सुर्खेतमा पनि सांकेतिक भाषाहरूको दिवस मनाउन थालिएको छ।
यही असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषाहरूको दिवस सुर्खेतमा पनि मनाउन थालिएको हो।
सुर्खेतमा भेरी बहिरा संघले र्याली निकालेर दिवस मनाउन लागेको हो।
र्यालीमार्फत् सुनाइसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई भएको सञ्चारको समस्याबारे समाजलाई अवगत गराइने भेरी बहिरा संघका अध्यक्ष नम्रता भारतीले जानकारी दिइन्।
यदि सांकेतिक भाषा जानेका दोभाषेकर्ता भएमा बहिरा व्यक्तिले पनि अरूसरह आफ्ना कुरा राख्न सक्छन् भन्ने दिवसलक्षित र्यालीमार्फत् देखाइने उनले बताइन्।
बहिरा व्यक्तिले केही गर्न सक्दैनन् भन्ने समाजको भ्रम हटाउनु आवश्यक रहेको अध्यक्ष भारतीले बताइन्।
दिवसका अवसरमा सोमबार १० बजेदेखि वीरेन्द्रनगरमा र्याली निकालिने छ।
उक्त र्यालीमा सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिलगायत विविध अपांगता भएका व्यक्ति तथा सरोकारवालाहरू सहभागी हुनेछन्।
संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय गरेको थियो। युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।
सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउन दिवसलाई महत्वपूर्ण मानिएको छ।
तथ्याङ्कअनुसार विश्वभर करिब ७ करोड मानिस सुनाइसम्बन्धी अपांगता भएका छन्। २०७८ को गनगणनाअनुसार नेपालमा ५१ हजार ३७३ नागरिकमा यस्तो खालको अपांगता छ। तथ्याङ्क विश्लेषणअनुसार नेपालमा ९ हजार ६५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ।