शनिबारको दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा म प्रायः घरमै हुन्छु। त्यो शनिबार भने कालिमाटी चोकमा थिएँ। स्कुटरमा सवार।
२०७२ वैशाख १२ गते गोरखा, बारपाकबाट छुटेको भू-तरंगले जसै काठमाडौंको भुइँ छोयो, कालिमाटीमा गुडिरहेको हाम्रो स्कुटर ढलपल नाच्न थाल्यो। हामी सडकमा डङरङ्ग पछारियौं।
थुप्रै झट्का सनन्न आइरहे। हामीलाई लगातार तर्साइरहे। हामी न घर फर्कन सक्यौं, न अगाडि बढ्न। निकै बेर कालिमाटी चोकमै डल्लो परेर बस्यौं।
त्यहाँ अरू पनि थुप्रै थिए। सबका सब आत्तिएका।
कहाँ के क्षति भयो, कसैलाई थाहा थिएन। सबका सब बेखबर।
त्यही बेला एउटा यस्तो हल्ला फैलियो, जसको कम्पन भुइँचालोको झट्काभन्दा कम थिएन।
भुसको आगोझैं फैलिएको र धेरैको तनमनमा सिहरन जगाएको त्यो हल्ला थियो – धरहरा त ढल्यो रे नि!
धरहरा ढलेको खबरले हामीलाई भुइँचालोको शक्ति नाप्ने आधार दियो। हामीलाई थाहा थियो– नब्बे सालको भुइँचालोमा धरहरा ढलेको थियो। त्यसको सय वर्षअगाडि पनि धरहरा ढल्ने गरी भुइँचालो गएको हामीले सुनेका थियौं।
यसपालि त्यही घटना दोहोरिनुले नब्बे साल जत्तिकै ठूलो भुइँचालो गएको हुनुपर्छ भन्ने हामीले अड्कल काट्यौं।
त्यसपछिका दिनमा धरहराको भग्नावशेष भुइँचालो कहरको प्रतीक बन्यो। आकाश छुँलाझैं अग्लिएको धरहरा माटोमा मिलेको दृश्य देखेर हामी हतास हुन्थ्यौं। जब–जब हामी सुन्धारा क्षेत्र पुग्थ्यौं, खिङरिङ्ग परेको ठुटे धरहराले मन कुँडिएर आउँथ्यो, हामीलाई वैशाख १२ को याद दिलाउँथ्यो।
अहिले धरहरा फेरि ठडिएको छ – पहिलेको जस्तै आवरण, तर पहिलेको भन्दा भिन्न रूपमा।
नयाँ धराहरा बनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी सुशील ज्ञवालीले हामीलाई नवनिर्मित धरहराको भिडिओ टूर गराएका थिए। उनले बीसौं तलाको बार्दलीमा उभिएर भिडिओ अन्तर्वार्ता दिँदै हामीलाई धरहरामुनि बन्दै गरेको ४२ रोपनीको सुन्धारा पार्क देखाएका थिए।
र, रानीपोखरीदेखि रंगशालासम्मको दृश्य औंल्याउँदै त्यहाँ बन्ने बृहत् टुँडिखेल र धरहरा पछाडि लमतन्न फैलिएको मध्य–काठमाडौंको मास्टरप्लान विस्तार लगाएका थिए।
भिडिओ टूर सुरू गर्नुअघि एकछिन हामी धरहराको इतिहास हेरौं।
बिक्रम सम्बत् १८८० दशकमा काठमाडौंमा दुईवटा धरहरा निर्माण गरिएको बेलायती रेजिडेन्ट ब्रायन हड्सनले आफ्नो संस्मरणात्मक नोटमा उल्लेख गरेका छन्। उनले १८७७ देखि १९०० सम्म काठमाडौंमा बसेर काम गरेका थिए।
हड्सनका अनुसार नेपालका तत्कालीन मुख्तियार भीमसेन थापाले पहिलो धरहरा आफ्नै नाममा बनाएका थिए, जुन उनकै निवास बागदरबारको आँगनमा थियो। बागदरबारलाई त्यति बेला ‘जनरल वाग’ भनिन्थ्यो र त्यहाँको धरहरालाई ‘जनरल धरहरा’ भनेर चिनिन्थ्यो।
योभन्दा अग्लो र फराकिलो धरहरा बागदरबारको उत्तरपट्टि अहिलेको ठाउँमा थियो, जसलाई उपल्लो धरहरा भनिन्थ्यो। राजा रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरासुन्दरीका नाममा समर्पण गरिएकाले यसलाई ‘महारानी धरहरा’ पनि भन्ने गरिन्थ्यो।
यी दुईमध्ये पहिलो धरहरा विक्रम सम्बत् १८८२ र दोस्रो १८८९ मा निर्माण भएको हुनसक्ने हड्सनले लेखेका छन्।
बेलायती पुस्तकालयमा रहेको हड्सनको नोट उद्धृत गर्दै लेखक माइकल हट लेख्छन्, ‘१८९० सालको भुइँचालोले बागदरबारको जनरल धरहरा पूर्ण रूपमा नष्ट गर्यो, जसको पुनर्निर्माण कहिल्यै भएन। महारानी धरहरा भने आधा मात्र ढलेको थियो, जसलाई तुरुन्तै जीर्णोद्धार गरेर फेरि ठड्याइयो।’
त्यति बेलासम्म नेपालको राजनीतिमा भीमसेन थापाको रजगज घटिसकेकाले उनको नामको धरहरा बनाउन कसैले वास्ता नगरेको र रानी त्रिपुरासुन्दरीलाई समर्पित धरहरा मात्र पुनर्निर्माण गरिएको हड्सनको भनाइ छ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाले पनि बागदरबारको धरहरा १८९० को भुइँचालोपछि पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हराएको उल्लेख गरेका छन्।
उनका अनुसार पहिलो धरहरा १८८१ मा बनेको थियो। त्यो देखेर रानी ललित त्रिपुरासुन्दरीले त्यस्तै धरहराको इच्छा राखिन्। उनलाई खुसी पार्न भीमसेन थापाले १८८२ मा सुन्धारा (लुँहिति) निर दोस्रो धरहरा निर्माण गराएको पुरुषोत्तमशमशेरले आफ्नो किताबमा लेखेका छन्।
दोस्रो धरहरा सय वर्षपछि १९९० सालको भुइँचालोमा फेरि ढलेको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले पहिलेको ११ तलालाई नौ तलामा सीमित गरी पुनर्निर्माण गराएका थिए। काठमाडौं अवलोकन गर्न मिल्ने बार्दली बनाइएको त्यति बेलै हो। भीमसेन थापाले बनाउँदा बार्दली थिएन।
प्राधिकरणले भीमसेन थापा पालाको ११ तला ब्युँताएको छ, जुन भित्र २२ तलाको छ। बाहिरबाट देखिने प्रत्येक एक तला बराबर भित्र दुई तला हुन्छ।
भारतको कुतुब मिनार वा ताजमहल मिनारको झल्को आउने गरी मुगल शैलीमा निर्माण गरिएको धरहरासँग काठमाडौंको कुनै सांस्कृतिक सम्बन्ध छैन। त्यही भएर यहाँको सांस्कृतिक इतिहासबारे गहिरो खोज गरेकी मेरी स्लसरले आफ्नो अनुसन्धनात्मक कृति ‘काठमाडौं मण्डल’ मा धरहराबारे एक अनुच्छेदभन्दा बढी लेख्न जरूरी ठानिनन्। त्यो एक अनुच्छेदमा उनले यो स्तम्भलाई ‘मुगल आर्किटेक्चरको झूर नक्कल’ भनेकी छन्।
सन् १९१२ मा काठमाडौं घुम्न आएका बेलायती कला इतिहासकार पर्सी ब्राउनले पनि धरहरालाई काठमाडौंका अन्य संरचनाको दाँजोमा ‘कम आकर्षक’ भनेका छन्। ‘कुनै खास कारणविना अस्वाभाविक रूपले निर्माण गरिएको देखिन्छ,’ ब्राउनलाई उद्धृत गर्दै माइकल हट लेख्छन्।
धरहरा बन्नुका पछाडि कारण नै नभएको चाहिँ होइन।
भीमसेन थापाले नेपाली वास्तुशैलीभन्दा भिन्न र नेपालमा सम्भवतः त्योभन्दा अगाडि कहिल्यै नबनेको यति अग्लो मिनार निर्माण गर्नुमा राजनीतिक उद्देश्य छ।
विक्रम सम्बत् १८७० को दशक नेपाल राज्यको निम्ति पराजय र निराशाको समय थियो। १८७१ देखि दुई वर्ष चलेको अंग्रेजसँगको लडाइँ हारेपछि नेपालले १८७३ मा इष्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि गर्नुपरेको थियो, जसअनुसार नेपालले आफ्नो अधीनमा रहेको एकतिहाइ भू–भाग गुमायो।
यति मात्र होइन, पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारको जुन अभियान सुरू गरेका थिए, त्यसमा करिब ७० वर्षपछि पहिलोपटक सुगौली सन्धिले विराम लगाइदियो।
यो हारले नेपालका तत्कालीन शासकहरूको राजनीतिक महत्वाकांक्षामा ठूलो चोट पुग्यो।
यस्तो बेला तत्कालीन समयका शक्तिशाली मुख्तियार भीमसेन थापाले राजधानीको मूलबस्तीछेउ सारा जनताले शिर ठाडो पारेर हेर्नुपर्ने गरी अग्लो मिनार निर्माण गराए।
अस्थिर समयमा यति ठूलो स्तरको निर्माण गर्नुका पछाडि भीमसेन थापाका दुइटा राजनीतिक मनसाय हुन सक्छन्।
उनले अंग्रेजसँगको हार र राज्य विस्तार अभियान हठात् रोकिएर धर्मराएको तत्कालीन शासकीय मनोबल धरहराको उचाइमा समेट्न खोजेका हुन सक्छन्। वा, आमजनतालाई ‘जस्तोसुकै प्रतिकूल अवस्थामा हाम्रो राष्ट्रिय स्वतन्त्रता, अखण्डता र गोर्खाली स्वाभिमान उच्च छ’ भन्ने सन्देश दिनु पनि उनको मनसाय हुन सक्छ।
त्यति बेला धरहराको एउटै प्रयोजन भनेको यसको टुप्पोबाट बिगुल फुकेर सेनालाई टुँडिखेलमा एकत्रित गराउनु थियो। यसले पछिसम्मै निरन्तरता पाउँदै आयो। यो सैन्य अभ्यास फेरि ब्युँताउने प्राधिकरणको तयारी छ।
काठमाडौंसँग सांस्कृतिक सम्बन्ध नभए पनि र जुन उद्देश्यका लागि निर्माण गरिएको भए पनि भीमसेन थापाको धरहरा करिब दुई सय वर्षदेखि सहरको शोभा बनेको थियो। पछिल्लो समय यसले २०७२ वैशाख १२ को भुइँचालो सम्झाउने प्रतीकको रूप पनि धारण गरेको छ।
तर अब यसको परिचय भुइँचालो प्रतीकमा मात्र सीमित रहने छैन। नयाँ पुस्ताले यसलाई शासकीय मनोबल उच्च राख्ने स्तम्भका रूपमा पनि ग्रहण गर्ने छैनन्।
भुइँचालोपछि जसरी पुनर्निर्माण गरियो, त्यसले धरहरालाई नयाँ परिचय दिने प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी ज्ञवाली बताउँछन्।
उनका अनुसार यो ठाउँले अब ४२ रोपनी क्षेत्रमा फैलिएको खुला सार्वजनिक स्थलको रूप लिनेछ, जहाँ काठमाडौंका जनताले खुला हावामा सास फेर्न पाउनेछन्।
अब हामी ज्ञवालीसँग भिडिओ टूर गर्दै सार्वजनिक पार्क बन्दै गरेको धरहरा क्षेत्र अवलोकन गरौं।
नयाँ बन्ने धरहरालाई लिएर धेरै टीकाटिप्पणी सुनिन्छ। अभियन्ताहरूले ‘झिल्के टावर’ भनेका छन्। पुनर्निर्माणका नाममा व्यापारिक कम्प्लेक्स चलाउन खोजेको आरोप पनि छ। ज्ञवालीले ती सबै आरोपको खण्डन गरे।
‘यहाँ धरहरा मात्र पुनर्निर्माण भइरहेको छैन। पहिले धरहराले ओगटेको क्षेत्र जम्मा चार रोपनी थियो। अहिले हामी दस गुणा विस्तार गरेर ४२ रोपनीको खुला हरित पार्क निर्माण गर्दैछौं,’ उनले भने, ‘यहाँ व्यापारिक कम्प्लेक्स बन्छ वा पसल चलाउन भाडामा दिइन्छ भन्ने सबै हल्ला निराधार हो। यहाँ धरहरा घुम्न आउनेहरूको निम्ति क्याफेबाहेक अरू कुनै पसल वा व्यावसायिक स्थल निर्माण हुने छैन। यहाँ हरित पार्क, भुइँचालो संग्रहालय र टक्सार संग्रहालय मात्र रहनेछन्।’
जमिन माथि–माथि पार्क बनाएर मुनि–मुनि तीन तलाको पार्किङ बनेको उनले जानकारी दिए।
प्राधिकरणले नयाँ धरहराको छेवैमा पुरानो धरहराको ठुटो जस्ताको तस्तै राखेको छ। यसलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाले छोपेर राखिनेछ। धरहरा ढल्दा ज्यान गुमाएकाहरूको नाउँ कुँदेर ‘मेमोरियल’ पनि निर्माण गरिनेछ।
नयाँ धरहराको बाहिरी ‘आउटलुक’ जस्ताको तस्तै रहे पनि निर्माण शैली भने फरक छ। विगतमा सुर्खीचुना प्रयोग गरिएको थियो। यसपालि ‘कंक्रिट’ प्रयोग गरिएको छ।
यसरी ऐतिहासिक संरचनाको शैली किन फेरियो त?
मेरो यो प्रश्नमा ज्ञवालीले भने, ‘सुर्खीचुना प्रयोग गर्दा दुई–दुईचोटि धरहरा ढलेको इतिहास छ। काठमाडौंको भूगोलमा धरहराजस्तो टावर सुरक्षित छैन भन्ने यसले पुष्टि गर्छ। त्यसैले, यसलाई फेरि बनाउने कि नबनाउने भन्नेमै धेरै विवाद भयो। लामो छलफलपछि हामीले ऐतिहासिक संरचना पुनर्स्थापित त गर्ने तर फेरि अर्को भुइँचालो जाँदा ढल्ने जोखिम कम होस् भनेर भूकम्प प्रतिरोधात्मक आधुनिक शैलीमा बनाउने निर्णय गर्यौं।’
‘पुरानै शैलीमा बनाएर जोखिम मोल्ने कि सम्पदाको मर्म रहने गरी भुइँचालो प्रतिरोधक बनाउने भनेर विकल्प छान्दा हामीले दोस्रो विकल्प रोज्यौं,’ उनले भने, ‘सम्पदा संरक्षणको मान्यताले पनि पुरानै सामग्री प्रयोग गरेर बनाउन सकिन्न भने आवरण जस्ताको तस्तै राखेर आधुनिक शैलीमा जान सकिन्छ भन्छ।’
आधुनिक शैलीमा बनेपछि केही सुविधा थपिएका छन्। मुख्य भिन्नता यसको भूमिगत संरचना हो।
नयाँ धरहरामुनि दुई तला ‘अन्डरग्राउन्ड’ हुनेछ। सुरूमा ‘अन्डरग्राउन्ड’ झरेपछि बल्ल धरहरा चढ्ने ठाउँ पुगिन्छ। पहिले यहाँ खुड्किला मात्र थिए, अब दुईवटा लिफ्ट थपिएका छन्। एउटा लिफ्टले आठ जनालाई माथि चढाउँछ, अर्कोले आठ जना ओराल्छ। यसले धरहराको चौडाइ पहिलेभन्दा फराकिलो छ। बीसौं तलामा ‘अब्जरभेसन डेक’ छ, जहाँबाट सहरको दृश्य हेर्न सकिन्छ।
फराकिलो धरहरा झट्ट हेर्दा पहिलेभन्दा होचो हो कि भन्ने भान पर्छ। मैले ज्ञवालीलाई सोधेको थिएँ, ‘मलाई त पहिलेभन्दा होचो लाग्यो नि?’
‘त्यस्तो देखिएको मात्र हो,’ उनले भने, ‘पहिले खुड्किलो मात्र भएकाले पातलो थियो, अहिले लिफ्ट पनि थपिएकाले चाक्लो छ। त्यसैले होचो देखिएको होला।’
उनका अनुसार, नयाँ धरहराको उचाइ गजुरसहित ८६ मिटर छ, जबकि पहिले ६२ मिटर थियो। भूमिगत तलासमेत जोड्दा ९४ मिटर पुग्छ।
भूमिगत दुई तलामा धरहराको इतिहास झल्किने सूचना सामग्रीहरू राखिनेछन्। यसले नयाँ पुस्तालाई धरहरा कसरी बन्यो, कुन–कुन बेला कसरी ढल्यो भन्ने इतिहास बुझाउँछ। मिनी–थिएटर पनि रहनेछ, जहाँ धरहरासम्बन्धी श्रव्यदृश्य सामग्री देखाइनेछ।
त्यस्तै, सूचना केन्द्र, पर्यटकलाई धरहराका चिनो बेच्ने ‘सोभिनियर’ पसल र धरहरा चढ्नेहरूले फोटो खिच्ने स्टुडियो हुनेछ।
तपाईंहरूले दुबईको बुर्ज खलिफा, न्यूयोर्कको इम्पायर स्टेट बिल्डिङ लगायत अग्ला–अग्ला टावरहरू चढ्नुभएको भए याद होला, त्यहाँ टुप्पोमा पुगेपछि खिचिक्क फोटो खिचिदिने मान्छे आउँछन्। तल झरेपछि फ्रेममा सजाइएको फोटो किन्न पाइन्छ। टावरकै आकृतिका ‘सोभिनियर’ बेच्ने पसलहरू पनि हुन्छन्। धरहराको ‘अन्डरग्राउन्ड’ मा ठ्याक्कै त्यस्तै बनाउने योजना छ।
ऐतिहासिक महत्व जीवित राख्न पुरानो गजुरको बचेको हिस्सा नयाँमा पनि प्रयोग गरिएको ज्ञवाली बताउँछन्।
धरहराको गजुर २८ फिट ९ इन्च अग्लो छ। त्यसमध्ये बुधबार राखिएको सबभन्दा माथिल्लो चुच्चो २ फिटको छ। सम्पूर्ण गजुरको तौल ३२० किलो छ, जसमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ। पुरानो गजुरको भाँच्चिएको टुक्राबाट २० तोला ३ लाल सुन झिकेर पुनः प्रयोग गरिएको छ।
धरहराको संरचनापछि अब हामी ज्ञवालीले वर्णन गरेको ४२ रोपनीको सुन्धारा पार्क कस्तो हुनेछ, त्यो हेरौं।
धरहरा वरिपरि केटाकेटी खेल्ने बगैंचा बन्छ। मान्छेहरू सुस्ताउने ठाउँ बन्छ। करिब ५० फिट अग्लो पानीको फोहोरा बन्छ। शौचालय र सानो खालको क्याफे पनि बन्छ।
टक्सार विभाग भएको ठाउँमा चार तलाको भवन बन्दैछ। त्यो पनि व्यापारिक कम्प्लेक्स होइन। तल्लो दुई तलालाई ‘टक्सार संग्रहालय’ बनाइनेछ, जहाँ पुराना सिक्का र ती सिक्का कसरी बनाइन्थ्यो भनी प्रदर्शन गरिन्छ। सिक्का छाप्ने पुराना मेसिनहरू पनि प्रदर्शनमा राखिनेछन्।
यसैको माथिल्लो दुई तलालाई ‘भुइँचालो संग्रहालय’ मा विकास गरिनेछ। यहाँ भुइँचालोका अवशेष सुरक्षित राखिनेछ। केटाकेटीलाई भुइँचालो कसरी जान्छ भनेर सचित्र जानकारी दिइनेछ।
संग्रहालयकै एउटा भागमा भुइँचालो अनुभव गर्ने कोठा हुन्छ। कति म्याग्निच्यूडको भुइँचालो जाँदा जमिन कसरी हल्लिन्छ, कस्तो आवाज आउँछ भनेर प्रत्यक्ष अनुभव गर्न पाइन्छ। केटाकेटीको निम्ति यो अनुभव रोचक हुनेछ। विदेशतिर पनि विज्ञान संग्रहालयहरूमा भुइँचालो कम्पन वा हावाहुन्डरीको वेग अनुभव गर्ने ठाउँ बनाइएको हुन्छ।
धरहरा कसरी ढल्यो, काठमाडौंका अरू संरचना कसरी ढले र गाउँ–गाउँमा घरहरू कसरी ध्वस्त भए भन्ने देखाउन भिडिओ र तस्बिर प्रदर्शन गरिनेछ। राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापना गतिविधि देखाइनेछ। भुइँचालो प्रतिरोधक घरका मोडल र बनाउने उपाय पनि प्रदर्शन गरिनेछ।
टक्सारपछि कुरा आउँछ, हुलाकको।
प्राधिकरणले हुलाक कार्यालय भत्काएर तीन तलाको ‘अन्डरग्राउन्ड’ पार्किङ बनाउँदैछ। पार्किङमाथि जमिनको सतहमा कुनै घर बन्दैन। यहाँ मुनिमुनि पार्किङ हुन्छ, माथिमाथि पार्क।
धरहरा र सुन्धारा पुनर्निर्माण योजनाले काठमाडौंको सांस्कृतिक मार्ग ‘उपाकू’ लाई पनि समेटेको छ। इन्द्रजात्रा बेला वर्षभरि मृत्यु भएका आफन्तको आत्मालाई शान्ति मिलोस् भनेर काठमाडौंको प्राचीन सहर परिक्रमा गर्ने चलन छ, जसलाई ‘उपाकू’ यात्रा भनिन्छ। सुन्धारा यही मार्गमा पर्छ। नयाँ धरहराले उपाकू मार्ग मिचेको भन्दै विरोध भएको थियो।
‘जब हामी धरहरा वरिपरि कुनै व्यापारिक संरचना बनाउँदै छैनौं भने उपाकू मार्ग मिच्ने वा मास्ने त कुरै आउँदैन। पुरानो धरहराको अवशेष र नयाँ धरहराको बीचबाट उपाकू मार्ग जान्छ, जो समग्र सुन्धारा क्षेत्रको अभिन्न हिस्सा हो,’ ज्ञवालीले भने, ‘हामी यहाँ उपाकू मार्गको महत्व र इतिहास खुल्ने सूचना बोर्डहरू पनि राख्दैछौं, ताकि पर्यटकलाई काठमाडौंको यो सांस्कृतिक उत्सवबारे जानकारी होस्।’
यो मास्टरप्लानले लुँहिति, अर्थात् सुन्धारा पनि समेटेको छ। यसलाई पुरानै स्वरूपमा ब्युँताउन तीनवटा विकल्पमा छलफल भइरहेको ज्ञवालीले जानकारी दिए।
एक, यही ठाउँमा बोरिङ गरेर भूमिगत पानी प्रयोग गर्ने।
दुई, मेलम्चीको खानेपानी पाइपलाइन जोडेर आपूर्ति गर्ने।
तीन, बर्खा बेला टुँडिखेलमा जम्मा हुने भूमिगत पानी प्रशोधन गरी यहाँ पठाउने।
‘जुनसुकै विकल्प अपनाएर भए पनि सुन्धारालाई विगतमा जस्तै बाह्रै महिना, चौबीसै घन्टा कलकल पानी आउने लुँहितिका रूपमा पुनर्स्थापना गर्नेछौं,’ उनले भने।
सुन्धारा मास्टरप्लानमा काठमाडौं मल रहेको कर्मचारी सञ्चय कोष भवन पनि पर्छ। यसलाई धरहरा घुम्न आउने पर्यटकको खानपिन र किनमेल थलोका रूपमा विकास गरिनेछ। यसको निम्ति अहिलेका पसल हटाएर काठमाडौं मललाई नयाँ ढंगले सञ्चालन गरिनेछ।
यहाँ अब पर्यटकलाई चाहिने पसल, फुड कोर्ट, सूचना केन्द्र लगायत सुविधाहरू हुनेछन्। यसो गर्दा सञ्चय कोष भवन पनि धरहरा र सुन्धाराको मर्मसँग जोडिने ज्ञवालीको भनाइ छ।
योजना यति मात्र छैन। सुन्धारा क्षेत्र एकातिर रानीपोखरीदेखि रंगशालासम्म फैलिएको बृहत् टुँडिखेलसँग जोडिन्छ भने अर्कातिर काठमाडौंको प्राचीन बस्ती छ। प्राधिकरणले यी सबैलाई आपसमा जोड्न छुट्टाछुट्टै मास्टरप्लान तयार पारेको छ।
यसअनुसार सुन्धारा क्षेत्रबाट संकटा मन्दिर रहेको टेबहालसम्म पुग्ने बाटो परम्परागत ढाँचामा पुनर्निर्माण गरिनेछ। खिचापोखरीतर्फको बाटो पनि परम्परागत ढाँचामै बन्नेछ। यहाँबाट न्यूरोड हुँदै ‘सम्पदा सहर’ को यात्रा सुरू हुन्छ।
सुन्धारा वरिपरिका निजी घरको बाहिरी मोहडा पनि परम्परागत ढाँचामा ढालेर यो पूरै क्षेत्रलाई प्राचीन ‘आउटलुक’ दिने योजना रहेको ज्ञवालीले बताए।
‘सुन्धारा पुनर्निर्माण सकिनेबित्तिकै काठमाडौंको मुटुमा ठूलो क्षमताको पार्किङ स्पेस खुल्छ। लगत्तै हामी न्यूरोड, खिचापोखरी, वसन्तपुरसहित वरपरको क्षेत्र सवारीमुक्त घोषणा गर्न सक्छौं,’ ज्ञवालीले भने।
उनले रानीपोखरीदेखि रंगशालासम्म फैलिएको बृहत् टुँडिखेलको स्वरूप र काठमाडौं मध्य–सहरको वैभव ब्युँताउने योजना पनि वर्णन गरे, जुन तपाईं भिडिओमा हेर्न र सुन्न सक्नुहुन्छ।
यसको विस्तृत विवरण तलका लिंकमा छन्ः