर रोडा-ढुंगा उद्योग सञ्चालनमा थियो।
उक्त उद्योग २०७८ फागुन २६ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको अभिलेख छ। तर २०६६ सालमै जिल्ला विकास समितिमा दर्ता गरेर चलाउन थालिएको पाइएको पनि कार्यदलले बताएको छ। बालचन्द्र आचार्यसहित तीन जना सञ्चालक रहेको उक्त खानी खारखोला र गोरखोलामा सञ्चालित थियो।
पाँचवटा मेसिन प्रयोग गरी स्वीकृत मापदण्डभन्दा बढी उत्खनन गरेकाले रोशीले बहाब परिवर्तन गर्न सक्ने उतिबेलै औंल्याइएको थियो।
भूमि डाँडामै पनौती ढुंगा (खानी तथा क्रसर) उद्योग थियो। २०७४ मा घरेलु तथा साना उद्योग र २०७२ सालमै जिल्ला विकास समितिमा दर्ता भइ चलेको त्यस उद्योगका सञ्चालक रिपुमर्दन अधिकारी र बोधिरत्न शाक्य हुन्। उनीहरूले पनि खोलामा निर्बाध धूलो फाल्ने गरेको देखिएको समितिको निष्कर्ष थियो।
पनौती २ जोरघट्टमै काठमाडौं रोडा-ढुंगा उद्योग थियो।
उक्त उद्योग २०६६ सालमा कम्पनीमा र २०७० सालमा जिल्ला विकास समितिमा दर्ता भएको देखिन्छ। कैलाश कुँवर सञ्चालक रहेको उक्त खानी लामा समानान्तर जेभीको नाममा भएको भनिए पनि कुनै कागजपत्र फेला नगरेको कार्यदलले बताएको छ। उक्त उद्योगले खानीबाट निस्किएको खेर जाने पदार्थ खोलामै फ्यालेकाले विपत्ति निम्त्याउन सक्ने खतरा औंल्याइएको थियो।
पनौती १२ मै श्रीराम आचार्यको नाममा दर्ता भएको कृष्टल रोडा-ढुंगा उद्योग नामक क्रसर सञ्चालनमा थियो। त्यस उद्योगले पनि निर्माण सामग्री खोलामै थुपारेकाले खोलाले धार परिवर्तन गर्न सक्ने औंल्याइएको थियो। पनौती १२ मै कोहिनुर रोडा ढुंगा उद्योग पनि अवैध रूपमै सञ्चालनमा थियो। त्यो उद्योगको खानी, क्रसर दर्ताको कुनै कागजात नै फेला परेन। विनोद रेग्मीले चलाउने गरेको त्यो अवैध क्रसरले पनि खोलामै सामग्री थुपारेको थियो।
लामा समानान्तर उद्योगले पनौती-२ रोशी खोलामा अर्को क्रसर पनि खोलेको थियो। अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको लामा समानान्तरको पनि दर्ता भएको कागजात नै फेला नपरेको कार्यदलले बताएको छ। पनौती-२ मा कार्की रोडा-ढुंगा उद्योग पनि सञ्चालनमा छ। राजेन्द्र पौड्याल सञ्चालक रहेको उक्त खानी २०७२ सालमा जिल्ला विकास समिति र २०६५ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको छ।
तर उसले पनि खोलामै खेर जाने पदार्थ फाल्दै आएको कार्यदलले बतएको छ।
यसबाहेक पनौतीमा राजेन्द्र श्रेष्ठले रोशी खोला रोडा-ढुंगा उद्योग, दीपक भण्डारीले डायमन्ड रोडा-ढुंगा उद्योग सञ्चालनमा ल्याएका छन्। त्यस्तै पनौती-१२ मै रोशी रोडा-ढुंगा उद्योग चलायमान छ। रोशी रोडा-ढुंगाको त दर्ता र सञ्चालकसमेत थाहा हुन नसकेको कार्यदलले बताएको छ। यद्यपि पछिल्लो समय उक्त उद्योग बन्द छ।
पनौती-१२ मगर गाउँमा ओम हिमाल रोडा-ढुंगा उद्योग सञ्चालनमा छ। हेमराज गुरूङ सञ्चालक रहेको उक्त उद्योगको दर्ता नै भएको छैन। उसले पनि खानीबाट उत्सर्जित सामग्री सिधै खोलामा मिसाउने गरेको पाइएको कार्यदलले बताएको छ।
जिल्ला समन्वय समितिका एक अधिकारीले दिएको जानकारी अनुसार यी त देखिने सञ्चालक मात्रै हुन्। यसबाहेक कांग्रेस राजनीतिमा सक्रिय एक नेता र बागमती प्रदेशका एक पूर्वमन्त्रीको पनि संलग्नता रहेको ती अधिकारीको दाबी छ।
'उनीहरू प्रत्यक्ष देखिएका छैनन्। तर प्रशासनले नियमन गर्न खोज्यो भने चासो देखाउँदै आउँछन्,' ती अधिकारीले भने।
गाउँपालिका अध्यक्ष नै चलाउँछन् क्रसर!
नमोबुद्ध नगरपालिकाका अध्यक्ष कुनसाङ लामा नै क्रसर सञ्चालक हुन्।
उनले मुकुन्द अधिकारीसँगको साझेदारीमा नमोबुद्ध-६ खरीबोटमा क्रसर सञ्चालन गरेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ। ब्लुसाइन रोडा तथा ढुंगा उद्योगको नाममा सञ्चालित त्यस क्रसर २०६६ सालमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको देखिन्छ। त्यस्तै २०७८ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको अभिलेख छ।
तर यो उद्योग पनि मापदण्ड अनुसार चलेको छैन। अवैध ढंगले नदीजन्य सामग्री उत्खनन गरिएकाले वस्ती नै जोखिममा रहेको, पानीको मुहानहरू सुकेको प्रतिवेदनले औंल्याएको छ। यो खानीले पनि खेर जाने पदार्थ नदीमै थुपारेकाले खोलाले धार परिवर्तन गर्न सक्ने जोखिम औंल्याइएको थियो।
दुई वर्षअघि नै बुझाइएको प्रतिवेदनमा अधिकांश उद्योगले खानी-क्रसरबाट उत्पादित खेर जाने पदार्थ व्यवस्थापन नगरेको किटान गरिएको छ। यसका कारण खोला, खोल्साको बहाब परिवर्तन हुन सक्ने, खोल्सा हुँदै नदीसम्ममा पुगी थिग्रिएर तल्लो तटीय क्षेत्रमा असर गर्ने भएकाले प्रमुख समस्याको रूपमा रहेको औंल्याइएको छ।
कार्यदलले १२ वटा सुझाव समेत दिएर यथाशीघ्र कार्यान्वयन गर्न भनेको थियो।
खानी उत्खननका लागि अनुमति प्राप्त स्थानभन्दा बाहिर र सार्वजनिक, पर्ती जग्गामा उत्खनन गरिरहेका खानीहरूलाई स्थानीय पालिकाले तत्काल बन्द गराउने सुझाव दिइएको थियो।
नदी, खोला, वन क्षेत्र तथा राजमार्गको दुरीसम्बन्धी मापदण्ड पालनामा समस्या भएकाले केन्द्रीय तहबाटै समाधानका लागि पहल गर्नुपर्ने पनि सुझाव दियो।
अवैध क्रसर ढुंगा-खानीले निम्त्याएको विध्वंशबारे जनप्रतिनिधि अझै मुख खोल्न सकेका छैनन्। बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका बसुन्धरा हुमागाईं सबै दोष खानीलाई मात्रै दिन नहुने बताउँछन्। उनले त्यस भेगमा २०३८ सालमा पनि बाढी गएको इतिहास बताए। यसपटक पानी नै घनघोर परेकाले डाँडाकाँडा नै बगेको बताए।
'खानी नभएका ठाउँमा पनि पहिरो चलेका छन्। कतै बस्न योग्य ठाउँ छैन,' उनले भने, 'खानी नचलाऊ भन्यो भने निर्माण सामग्री कताबाट ल्याउने?'
यद्यपि त्यसको व्यवस्थापनमा भने ध्यान दिनुपर्ने उनले बताए।
'खानीबाट निस्किएको खेर जाने पदार्थ व्यवस्थापन गर्नुपर्छ। त्यसो चाहिँ भएको देखिएन,' उनले भने।
वडाध्यक्ष जयराम केसी पनि खानीका कारण समस्या निम्तिएको स्थानीयले बताए पनि त्यो मात्रै कारण नरहेको बताउँछन्।
महाभारत लेकको कतिपय भाग नै फुटेर ठुल्ठूला रूख बगाएर ल्याएकाले नदीले धार परिवर्तन गरेको उनले बताए।
'ठूल्ठुला रूख बगाएर ल्यायो। ठाउँठाउँमा तेर्सिंदा खोलाले धार फेर्यो। गाउँमा विनाश निम्तियो,' उनले भने।