आँगन, सिकुवादेखि भान्सा कोठाभित्रैसम्म कोशीको लेदो भरिएको छ।
सुत्ने कोठाको भुइँभरी पनि लेदो नै लेदो भरिएको छ। तर, उदयपुर वेलका नगरपालिका-२ का ऋषिराम फुयालले एकैछिन पनि घर छाडेका छैनन्।
शनिबारदेखि गाउँतिर सोझिएको कोशीको भँगालोले बगाएर ल्याएको लेदोले उनको घर परिसर मात्रै पुरेको छैन, बारीमा लहलहराइरहेका तरकारी खेतीको अस्तित्वसमेत नामेट पारिदिएको छ। शनिबार बिहानसम्म घर वरिपरि चारैतिर देखिने हरियालीलाई अहिले कोशीको लेदोले मेटिदिएर फुस्रै पारिदिएको छ।
यति हुँदा पनि उनले घर छाड्ने हिम्मत गरेनन्। बरू बाढीको पर्वाह नगरी घरै कुरेर बस्ने हिम्मत देखाए।
‘मेयरदेखि वडाध्यक्षहरूले पनि पारि स्कुलतिर जाऊ भनेर धेरै भन्नुभयो। मलाई घर छोड्ने आँट आएन,’ फुयालले भने, ‘दुई वर्षअघि पनि गाउँमा बाढी पस्दा ज्यान जोगाउन घर छाडेर सुरक्षित ठाउँतिर गइयो, खसी-बाख्रा, कुखुरा, गाईवस्तु चोरी भयो। यसपालि त जेसुकै होस् भनेर बसेको, धन्य पानी घट्यो।’
सप्तकोशीबाट घर गाउँतिर सोझिएको भँगालोको बहाव अहिले ज्यादै कमजोर भइसकेको छ।
आइतबार बिहानैदेखि चरक्क चर्किएको घामले पानीको सतह निरन्तर घटाइरहेको छ। पानीको सतह घटे पनि कोशीले बगाएर घरघरमा पुर्याइदिएको फोहोरसहितको लेदोले सर्वसाधारणको दैनिकी कष्टकर बनाइदिएको छ। घरमा रहेका चौपाया, खाद्यान्न, लत्ताकपडा तथा अन्य माल मत्ताको मायाले घर छाड्न नसकेका वेलकाबासीलाई अहिले लेदोले दुःख दिएको छ।
‘अलि अग्लो घर हुनेहरूलाई त ठिकै छ, होचो घर हुनेहरूले घरभित्र बाँसको टाँड बनाएर रात काट्नु परिरहेको छ,’ वेलका ३ का फाल्गुन कार्कीले भने, ‘मेरै धेरै छरछिमेकी धेरैले आज घरभित्र बाँसको टाँड हालेका छन्। राति लेदोबाट जोगिएर निदाउन सकियोस् भनेर यसो गरेको हौं।’
वेलका नगरपालिका वडा नम्बर ३ का वडा सदस्य समेत रहेका कार्कीका अनुसार गाउँका धेरैले तरकारी खेती गरेका थिए। कोशीको बाढीले तरकारी बारी सबै पुरिदिएको छ।
‘कसैले बोडी खेती गरेका थिए, कसैले करेला,’ कार्कीले भने, 'सागपातहरू पनि हरियै भइसकेका थिए तर बाढीले सबै पुरिदियो।’
शनिबार अपराह्न ओभरफ्लो भएर बस्तीतर्फ पसेको सप्तकोशी नदीको बाढीले उदयपुरको वेलका नगरपालिकाका चार वटा वडाका साढे ११ सयभन्दा बढी घरपरिवारलाई असर पुर्याएको थियो।
बाढी पसेको वडा नम्बर २, ३, ८ र ९ का प्रभावित क्षेत्रमा अहिले पानीको बहाव घटे पनि बाढीसँगै आएको लेदो सर्वसाधारणका घर भित्रैसम्म भरिएको छ।
सोमबार बाढी प्रभावित चार वटै वडा घुमेका मेयर अशोक कार्कीले दिएको जानकारी अनुसार ११ सयभन्दा बढी घरहरूका आँगनदेखि कोठासम्मै लेदो भरिएपछि बस्न नहुने अवस्था सिर्जना भएको छ।
‘तर, चौपाया, खाद्यान्न र अरू मालसामान चोरिने डरले प्रभावितहरूले घर छाड्न मान्नुभएन,’ उनले भने, ‘अहिले पानी त घट्यो तर सम्हाल्नै नसक्ने गरी घर आँगनमा थुप्रेको लेदोले सबैलाई गाह्रो बनायो।’
वेलका वडा नम्बर २ को रामनगर, नारायणपुर टोल र शान्तिनगर टोलमा बाढीको लेदोयुक्त पानी मानिसहरूका घरभित्र धेरै पसेको छ।
निरीक्षणका क्रममा बाढीले डुबानमा परेका परिवारलाई तत्काल राहत व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको मेयरले बताएका छन्।
‘पीडितहरूले खाद्यान्न होइन, झुल, खानेपानी शुद्ध पार्ने उपाय खोज्नुभएको छ,’ कार्कीले भने, ‘बाढी गाउँ पसेपछि जमिनको तल्लो सतहसम्मै फोहोर पानीको प्रभाव पुगेको छ। स्यालो ट्युबवेलको पानीले यस्तो बेलामा समस्या ल्याउने जोखिम उच्च भएको छ।’
यसबाहेक अधिक लामखुट्टे लाग्न थालेका कारण डेंगीको प्रकोप बढ्ने जोखिम भएको मेयरको भनाइ छ।
कोशीको बाढीले बहुसंख्यक सर्वसाधारणको खाद्यान्न भिजाएर क्षति पुर्याएको छ। कतिपयको त बगाएको पनि छ। खाना बनाएर खाने ठाउँ समेत नहुँदा जनजीवन कष्टकर रहेको मेयर कार्कीले बताए।
शनिबार दिउँसोदेखि उदयपुरको वेलकातिर सोझिएको कोशीको बाढीले १ हजार १५४ वटा घर डुबानमा परेका छन्।
डुबानका कारण प्रभावितहरू घरमा बस्ने अवस्था नभए पनि गाउँलेले चोरीको त्रासले घर छाडेनन्। वेलका नगरपालिका वडा नम्बर- २ का ४७९ परिवार, वडा नम्बर- ३ का ४६४, वडा नम्बर- ८ का ५९ र वडा नम्बर- ९ का १५२ घर परिवार डुबानमा परेका छन्।
सप्तकोशीमा आइतबार दिउँसोदेखि पानीको बहाव घट्दै गइरहेको छ। सोमबार २ लाख ५४ हजार क्युसेक मापन भएको बहाव घट्दै जाँदा गाउँतिर पस्ने पानी पनि घटेको छ। यद्यपि लेदोले असहज अवस्था सिर्जना गरेको वेलका नगरपालिकाका पीडितहरू बताउँछन्।