क्रिप्टो करेन्सीका कारोबारीलाई नियन्त्रणमा लिएर छाडेको घटनामा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी प्रजित केसीको नेतृत्वमा बनेको समितिले सोमबार एआइजी किरण बज्राचार्यलाई प्रतिवेदन बुझाएको हो। केसी नेतृत्वको समितिमा डिएसपी सुवास खड्का र प्रहरी निरीक्षक सरोज राई सदस्य थिए।
कार्यालयका प्रवक्ता एवं एसएसपी विनोद घिमिरेका अनुसार घटनामा प्रहरी कर्मचारीको कमीकमजोरी देखिएको औंल्याएको छ।
‘यस घटनामा कमीकमजोरी देखिएको छ। आज प्रतिवेदन बुझाएको छ। यसबारे थप कारबाहीका लागि हामी भोलि परिसरमा पठाउँछौं,’ एसएसपी घिमिरेले भने।
उक्त समितिले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मामाथि ठगी मुद्दा चलाउन सिफारिस गरेको हो। प्रहरी हवल्दार खड्का परिसरको मुद्दा शाखामा कार्यरत थिए।
यस्तै, प्रहरी निरीक्षक प्रतीक सिंहलाई पनि समितिले सचेत गराउन सिफारिस गरेको हो।
परिसरमा कार्यरत हवल्दार खड्काले शंकास्पद व्यक्तिसँगको मिलेमतोमा क्रिप्टो करेन्सीको कारोबारीलाई नियन्त्रणमा लिएर पुन:छाडेको आरोप लागेको थियो।
यस क्रममा प्रहरी समेतको मिलेमतोमा आरोपितकै परिवारसँग ५० लाख असुल गरेको आरोप लागेको थियो। यसबारे खुलेपछि परिसरले आन्तरिक रूपमै छानबिन थालेको थियो। पछि कार्यालयले यसबारे अनुसन्धान गर्न केसीको नेतृत्वमा समिति गठन गरेको थियो।
उक्त समितिले भदौ २४ गतेदेखि काम थालेको हो।
घटना के हो?
तेजबहादुर तामाङ र आशिष आचार्य क्यानडामा बसोबास गर्दै आएका थिए। उनीहरू दुबै जना सँगै बस्ने साथीहरू हुन्।
केही समयअघि भने दुबै जना नेपाल आएका थिए। तेज बहादुरको चिनजान जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार गणेश खड्कासँग थियो। त्यही चिनजानको आधारमा तेजबहादुरले गणेशलाई आशिष क्रिप्टो कारोबारी भएको बताएका थिए।
‘क्रिप्टो कारोबारी हो भनेर साथीले नै प्रहरीलाई सूचना दिएका छन्,’ एसपी केसीले भने, ‘फेरि सूचना पाएपछि आशिषलाई पक्राउ गर्न शुक्रबारको दिन रोजिएको छ।’
एसपी केसीका अनुसार भदौ १४ गते शुक्रबार हवल्दार खड्का बिदामा थिए। तर उनैले आशिषलाई क्रिप्टो कारोबारी भन्दै पक्राउ गरे।
कुनै पनि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर २४ घण्टाभन्दा बढी राख्न पाइँदैन। त्यस समयभन्दा बढी राख्नुपरे अदालतबाट म्याद थप्नुपर्ने कानुनी व्यवस्था छ।
त्यसैलाई छल्न खड्काले आशिषलाई शुक्रबार नियन्त्रणमा लिएको देखिएको हो। शुक्रबार नियन्त्रणमा लिएपछि शनिबार अदालत बन्द हुने भएकाले थप एक दिन नियन्त्रणमा लिनसक्ने गरी हिरासतमा लिएको समितिले औंल्याएको छ।
पक्राउ गर्नमा हवल्दार खड्कासँगै प्रहरी जवान साजन शर्मा समेतको मिलेमतो देखिएको औंल्याएको छ।
यसरी प्रहरीले नियन्त्रणमा लिएपछि यता तेज बहादुरले भने परिवारसँग बार्गेनिङ थालिसकेका थिए। ५० लाख भए छुटाइदिने भनेर परिवारसँग बार्गेनिङ गरिरहेका थिए।
यता प्रहरी हवल्दारले भने विशेष चासोका साथ यस घटनालाई नियालिरहेका थिए। यस घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक प्रतीक सिंह मुद्दा शाखामा कार्यरत थिए।
उनलाई यस घटनामा क्रिप्टोको कारोबार क्यानडामा मात्रै देखिएको र आइन्दा यस्तो नगराउने शर्तमा छोड्न खड्काले मनाएको देखिएको हो।
‘आशिषलाई नियन्त्रणमा लिएपछि म्याद थप नगरी आइतबार भदौ १६ गते साँझ ६ बजे पखमात्रै छाडिएको छ। यसरी छाड्नको लागि हवल्दारले प्रहरी निरीक्षकलाई पूरै घुमाएको देखिन्छ,’ उनले भने, ‘प्रहरी निरीक्षक नयाँ मान्छे हुन्। हवल्दार लामो समयदेखि कार्यरत थिए। त्यसैको फाइदा उठाएर उनलाई गुमराहमा राखेको देखियो।’
आइतबार साँझ ६ बजे आशिष उनको परिवारको जिम्मामा लगाएको देखिएको थियो। यसरी जिम्मा लगाएको केही दिनपछि भने आशिषका परिवार सदस्यले प्रहरीको मिलेमतोमा ५० लाख खाएर कसरी ‘राम्रो नियत’ भयो भन्दै परिसरमा पुगेका थिए।
त्यसपछि भने प्रहरीले यस घटनाबारे अनुसन्धान सुरू भएको हो। घटनाबारे बाहिरिँदा तेजबहादुर र आशिष दुबै जना क्यानडा फरार भइसकेका थिए।
केसी नेतृत्वको छानबिनबाट तेजबहादुरले ५० लाख नगद लिएको खुलेको छ।
‘म्याद थप समेत गर्ने भनेर पक्राउ पुर्जी दिने, कागजात तयार गर्ने सबै गरेको देखिन्छ। तर अन्तिममा ६ बजेतिर गणेशले गएर छोडिदिऊँ भन्ने भाष्य निर्माण गरेर छाड्न लगाएको देखियो,’ उनले भने, ‘गणेशले सिधै रकम लिएको देखिएको छैन। यस छानबिनले बाटो देखायो।’
उनका अनुसार ५० मध्ये ३५ लाख रुपैयाँ तेज बहादुरले आफ्नो बैंक खातामा राखेका छन्। उक्त रकम अहिले रोक्का गरिसकेको छ। १५ लाख लिएर भने उनी गणेशलाई भेट्न गएको देखिएको छ। तर खड्काले पैसा लिए/नलिएको खुलेको भने छैन।
यस घटनाबीच गणेश, तेजबहादुर र साजन शर्माबीच बारम्बार फोनमा कुराकानी भएको समेत फोन रेकर्डबाट देखिएको छ।
समितिले ठगी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेपछि कारबाहीका लागि परिसरलाई कार्यालयले लेखी पठाउने निर्णय गर्नेछ।
यो पनि: शंकास्पद कारोबारीसँग 'कनेक्सन' रहेको आशंकामा प्रहरी कर्मचारीमाथि छानबिन हुँदै
क्रिप्टो कारोबारी ‘छाडेको’ घटना: एसपी केसी नेतृत्वको छानबिन समितिले थाल्यो काम