पहिरोले बाटो अवरुद्ध भएको कारण देखाउँदै छिमेकी चीनले किमाथांका नाकाबाट भइरहेको आवतजावत बन्द गरेको छ।
कोशी प्रदेशमा पर्ने संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर १ स्थित किमाथांका नाका चीन स्वशासित क्षेत्र तिब्बत प्रवेशको एउटा मुख्य नाका हो।
नेपालीहरुले दैनिक उपभोग्य सामानहरु तिब्बतको चाँगा र बेनडन बजारबाट ल्याउने गर्छन्।
शनिबार पहिरोले बाटो अवरोध गरेको र त्यो बाटो खुला नभएसम्म नाकामा आवतजावत रोकिएको चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई जानकारी गराएका छन्।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने ‘चिनियाँ पक्षले पहिरोले बाटो अवरोध गर्यो, हामीले क्लियर नगरेसम्म आवतजावत रोकेका छौं भनेर उताबाट खबर आएको छ। छिटै खुल्छ भन्ने आशा छ।’
खड्काकाअनुसार शनिबार दिउँसो तिब्बती बजारमा किनमेलका लागि पुगेका १६ जना नेपालीमध्ये ८ जनालाई शनिबार साँझ र १० जनालाई आइतबार बिहान चीनले नेपालतिर पठाएको छ।
‘बाटैमा पहिरो खसेको भन्ने उताको भनाइ छ। चीनतिर जाने दुईटा बाटाहरु छन्। चाँगाको मात्रै बाटो बन्द हो कि बेनडन बजारतिर जाने पनि बन्द हो बुझ्न सकिएको छैन,’ उनले भने।
चिनियाँ प्रहरीले इलाका प्रहरी कार्यालय किमाथांकामा आज बिहान ११ बजे यस्तो सूचना पठाएको थियो।