सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्याइएको छ।
मंगलबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय पुर्याइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए।
'आजबाट बयान सुरू भएको छ, कहिले सकिन्छ भन्न सकिँदैन,' उनले भने।
जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो।
जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई बुद्ध एयरको जहाजबाट आइतबार राति नै पोखरा पुर्याइएको थियो।
संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।
गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।