लुम्बिनी पूर्वदेखि कोशी प्रदेशसम्म तीन दिन घनघोर वर्षा भयो। बिहीबारदेखि शनिबारसम्मको झरीले काठमाडौं उपत्यका जलाम्य बन्यो। रोशी खोलाले नार्के र कलाती बजार नै नष्ट गरायो।
देशभर कम्तिमा १५० जनाको ज्यान जाने गरी बाढी-पहिरोको कहर ल्याउने यो वर्षाको कारण नेपालको आकाशमाथि दुइटा भिन्नाभिन्नै मौसमी प्रणाली आपसमा मिसिनु हो।
त्रिभुवन विश्वविद्यालयको जलवायु तथा मौसम विज्ञानका सह-प्राध्यापक विनोद पोखरेलका अनुसार गत साता बंगालको खाडीबाट पानी पार्ने बादल विकास भएर भारत हुँदै नेपाल सरेको थियो। त्यही बेला अरब सागरबाट पनि उच्च जलवाष्पयुक्त हावा भारत हुँदै नेपाल पस्यो। यो भनेको पानीको मात्रा अत्यधिक भएको हावा हो।
यसरी बंगालबाट आएको बादल र अरब सागरबाट आएको पानीयुक्त हावा मिसिएपछि घनघोर वर्षाको रूप लिएको पोखरेल बताउँछन्।
'एक्कासि विकास भएका दुई मौसमी प्रणालीको मिलनले नेपालको आकाशमाथि घना बादल उत्पन्न भयो,' उनले भने, 'दुवै प्रणाली यस्तरी विकास भए र त्यसले यति ठूलो बादल निर्माण गर्यो, त्यो झट्ट हेर्दा नेपालमै पानी पार्न सोहोरिएजस्तो देखिन्थ्यो।'
मौसमविद् वरूण पौडेल पनि बंगालको खाडी र अरब सागर दुवैतिरबाट आएको उच्च जलवाष्पयुक्त हावा आपसमा मिसिएर घनघोर वर्षा भएको बताउँछन्।
उनका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना टरेको छ। मनसुन लम्बिने संकेत देखिएकाले तत्काल वर्षा साम्य हुने सम्भावना भने छैन। तथापि एकै ठाउँमा ठूलो वर्षा हुने, लगातार झरी परेर जनजीवन अस्तव्यस्त हुने सम्भावना नरहेको उनले बताए।
'मनसुन रहँदासम्म वर्षा हुने सम्भावना छ, तर ठूलो पानी पर्ने अवस्था देखिएको छैन,' उनले भने।
अर्का वरिष्ठ मौसमविद् शान्ति कँडेल पनि अब लगातार झरी र ठूलो पानी पर्ने सम्भावना नरहेको बताउँछिन्।
उनका अनुसार सोमबार र मंगलबार बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मंगलबार कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशको पहाडी भूभागका एकाध ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन्।
'वर्षा थामिए पनि भू-क्षयको जोखिम कायम छ,' उनले भनिन्, 'वर्षाभरि पानी परेर माटो गलेको हुन्छ। यसले भू-क्षयको जोखिममा रहेका स्थानमा पहिरो जाने खतरा रहन्छ। यात्रा गर्दा सावधानी अपनाउनुपर्छ।'
वरिष्ठ मौसमविद् पौडेल पनि रातको समय र पहाडी भेगको यात्रा गर्दा सावधानी अपनाउन सुझाउँछन्।
'सावधानी अपनाउने हाम्रो बानी कम छ। चाडबाड बेला भए पनि मनसुन लम्बिने संकेत देखिइसकेकाले रातको यात्रा गर्नु जोखिमयुक्त नै छ। पहाडी भेगमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ,' उनले भने।
गृह मन्त्रालयका अनुसार यसपटकको अविरल झरीले काठमाडौं उपत्यकामा सबभन्दा बढी क्षति पुगेको छ। उपत्यकामा ५२ जनाको मृत्यु भएको छ भने काठमाडौं, ललितपुर, भक्तपुर बाहेक बागमती प्रदेशका अन्य जिल्लामा ४५, कोशीमा १७, मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ। प्रकोपबाट ६४ जना बेपत्ता भएका छन् भने ६१ जना घाइते छन्।
धादिङ नौबीसेस्थित झ्याप्ले खोलाको पहिरोले कम्तीमा चारवटा सवारी साधन पुरेको आशंका छ। त्यहाँबाट अहिलेसम्म ३५ जनाको शव निकालिएको छ।
मुनसुनको उत्तरार्द्धमा ठूलो जनधन क्षति गराउने मुसलधारे वर्षाको प्रक्षेपण मौसमविद्हरूले एक साताअघि नै गरेका थिए। मुसलधारे पानी पार्ने प्रणाली नेपालतिर सोहोरिएकाले सतर्कता अपनाउन भनेका थिए। जल तथा मौसम विज्ञान विभागले मंगलबार दिउँसो नै बुलेटिन निकालेर ५६ जिल्लालाई 'रेड अलर्ट' मा राखेको थियो। शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रहसमेत गरेको थियो। यति हुँदाहुँदै विपद् रोक्ने पूर्वतयारीका काम समयमा हुन सकेको देखिएन, जसले यति ठूलो जनधन क्षति गरायो।
यसअघि असार २३ र २४ गते सुदूरपश्चिममा पनि यस्तै घनघोर वर्षा भएको थियो। त्यति बेला सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिम भूभाग आसपासको तल्लो वायुमण्डलमा पानी पार्ने घना बादल विकास भएको थियो भने उपल्लो वायुमण्डलमा पनि पानी पार्ने बादल सक्रिय थियो।
अरब सागर र बंगालको खाडी दुवैतिरबाट आएको जलवाष्पयुक्त हावा मिसिँदा कञ्चनपुरको दोधारा केन्द्रमा असार २३ र २४ गते २४ घन्टा अवधिमा ६२४ मिलिमिटर वर्षा भएको थियो। कञ्चनपुरको हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ र सुन्दरपुर केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा भएको रेकर्ड छ। जल तथा मौसम विज्ञान विभागले त्यसलाई 'तराई क्लाउडब्रस्ट' भनेको थियो।
कहाँ-कहाँ भयो 'रेकर्ड ब्रेक' वर्षा?
दुइटा मौसमी प्रणालीले काठमाडौंसहित २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको छ।
काठमाडौंको पानीपोखरीमा २४ घन्टामा २०६.६ मिलिमिटर वर्षा भयो। यो शुक्रबार र शनिबारको रेकर्ड हो। यसअघि २०२८ जेठ ३१ गते १९८ मिलिमिटर वर्षा भएको थियो।
त्यस्तै, काठमाडौं विमानस्थलमा २३९.७ मिलिमिटर पानी परेको छ। त्यहाँ यसअघि २०५९ साउन ७ गते १७७ मिलिमिटर वर्षा भएको थियो।
काठमाडौंकै बूढानीलकण्ठमा पनि रेकर्ड ब्रेक वर्षा भयो। त्यहाँ २४ घन्टाभित्र १७८.३ मिलिमिटर वर्षा भयो। यसअघि १७७ मिलिमिटर वर्षा भएको थियो।
काठमाडौको जितपुरफेदीमा १७८.३ र नागार्जुनमा २०५.४ मिलिमिटर वर्षा भयो। यसअघि जितपुरफेदीमा १२८.२ मिलिमिटर पानी परेको थियो भने नागार्जुनमा १४७.५० मिलिमिटर पानी परेको थियो।
सिन्धुपाल्चोकको बाहुनेपाटीमा पनि रेकर्ड ब्रेक वर्षा भयो। त्यहाँ यसपटक २४ घन्टामा १९०.६ मिलिमिटर पानी परेको थियो। यसअघि १३७.५ मिलिमिटर वर्षा मापन गरिएको थियो।
तनहुँको खैरनीटारमा २४ घन्टामा २५२.३ मिलिमिटर पानी पर्यो। त्यहाँ यसअघि २४१.९ मिलिमिटर वर्षा मापन भएको थियो।
ललितपुरको चापागाउँमा पनि रेकर्ड ब्रेक भयो। यसपटक २४ घन्टामा ३२३.५ मिलिमिटर वर्षा भयो। यसअघि २००.५ मिलिमिटर वर्षा भएको थियो।
यसपटक मकवानपुरको दामनमा ४१० मिलिमिटर पानी परेर रेकर्ड ब्रेक भयो। त्यहाँ यसअघि ३७३.२ मिलिमिटर पानी परेको रेकर्ड छ।
नुवाकोटको ककनीमा पनि २४ घन्टामा १६९.२ मिलिमिटर वर्षा भयो। त्यहाँको अघिल्लो रेकर्ड १६१.० मिलिमिटर थियो।