तीन दिनयता निरन्तर परेको वर्षापछि आएको बाढीमा परेर रूपन्देहीमा एउटा बोलेरो जिपसहित दुई जना बेपत्ता भएको आशंका गरिएको छ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिकाबाट दुध संकलन गरेर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्बरको बोलेरो जिपसहित चालक र सहचालक बेपत्ता भएको रूपन्देही प्रहरीले आशंका गरेको छ।
सम्मरीमाई गाउँपालिका वडा नं ५ मा रहेको तिवारी दुग्ध संकलन तथा वितरण केन्द्रबाट शनिबार बिहान ३ बजे दुध लिएर भैरहवा आउँदै गरेको उक्त जिप गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम किनारमा रहेको घाघरा खोलाको कजवेबाट सम्पर्कविहीन भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
जिपसँगै जिपका चालक सर्लाहीका प्रकाश तामाङ र सहचालक रूपन्देहीको सम्मरीमाईका उमेश लोध पनि सम्पर्कविहीन भएको दुग्ध व्यवसायी फणिन्द्र तिवारीले बताए।
‘उनीहरू विमानस्थल पश्चिम किनाराको कजवेसम्म आएको भनेर सूचना पाएको थिएँ, बिहान कतिबेला आउँछन् भनेर पर्खेर बसेको आएनन् त्यसपछि खोजीका लागि आग्रह गरेको हुँ,’ तिवारीले भने।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिप धनीको सूचनाका आधारमा विमानस्थलको कजवेलाई आधार मानेर खोजी सुरू गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको बताए।
घाघरा खोला कजवेभन्दा ५० मिटर पश्चिमबाट तिनाउ नदीमा मिसिएर बग्ने गर्दछ। तिनाउ नदीमा रातभरको अविरल वर्षाले बाढी आएकोले खोजीमा समस्या भएको प्रहरीको भनाइ छ।
‘विमानस्थलबाट बाहिर निस्कने घोलाको कजवेमा बाढी आएको रहेछ त्यहीबाट जिपसँग बगाएको आशंकामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बिहानैदेखि खोजी गरे पनि केही संकेत फेला परेको छैन,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।