शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्।
तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ।
त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी (मनोहरा) , भक्तपुरको जगाती, कौशलटार (हनुमन्ते), ललितपुरको खोकनामा, रौतहटको पधेरादोभानमा खतराको तह पार गरेको छ।
बाराको महेशपुरमा पसाहा खोला, अरूण नदी धनकुटामा र सुनकोशी नदीले सिन्धुलीमा खतराको तह पार गरेको छ। यी मध्ये केही नदीमा पानीको वहाब अझै बढ्दो छ भने केहीमा स्थिर रहेको महाशाखाले जनाएको छ।
त्यस्तै विभिन्न नदीहरूले चेतावनीको तह पार गरेका छन्।
कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र झापामा विभिन्न नदी तथा खोलाहरूमा पानीको वहाब सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार पनि विशेष बुलेटिन जारी गरेर सतर्क रहन आग्रह गरेको थियो।