दुई दिनदेखिको अविरल वर्षातले देशभरको जनजीवन प्रभावित बनेको छ। १७ वटाभन्दा बढी नदीले खतराको तह पार गरेर डुबान निम्त्याउन थालेका छन्।
काठमाडौं उपत्यकाका नदी करिडोर जलाम्य बनेका छन्। भारी वर्षाका कारण मकवानपुरस्थित इन्द्रसरोवर जलाशय भरिएपछि एउटा ढोका खोलेर पानीको निकास पठाउन थालिएको छ।
अहिले पनि निरन्तर वर्षा भइरहेको छ। विशेषतः कोशीदेखि लुम्बनीसम्म अति भारी वर्षा भएको छ। सुदूपश्चिम र कर्णाली प्रदेशको पूर्वी भेगमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
मकवानपुरको दामनमा अति भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ३३९.८ मिलिमिटर वर्षा भएको छ।
काभ्रेको खोपासीमा ३१६.६ मिलिमिटर वर्षा भएको छ। ललितपुरको गोदावरीमा २८८.२, लेलेमा २८७.४, हटौंडामा २५६, मनवानपुरको रजैयामा २४९, चिसापानीगढीमा २४६.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको बबरमहलमा २२८.२, त्रिभुवन विमानस्थलमा २०८, कीर्तिपुरमा २२७.८, पानीपोखरीमा १९५.२ मिलिमिटर पानी परेको छ। झापाको चन्द्रगढीमा २९४.८, अनारमनीमा २३५, बाहुनडाँगीमा २१२.४ मिलिमिटर वर्षा भएको छ। इलामको कन्काइमा २५४.२ मिलिमिटर पानी परेको छ।
देशभरका सयभन्दा बढी केन्द्रमा अति भारी वर्षा मान भइरहँदा यो क्रम दुईदेखि तीन घन्टापछि मत्थर हुँदै जाने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए। उनकाअनुसार बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायु कमजोर हुँदै जाने देखिएकाले भारी वर्षा घट्ने संकेत देखिएको हो।
उनका अनुसार आइतबार बिहानसम्म हल्कादेखि मध्यम वर्षा भने जारी नै रहनेछ।