रोशी कोलातीको बाढीपछि पनौती, बनेपा र धुलिखेलसम्मै खानेपानी संकट देखिएको छ।
पनौती र बनेपाको मात्र नभई धुलिखेलसम्मकै खानेपानीको मुख्य स्रोत हो कोलाती क्षेत्र।
रोशीको शिरसमेत रहेको उक्त स्थानमा बाढी–पहिरोले विध्वंश निम्त्याएपछि खानेपानीको हाहाकार मच्चिएको पनौती–१२ का वडासदस्य दीपक तामाङले जानकारी दिए।
‘हिजोसम्म कोलातीमा उद्धार गर्न जान नै सकिएको थिएन। रोशीले खण्डहर तुल्याइएको बगरमा बाँस, मुढाका फड्के हालेर उद्धार गरियो। शवहरू निकाल्ने काम भयो। हिजैबाट खानेपानीको संकट चुलिएको छ,’ उनले भने।
बाढी–पहिरोबाट पनौती–१२ मा एक अमेरिकी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो। तीन जना घाइतेको उद्धार गरिएको थियो।
रोशीको बाढीले एसियाली विकास बैंक र जर्मन सहयोग नियोगको सहयोगमा निर्मित संरचना ध्वस्त भएको बागमती प्रदेशमा पूर्वमन्त्री बसुन्धरा हुमागाईंले जानकारी दिए।
‘कलाती क्षेत्र पनौती, बनेपा, धुलिखेलको खानेपानीको मुहान क्षेत्र पनि हो। डेढ दशकअघि अर्बभन्दा माथि खर्चिएर खानेपानी आपूर्तिका संरचना बनाएर वितरण व्यस्थित बनाइएको थियो। ती सबै खण्डहर बनेका छन्। पहिरो नचलेको ठाउँ छैन। रोशी कलातीका ७० प्रतिशतभन्दा बढी घरमा क्षति भएको छ। ५० वटाभन्दा बढी घर कोही पुरिएका छन्। कोही बगेका छन्। भयंकर त्रासदीको अवस्था छ,’ उनले भने।
उनले खानेपानी आपूर्ति ठप्प हुँदा झन् ठूलो मानवीय संकट आउने बताए।
‘बनेपा, धुलिखेल, पनौतीको लाइफ लाइन नै कोलाती र त्यसले प्रवाह गर्ने पानी हो। यही ठप्प भएपछि अर्को त्रासदी उत्पन्न भएको छ,’ उनले भने।
उनले २०३८ सालपछि विध्वंश निम्तने गरी बाढी पहिरो आएको बताए। बाटाघाटा–पुलपुलेसा बग्दा उद्धार राहतमा कठिनाइ भएको बताए। आइतबार बाँसका खट तेर्स्याएर शवहरू निकाल्ने काम गरिए पनि क्षतिको विवरण निकाल्न नसकिएको बताए।
‘पनौतीको पछाडि पर्ने र विकासमा अत्यन्त पछाडि परेको उक्त क्षेत्रलाई धेरै मिहिनेतले सँगसँगै हिँडाइएको थियो। नालासहितको बाटो पूर्ण कालोपत्रे थियो। अहिले त्यसको निशाना भेट्न पनि गाह्रो छ। भूकम्पपछि ऋणधन गरेर स्थानीयले पक्की घर बनाएका थिए। ती सबै बगेका छन्। मानिसहरू धन्न ज्यान जोगियो भन्ने अवस्थामा छन्,’ उनले भने।
रोशी कोलाती क्षेत्रमा झन्डै ११ वटा खानी छन्। त्यसमध्ये ४–५ वटा त सञ्चालनकै क्रममा रहेको वडासदस्य दीपक तामाङ बताउँछन्।
खानीको ढुंगा–माटो व्यवस्थित नगरिँदा बाढीले उग्ररूप लिएको स्थानीयले बताएका छन्।
वडा सदस्य तामाङले पनि खानीले जम्मा गरेको सामग्रीका कारण बाढीले ध्वंसात्मक बनेको बताउँछन्।
‘भूकम्पछि यहाँको जमिन नै कमजोर बनेको थियो। लगातार ७२ घन्टासम्म पानी पर्यो। डाडाँपाखा सबै चल्न थाले। बाढीमा खानीको माटो, ढुंगा पनि मिसिँदै बग्न थाल्यो। स्थानीयले भाग्ने समय पनि पाएनन्,’ उनले भने।
बाढीले पनौतीमा रहेको २.४ मेगावाट जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ। परियोजनाको बाँध र विद्युत उत्पादन गृहमै क्षति पुगेकाले बन्द गरिएको छ।
उक्त परियोजना सन् १९६५मा तत्कालीन सोभियन युनियन सहयोगमा २७ करोड लागतमा निर्माण गरिएको हो।