कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गरेका छन्।
शनिबार उनले त्यस्तो आग्रह गरेका हुन्।
केही जिल्लामा मानवीय क्षति भएको सडक, पुलपुलेसा पनि भत्किएको भन्दै प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको पनि उनले बताएका छन्।
‘यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ। त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी छ,’ उनले भनेका छन्, ‘गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रूपमा परिचालन गरिएको छ।’
एनले अहोरात्र सुरक्षाकर्मीहरू उद्धार, खोज, राहत र पुनर्स्थापनामा परिचालित भइरहेको समेत बताएका छन्। कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी स्वःस्फूर्त जुटेको पनि उनले बताएका छन्।
‘यो विषम परिस्थितिमा विपदमा परी ज्यान गुमाउनेहरूमा नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु। साथै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गर्दछु,’ उनले भनेका छन्, ‘मौसमविद्हरूका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिनका लागि अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सबैमा अनुरोध गर्दछु।’