रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित ‘शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था’ ले खानेपानी वितरणबाटै वार्षिक साढे तीन करोड रूपैयाँ बचत गर्ने गरेको छ। उक्त बचत रकमबाटै यो संस्थाले सामाजिक काम गरिरहन्छ।
संस्थाका अध्यक्ष झवीन्द्र भण्डारीका अनुसार यो संस्थाको नाममा अहिले साढे २७ करोड रूपैयाँ बचत जम्मा छ। आफ्नो कार्यसमिति बनेपछि बार्षिक साढे तीन करोड रूपैयाँ बचत हुने गरेको उनले बताए।
नेपाल सरकारले यो संस्थासँगको सहकार्यमा २०४३ सालमा ४ लाख ५० हजार लिटरको एउटा ओभरहेड ट्यांकी बनाएर खानेपानी वितरण गर्दै आएको थियो। २०५६ साल असारमा सरकारले संस्थालाई नै खानेपानी वितरणको जिम्मेवारी हस्तान्तरण गर्यो।
२०५६ सालमा अध्यक्ष केशवराज न्यौपानेको नेतृत्वमा गठित पहिलो निर्वाचित कार्यसमितिले उत्तराधिकारी कार्यसमितिलाई २ लाख ७९ हजार ३०७ रूपैयाँसहित कार्यभार हस्तान्तरण गरेको थियो। त्यसयताको २५ वर्षमा संस्थाको खातामा २७ करोड ५३ लाख रूपैयाँ बचत भएको छ।
जम्मा पाँच सय ४५ घरमा निजी र ३२ वटा सार्वजनिक गरी पाँच सय ७७ धाराबाट सुरूभएपनि अहिले आठ हजार एक सय धाराबाट खानेपानी वितरण हुने गरेको छ। धाराको संख्या बढ्दै गएपछि पछिल्लो १२ वर्षमा मात्र २५ करोड रूपैयाँ बचत भएको जनाइको छ।
संस्थाका अध्यक्ष झवीन्द्र भण्डारीका अनुसार यस अवधिमा नेपाल सरकारसँगको सहलगानीमा २५ करोड रूपैयाँ लगानीमा ४ लाख ५० हजार लिटर क्षमताका २ वटा ओभरहेड ट्यांकी निर्माण गरिएका छन्।
‘सरकारको ४० प्रतिशत र संस्थाको ६० प्रतिशत लगानीमा खानेपानी ट्यांकी निर्माण गर्ने हामी नेपालकै पहिलो संस्था हौं,’ अध्यक्ष भण्डारीले भने, ‘सुरूमा एउटा ट्यांकी थियो। अहिले दुईवटा बनाइएको छ। ओभरहेड ट्यांकी बनाउँदा संस्थाले १५ करोड रूपैयाँ लगानी गरेको छ।’
अहिलेसम्ममा २३५ किलोमिटर पाइपलाइन विस्तार भएको छ भने १०५ वटा चेम्बर निर्माण गरिएको छ। त्यस्तै सवा दुई करोड रूपैयाँको लागतमा संस्थाको कार्यालय भवन बनाइयो।
२०५६ सालमा जम्मा २२ किलोमिटर पाइपलाइनबाट सिमित क्षेत्रमा खानेपानी वितरण हुने गरेको थियो। संस्थाले हरेक वर्ष धारा जडान र पाइपलाइन विस्तार बढाउँदै लगेको छ। हाल संस्थाबाट तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि ४ सम्म खानेपानी वितरण भएको छ।
वडा नम्बर ३ र ४ का दुई वटा ‘खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था’ पनि ‘शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था’ मै एकीकरण गरिएका छन्।
हाल मासिक १५ हजार लिटरसम्म न्यूनतम २० रूपैयाँ महसुल तोकिएको छ। भण्डारीको दाबीअनुसार यो महसुल नेपालमा सबैभन्दा सस्तो हो।
उनी भन्छन्, ‘सानो परिवार छ भने १५ हजार लिटरले एकमहिना पुग्छ, न्यूनतम २० रूपैयाँ बुझाए भयो। त्यसभन्दा बढी उपभोग गर्नेका लागि पनि अरू संस्थाको भन्दा धेरै सस्तो।’
त्यसमाथि २१ युनिटसम्म १०२ रूपैयाँ महसुल लाग्छ। यसमाथि २१ युनिटसम्म र १०२ रूपैयाँ महसुल लाग्छ।
यही २१ युनिट र १०२ रूपैयाँलाई आधार मानेर ३५ युनिटसम्म प्रतियुनिट १६ रूपैयाँका दरले थप हुन्छ। यसमाथि ५५ युनिटसम्म प्रतियुनिट २० रूपैयाँ थप हुन्छ। यसमाथि प्रतियुनिट २५ रूपैयाँ थप हुन्छ। एक युनिट भनेको एक हजार लिटर पानी हो।
हाल चार लाख ५० हजार लिटर क्षमताका तीन वटा ओभरहेड ट्यांकीमार्फत दैनिक १ करोड २५ लाख लिटर खानेपानी वितरण हुने गरेको छ।
प्रतिघण्टा ६ लाख ५० हजार लिटर पानी उत्पादन हुने गरेको छ। खानेपानी ट्यांकीमै मेसिन जडान गरेर क्लोरिनेसन (पानी स्वच्छ बनाउन क्लोरिन घोल्ने काम) हुने गरेको छ।
हाल नयाँ धारा जडान गर्दा २० हजार रूपैयाँ शुल्क लाग्छ। मिटर जडान निःशुल्क छ। आगामी दिनमा जडान पनि निःशुल्क गर्ने योजना रहेको अध्यक्ष भण्डारीको भनाइ छ।
सामाजिक काममा पनि सक्रिय
उपभोक्तालाई चौबीसै घण्टा खानेपानी वितरण गर्दै आएको ‘शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था’ ले स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा सहयोग गर्ने गरेको छ।
संस्थाले कोभिड–१९ (कोरोना भाइरस संक्रमण) को समयमा लुम्बिनी प्रादेशिक अस्पताल र तिलोत्तमा नगरपालिकालाई पाँच–पाँच लाख रूपैयाँ उपलब्ध गराएको थियो।
सार्वजनिक सवारीसाधानका लागि बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगिकुटी चोकमा स्यानिटाइजिङ टनेल निर्माण गरेको थियो। आगलागी भएको अवस्थामा दमकलमा तत्काल पानीको व्यवस्था गर्न संस्थाले सेवा क्षेत्रभित्र पाँच ठाउँमा ‘फायर हाइड्रेन्ट’ राखेको छ।
संस्थाले सार्वजनिक स्थानमा शौचालयहरू पनि बनाएको छ। बुटवल–बेलहिया ६ लेन सडकखण्डको योगिकुटीदेखि ड्राइभरटोलसम्म १० वटा सार्वजनिक शौचालय बनाएको छ। संस्थाले यिनलाई ‘स्मार्ट शौचालय’ भनेको छ।
यी बाहेक योगीकुटी र ड्राइभरटोलका साप्ताहिक हाटबजारमा र तिनाउ नदीको मगरघाट स्थित शवदाह स्थलमा एकएक वटा शौचालय निर्माण गरिदिएको छ।
शौचालयमा साबुनसहितको वास बेसिन, डस्टविन, टिस्यु पेपर, ऐना र पंखा राखिएका छन्।
संस्थाका इन्जिनियर दीपक पाण्डेका अनुसार शौचालय निर्माणमा कुल १ करोड १६ लाख रूपैयाँ खर्च भएको छ। बायोटेक प्रविधि अपनाइएकाले सेप्टिक ट्यांकी कहिल्यै भरिँदैन।
यस प्रविधिमा मलमूत्र शौचालयमा जडान गरिएको बायो डाइजेस्टरमा जम्मा हुन्छ। डाइजेस्टरमा राखिएको एलम ब्याक्टेरियाले २४ घण्टामै दिसापिसाब नष्ट गर्छ र पानी मात्र बाँकी रहन्छ। यो पानी सोकपिटबाट जमिनमुनि जान्छ।
शौचालय ‘फाइबर रिइन्फोर्स प्लास्टिक’ ले बनेको हुनाले साउन्ड प्रूफ (आवाज भित्र नछिर्ने र बाहिर नजाने) हुन्छ।
यी शौचालयको विद्युत् महसुल तिलोत्तमा नगरपालिकाले तिर्छ। सरसफाइ र सञ्चालनका लागि संस्थाले नै कर्मचारी खटाएको छ।
पाण्डेका अनुसार १३ वटा शौचालयको सरसफाइ र मर्मत सम्भारमा हाल मासिक १ लाख रूपैयाँ खर्च हुन्छ। शौचालय प्रयोग निःशुल्क छ।
यी शौचालय बिहान ६ बजेदेखि राति ९ बजेसम्म खुला रहन्छन्।
हाल सरकारी तथा निजी क्षेत्रको सहयोगमा ६ लेन सडकको बेलहिया नाकासम्मै यस्ता शौचालय राखिएका छन्।
ड्राइभरटोलबाट शंकरपुरसम्म ‘आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था’ र कोटिहवा चोकदेखि पत्थरडाँडा चोकसम्म तिलोत्तमा नगरपालिकाले यस्ता शौचालय राखेका छन्।
सिद्धार्थनगर नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र यस्ता शौचालय बनाएको छ। हाल ६ लेन सडकमा कम्तीमा ३० यस्ता सार्वजनिक शौचालय छन्।