बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका ३६ वर्षीय वीरेन्द्र पुनले तीन दिनअघि मात्रै मलेसियाबाट श्रीमती सीता र २६ महिनाकी सानी छोरी लक्ष्मीसँग सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियोमा कुराकानी गरेका थिए।
असोज २ गते आफू घर फर्किन लागेको खबर श्रीमती र छोरीलाई दिएका थिए। वीरेन्द्रले त्यस दिन श्रीमती सीतालाई सानी छोरी लक्ष्मीलाई लिएर नेपालगञ्जस्थित राँझा एयरपोर्टमा आउन भनेका थिए।
उनले छोरी लक्ष्मीसँग पनि छुट्टै कुरा गरेका थिए। ‘ममीसँग एयरपोर्टमा आउनु है छोरी!’ भन्दा तोते बोल्दै लक्ष्मीले पनि हुन्छ बाबा भनेकी थिइन्। छोरीको हँसिलो अनुहार देख्दा वीरेन्द्रलाई बेग्लै खुसी मिलेको थियो।
वीरेन्द्र सीता तीन महिनाको गर्भवती हुँदा मलेसिया गएका थिए। घरको आर्थिक स्थिति मजबुत थिएन। नजिक–वर्पन रोजगारीका अवसर थिएनन्।
वृद्धावस्थाकी आमाको पालनपोषण गर्नु, ओखतिमूलो गर्नु, दुई छोरा पढाउनु र घर–गृहस्थी चलाउनु सबै उनको काँधमा थियो। श्रीमती गर्भवती भएकाले जिम्मेवारी थपिँदै थियो। त्यसैले उनले घर छाड्ने निधो गरेका थिए।
घरकै आर्थिक अवस्थाका कारण ३६ वर्षीय वीरेन्द्र यो बीचमा १६ वर्ष जति मसेसिया आउजाउ गरे। उनी एक–डेढ वर्षमा घर आउजाउ गरिन्थे। तर यसपटक उनको बसाइ लम्बिन पुग्यो।
घर फर्किनुअघि पनि वीरेन्द्र सानी छोरी लक्ष्मीसँग फुर्सद मिल्यो कि भिडियोमा कुरा गरिहाल्थे।
‘ऊ स्पष्ट बोल्थी, वाक्य मज्जाले खुलिसकेको थियो। बाबा, मम्मी, दादा, आमा सबै कुरा स्पष्ट भन्न सक्थी,’ वीरेन्द्रले भने, ‘मसँग उस्ले भिडियोमै आफूलाई मनपर्ने खानेकुराहरू माग्थी, चकलेट, गुडिया, नयाँ फ्रक मागेकी थिई र मैले पनि उसले भनेका लुगाफाटो, खेलौना किनेर प्याकिङ गरिसकेको थिएँ।’
गाउँ–घरका लक्ष्मीसँगैका धेरै बालबालिका अझै पनि जिब्रो फट्कारेर स्पष्ट बोल्न सक्दैन भन्ने वीरेन्द्रले घर परिवारबाट विदेश छँदै सुन्दै आएका थिए।
उनीहरूकै उमेरकी आफ्नी छोरी स्पष्ट बोलेको सुन्दा, देख्दा वीरेन्द्र मख्ख पर्थे। तर उनको यो खुसी लामो समय टिकेन। आज उनी त्यही छोरीको वियोगमा तड्पिइरहेका छन्, बर्बरी आँसु खसाल्छन्।
‘छोरी लक्ष्मी जन्मिएर धेरैपछि हाम्रो परिवारमा एउटा छुट्टै उमंग छाएको थियो,’ वीरेन्द्रले भने, ‘त्यो खुसी यति छिट्टै चकनाचुर होला भन्ने मैले कहिलै कल्पनासम्म पनि गरेको थिइनँ।’
यसअघि आफू घर आउन नपाउँदा पनि वीरेन्द्रले छोरीका लागि मलेसियाबाटै कपडा किनेर पठाइदिएका थिए। यतिखेर आफै घर आउने हुँदा छोरीको लागि मात्रै उनकै रोजाइका झन्डै २० हजार बराबरको कपडा, खेलौना ल्याइदिएका थिए।
दुर्भाग्य छोरी लक्ष्मीका हातमा परेनन्। गत भदौ ३० गते बेलुकीपख छोरी लक्ष्मीलाई चितुवाले आँगनबाटै टपक्क टिपरे लग्यो।
वीरेन्द्रले छोरी लक्ष्मीलाई भनेर ल्याएका खेलौंना, लत्ताकपडा, चकलेटलगायत सामग्री सबै गाउँ घर र आफन्तका बच्चाबच्चीलाई बाँडिदिए।
‘छोरीसँग भेट्ने ऊसँगै खेल्ने मनमा कत्रो अभिलासा थियो तर असोज २ गते त्यस्तै दिउँसो १२ बजेतिर घर आइपुगेको थिएँ होला। चितुवाले घरबाट केही टाढाको दूरीमा लगेर छोरीको टाउको र एउटा खुट्टा मात्रै बाँकी राखेछ। गाउँलेहरूलाई मलाई देखाउन खोज। मैले हेर्न पनि सकिँन। रूँदै फर्किएँ,’ उनले भने।
आफूले छोरीका अवशेषहरू हेर्न नसकेपछि पोष्टमर्टमपछि आफन्तहरूले दफन गरेको उनले बताए।
‘सामाजिक सञ्जालमा देखे, हेरे र कुरा गरे पनि मैले मेरो छोरीलाई सुमसुम्याउनसम्म पाएको थिइनँ। म कस्तो अभागी बाबु रहेछु भनेर मन पिरोलिइरहन्छ, छातीमा भक्कानो फुटिरहन्छ,’ उनले भने।
छोरी लिएर पत्नी सीतालाई विमानस्थलमा आउन भनिसकेकाले उनी ढुक्क थिए। छोरीसँग भेट हुने भयो भनेर उनले अनेक तर्कना गर्दै थिए। तर खजुरा गाउँपालिकाले पेजमा राखेको सूचनाले उनी खंग्रङ्गै भए।
‘पर्सीपल्ट घर फर्किने टिकट लिइसकेको भए पनि ३१ गते बिहान साढे ७ बजेतिर डिउटीमै रहेको बेला मोलाइल हेरेको थिएँ,’ उनले भने, ‘छोरी आँगनबाटै बेपत्ता भएको सूचना पो राखिएको रहेछ।’
गाउँपालिकाको पेजमा उनको नामसहित छोरी बेपत्ता भएको सूचना राखिएको रहछ। ‘त्यो देखेपछि मेरो होस हवासै उड्यो, उभिएको जमिन भासिए जस्तै अनुभव भयो, म तत्काल कोठामा फर्किएँ।
त्यसदिन खुबै रोएँ। सम्हालेर घरमा सम्पर्क गर्दा आमा र बहिनी पनि रोइरहेका थिए र मैले उल्टै उनीहरुलाई नै सम्झाउनु परेको थियो,’ उनले भने।
छोरीलाई कसरी लग्यो चितुवाले?
वीरेन्द्रकी ३५ वर्षीया श्रीमती सीतालाई घरमा सधैँ कामको चटोरो हुन्थ्यो। सासू रामकली बृद्ध थिइन्। १३ वर्षीय छोरा गोविन्द र ९ वर्षका अर्बिन पनि सीतालाई घरायसी काममा सघाउँथे।
त्यो दिन पुनको परिवारले सम्साँझै खाना खाएको थियो। खाना खाइवरी लक्ष्मीकी हजुरआमा र दुई दाजु भान्साबाट निस्किसकेका थिए।
दाजुभाइ २० मिटरजति टाढाको खोरबाट बाख्रा निकाल्न भनेर केहीअघि मात्रै निस्किएका थिए। २६ महिनाकी छोरी लक्ष्मीले त्यसदिन दिन गाईको दूधसँग रोटी खाएकी थिइन्।
‘नानी त्यस दिन पिर्कामा छुट्टै बसेकी थिई,’ सीताले भनिन् ‘ मैले कचौरामा गाईको दूध राखिदिएपछि रोटी खाएकी थिई।’
दाजुहरू खोरमा बाख्रा लिन गएको थाहा पाएपछि लक्ष्मी खाँदाखाँदैको रोटीको टुक्रा समातेर सानो पाठालाई खुवाउँछु भन्दै आँगनमा निस्किइछन्। पुन परिवारले ६ वटा बाख्रा, एउटा बोका, बंगुर र एउटा गाई पालेका थिए।
लक्ष्मी नरहेपछि केही दिन पहिले मात्रै उनीहरूले गाई र बंगुर बेचिसकेका छन्।
भदौ ३० गतेको बेलुका ८ बजेको हुँदो हो। झमस्क रात परिसकेको थियो, छोराहरू बाख्रा लिएर आए। तर लक्ष्मी आइनन्।
आँगन वरपर छोरीलाई खोजे। कतै नभेटेपछि उनको मनमा चिसो पस्यो। उनी अत्तालिन थालिन्। घरमा कोलाहल पछि छरछिमेक भेला भए। केही खोजतलासमा जुटे, कसैले प्रहरीलाई खबर गरे। त्यस रात १२ बजेसम्म खोजी गरियो।
अर्को दिन लक्ष्मीलाई खोज्ने र फेला पार्ने विश्वासको त्यान्द्रो आमा सीताको मनमा जीवितै थियो। त्यस रात सीता मात्रै हैन परिवारका कोही पनि सदस्य निदाउन सकेनन्, रातभर जाग्राम बसे।
सीताका अनुसार घटनाको पाँच दिनसम्म परिवारका कुनै पनि सदस्य निदाउन सकेनन्। ‘म त आमा हुँ, कसरी निदाउन सक्थे !,’ सीताले भनिन्, ‘म मात्रै होइन घरका कोही पनि पाँच दिनसम्म सुतेनन्।’
सीताका अचेत भएपछि दोस्रो दिन स्लाइनपानी चढाउनु परेको थियो। छोरी बेपत्ता भइन् भने सीताले मलेसियामा रहेका श्रीमानलाई त्यो दिन भन्न पनि सकिनन्।
गाउँ घरका मानिसले घटनाबारे वीरेन्द्रलाई सुनाइसकेका रहेछन्। सोमबार बिहान वीरेन्द्रले मलेसियाबाट सामाजिक सञ्जालमार्फत् घरमा फोन गरे।सीताले कुरा गर्न सकिनन्। उनकी आमा र घटना सुनेपछि दाङबाट हानिएर पुगेकी बहिनीले मात्रै लक्ष्मी बेपत्ता भएको र खोजी भइरहेको कुरा रुँदै सुनाए।
सीताले श्रीमानसँग त्यो बीचमा छोरी बेपत्ता भएकोबारे कहिल्यै कुरा गर्न सकिनन्। ‘सुरूकी एउटी छोरी जन्मिनासाथ मरेकी थिई,’ सीताले रुँदै भनिन् ‘त्यसपछि लगालग दुई छोरा भए। त्यसपछि जन्मिएकी ऊ निकै टठिलो थिई।’
चितुवाले कतिबेला उठाएर लग्यो, उनले पत्तै पाइनन्। तीन दिनपछि झन्डै एक किलोमिटर पश्चिममा लक्ष्मीको एउटा खुट्टा र टाउको फेला परेको थियो।
आमा सीतालाई छोरीका अवशेषहरु देखाइएन। खोज्न गएका मानिसहरूले जंगलमै खाडल खनेर ती अवषेश गाडे। सानी लक्ष्मीको वियोगमा पुन परिवारले आफ्नो धार्मिक तथा जातीय परम्पराअनुसार तीन दिनसम्म नुन छाड्यो ।
सीताका अनुसार पाँचौं दिनका दिन उनीहरूले शुद्धशान्तिको काम सकेका थिए। आमा सीतालाई अझै पनि छोरी आमा भन्दै आइपुगिहाल्छे कि जस्तो लाग्छ।
२६ महिनाकी लक्ष्मीलाई चितुवाले आँगनबाटै उठाएर मारेपछि यतिखेर खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका मानिस धानखेत र बारीमा जानसमेत डराएका छन्।
आरक्षण क्षेत्र व्यवस्थित नगर्दा वन्यजन्तुको भय बढेको वीरेन्द्रले बताए। रातविरात वन्यजन्तुले मानिस टिप्न थालेपछि बस्नै त्राहीत्राही भएको उनले बताए।
वीरेन्द्रको घरको वरिपरि धानखेत छ। झन्डै पाँच सय मिटर पश्चिममा जिगरा सामुदायिक वन छ।
भदौ ३० गते बेलुकादेखि बेपत्ता बालिका लक्ष्मीको टाउको र दाहिने खुट्टा मात्रै सोही वनमा असोज १ गते बिहान ११ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय धनौली बाँकेका प्रमुख प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए।
घटना भएकै दिन केसीको कमाण्डमा सात सदस्यीय प्रहरी टोली झन्डै ६ किलोमिटर पश्चिमको घटनास्थल पुगेको थियो। अबेर रातिसम्म खोजी गर्दा पनि फेला नपरेपछि टोली फर्किएको थियो।
भदौ ३१ गते एकाबिहानै बाट प्रहरी निरीक्षक केसी र स्थानीयले बालिका लक्ष्मीको खोजी सुरु गरेका थिए। त्यतिखेर खोजीमा खटिएको टोलीले धानका खेतका आलीमा रगतका टाटाहरू पारेको थियो।
त्यसपछि लक्ष्मीलाई चितुवाले लगेको आशंका गरियो। त्यसपछि कर्णाली प्रदेश केनाइन शाखा कोहलपुरबाट प्रहरी नायब निरीक्षक विष्णु पौडेलको कमाण्डमा पाँच सदस्य टोली तालिम प्राप्त दुई कुकुरका साथ खटिए।
सब डिभिजन वन कार्यालय राँझा बाँकेका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीको कमाण्डमा पाँच सदस्य टोली, सशस्त्र प्रहरी बल बढैया बाँकेबाट सहायक प्रहरी निरीक्षक जालेन्द्र केसीको कमाण्डमा सात जनाको टोली पनि खटियो। स्थानीय जनप्रतिनिधि र स्थानीयसमेत गरी करिब पाँच सय जनाको टोली बेपत्ता लक्ष्मीको खोजीमा जुटेको थियो।
तीन दिनपछि असोज १ गते ११ बजेतिर पुनको घरदेखि झन्डै एक किलोमिटर पश्चिम जिगरा सामुदायिक वनमा लक्ष्मीको टाउको र दाहिने खुट्टा मात्रै फेला परेको प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए।
ती अवशेष संकलन गरी सोही दिन दिउँसो साढे २ बजेतिर नेपालगञ्जस्थित भेरी अस्पतालमा पोष्टमर्टमका लागि पठाइएको थियो। पोष्टमार्टमपछि सोही दिन बेलुकी सवा पाँच बजेतिर बालिका लक्ष्मीका फुफाजु पोखराज वलीले अस्पतालवाट अवषेश बुझेका थिए।
इप्रका धनौलीका प्रमुख प्रहरी निरीक्षक केसीका अनुसार नरभक्षी चितुवा नियन्त्रणमा लिने प्रयास स्वरुप जिगरा सामुदायिक वन लगायत आसपासको जंगलमा नियमित पासो थाप्दै आइएको छ।
तीन वटा खोरमा पासो थाप्ने गरिएको छ। दुई वटामा बाख्रा र एउटामा कहिले कुकुर र कहिले भेडो राख्ने गरिएको छ। पाँच वटा क्यामेराको सहयोगमा चितुवाको निरन्तर निगरानी हुँदै आएको छ। यो बीचमा एउटा भाले चितुवा र एउटा दुई वटा बच्चासहितको आमा क्यामेरामा कैद भएका थिए। ती चितुवा पासोनजिकै पुगे पनि वरिपरि हेरे पनि आहारा खान भने नगएको अनुसन्धानमा खटिएका वनका पदाधिकारी बताउँछन्।
नरभक्षी चितुवाको खोजीका लागि सम्सेरगञ्जबाट ल्याइएका दुई वटा हात्तीले निरन्तर खोजी गरिएको थियो। त्यसमा डार्ट टोली पनि संलग्न थियो। साता बढी खोजी गर्दा पनि फेला नपरेपछि हात्ती फिर्ता गरिएको थियो। त्यसपछि पासो थापेर चितुवालाई लोभ्याउने र नियन्त्रणमा लिने प्रयास जारी छ।
जानकारहरूका अनुसार शिकार गर्न नसक्ने अवस्थामा पुगेपछि, बुढो भएपछि बाघ–चितुवा सजिलो शिकारको खोजीका लागि बस्तीमा पस्ने गर्छ।
कुनै पनि बयष्क बाघको आफ्नै क्षेत्रफल हुने गर्छ। तर उसले अर्कौ बाघसँग जुध्न नसकेपछि वा हार्दै गरेपछि ऊ बाँच्नका लागि सजिलो शिकारको खोजीमा बस्तितिर पस्छ।
बच्चासहितको माउले पनि धेरै आहारा खानुपर्ने हुँदा सजिलो शिकारको खोजी गर्न थाल्छ।
पछिल्लो तथ्याङ्क अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ पाटे बाघ छन्।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटे बाघको संख्या २५ वटा जति छ। पाटे बाघको संख्या बढेको सरोकारवालाहरूले बताउँदै आएका छन्। बाघको संख्या बढेसँगै निकुञ्ज आसपासका क्षेत्रमा बाघ र मानव बीचको द्वन्द्व बढ्दै गएको छ।
पछिल्लो यो घटाना पनि बाँके र बर्दियाको बीचमै भएको छ। मानखोला पारि बर्दिया पर्छ भने वारि बाँके पर्छ। दुई राष्ट्रिय किकुञ्जबीचको मानखोलाको जंगल क्षेत्रमा यसअघि पनि पटक-पटक बाघ देखा पर्ने गरेको थियो।
बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै आसपासका सामुदायिक वनमा पनि बाघ विचरणका लागि पटक–पटक आउने गरेको तथा मानव र उनीहरूका बीचमा द्वन्द्व चुलिएको सरोकारवालाहरू बताउँछन्।