बिपी राजमार्गमा पहिरोका कारणले एम्बुलेन्स रोकिएकाले दुई बिरामीको मृत्यु भएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थिज टुपी डाँडामा शुक्रबारदेखि बिरामी ल्याउँदै गरेको दुईवटा एम्बुलेन्स रोकिएको थियो।
काठमाडौं आउन नपाएपछि दुवै बिरामीको आइतबार साढे ९ बजे मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिलकुमार खड्काले जानकारी दिए।
उनका अनुसार सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बा २१ च ७५२३ नम्बर र ग १ च १७०८ नम्बरको एम्बुलेन्समा दुई बिरामीको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुली कमलामाइ नगरपालिका-४ का मल्ल गाउँबस्ने ९४ वर्षीय टिकाकुमार भुजेल र महोत्तरी बर्दिवास नगरपालिका-८ का ४७ वर्षीय मानबहादुर सुन्जाली हुन्।
भुजेल दमका बिरामी थिए भने सुन्जाली किड्नीसम्बन्धी समस्या भएर उपचारका लागि काठमाडौं ल्याउन लागिएको डिएसपी खड्काले बताए।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाकारण बिपी राजमार्गका सडकहरू अवरूद्ध भएको छ।