बिहीबार रातिदेखि शनिबार बेलुकासम्मको वर्षाले काठमाडौं उपत्यका ठूलो जनधनको क्षति भएको छ।
बाढी, पहिरो र डुबानले सडकदेखि भवनहरूमा क्षति पुगेको छ। काठमाडौंमा मात्रै २० जनाको मृत्यु भएका छन्।
बाढी, पहिरो र डुबानका कारण विभिन्न स्थानमा सडक अवरूद्ध छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारकी अनुसार बिहान ९ बजेसम्म काठमाडौंका ८ स्थानमा सडक अवरूद्ध छ।
कीर्तिपुरको चोभार गेटनजिक बीच बाटोमा २५ देखि ३० वटा रूख ढलेर बाटो अवरूद्ध छ। नागार्जुन नगरपालिका-६ इच्छंकुनारायण मन्दिर नजिक पहिरो जाँदा घरहरू आंशिक पुरिएका छन्।
नागढुंगा-काठमाडौं र धादिङको सिमाना झ्याप्ले खोलामा पहिरो गई गाडीहरू पुरीएको बाटो अवरूद्ध छ। त्यहाँबाट शनिबार रातिसम्म १४ वटा शव निकाली पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
आइतबार बिहान करिब ६ बजे नागमन्दिर नजिक पुनः पहिरो जाँदा बाटो अवरोध भएकोमा ९ बजे मानिस हिँड्नेगरी खुलाइएको डिएसपी अधिकारीले जानकारी दिए। झ्याप्ले खोलामै आइतबार अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको र उक्त बसलाई निकाल्ने प्रयास भइरहेको छ।
अहिले
झ्याप्ले खोलामा बाटो पुर्ण रुपमा अवरूद्ध रहेको उनले जानकारी दिए।
त्यस्तै फर्पिङ क्षेत्रमा बासबारी, हुमाने बिष्णुखोला,लामागाउँ, ९ नं. वडा कार्यलय नजिक, ०८ नं. केरावारी, सल्लेरि डाडा, छैमले माइति खोला,भण्डार खर्क काठमाण्डौ इन हुने तर्फ १५/१६ वटा टाटा सुमो रोकिएका छन्। त्यसका यात्रु सबै हिँडिसकेको र पहिरोका कारण सवारी साधन पूर्ण अवरूद्ध रहेको बताइएको छ।
बल्खुबाट फर्पिङ जाने बाटो दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल हवेली र वडा नम्बर ४ बासबारी गरी दुई ठाउँबाट २ वटा डोजर प्रयोग गरि बाटो खुलाउने पहल भइरहेको छ। फर्पिङ बाट हेटौडा निस्किने बाटो खुलाउने सम्बन्धमा स्थानीय निकाय सँग समन्वय भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।
काठमाडौंकै साँखु - शंखरापुर नगरपालिकाबाट मेलम्ची सिन्धुपाल्चोक जाने बाटो चौकी भन्ज्याङ र नाङ्लेभारे दुवैतिरको बाटो अवरूद्ध छ। चौकि भन्ज्याङ को पहिरो हटाउन लागिएको बताइएको छ।
चन्द्रागिरी नगरपालिका-१ दहचोक खहरेमा ६ बजे पहिरो गई ३ वटा टहरामध्ये किचन भएको टहरो मात्र पहिरोमा परेका छन् । अन्य २ टहरमा मानिसहरू सुरक्षित रहेको डिएसपी अधिकारीले जानकारी दिए।
त्यस्तै चन्द्रागिरी चितलङ् कुलेखानी हुदै हेटैडा जाने सडक खण्डमा पानिघाट देखी सेतोमाटोसम्म ठाँउ ठाँउमा पहिरो खसेको हुँदा सवारी साधन आवत जावत हुन नसक्ने गरी दुबै तर्फको बाटो अबरुद्ध भएको डिएसपी अधिकारीले जानकारी दिए।
पहिरो हटाउनको लागी सडक विभाग र स्थानीय निकायसँग पहल भइरहेको उनले बताए।
बालाजुबाट मुड्खु जाने बाटोमा रुख ढली सवारी अवरोध भएकोमा ८ बजे रुख हटाई सवारी खुलाइएको डिएसपी अधिकारीले जानकारी दिए ।