निर्माण सुरू भएको ५ वर्ष पुग्दा पनि हुलाकी सडक निर्माणको काम पुरा नभएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले नै आन्दोलन सुरू गरेको छ।
हुलाकी राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३, नारायणचोकबाट त्रिवेणीसम्मको १५ किलोमिटर खण्डको निर्माणको लागि बज्रगुरू महालक्ष्मी जेभीले ठेक्का सम्झौता गरेको थियो।
तीन वर्षमा निर्माण पुरा गर्नुपर्ने भन्दै कुल ५८ करोड ९६ लाख ९३ हजार लागतमा २०७६ साल मंसिर १ गते उक्त सडकको ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौता अवधि २०७९ साल कात्तिक ३० गते पुरा भएपछि पनि तीनपटक म्याद थप भइसकेको छ। पछिल्लो पटक थप गरिएको म्याद पनि आगामी चैत मसान्तमा सकिँदै छ। तर, सडक निर्माणको काम भने जम्मा ४० प्रतिशत मात्रै पुरा भएको छ।
निर्माण कम्पनीले पटकपटक म्याद थप गर्ने तर सडक निर्माण गर्नुको सट्टा स्तरोन्नतिका लागि भन्दै सडक भत्काउने मात्रै काम गर्दा स्थानीयले सास्ती पाइरहेका छन्। वर्षाभरी पानी परेको बहाना बनाउने र हिउँदभरि बेवास्ता गर्ने भन्दै स्थानीयबासिन्दा आक्रोशित छन्।
निर्माण कम्पनीको चरम ढिलासुस्ती र लापरवाहीका कारण स्थानीयले वर्षौंसम्म सास्ती पाएको भन्दै पछिल्लो पटक गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवकै नेतृत्वमा दबावमूलक कार्यक्रम सुरू भएका छन्।
सडक निर्माणका लागि भन्दै आइतबार प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल र सरोकारवालाले १ घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए। गाउँपालिका अध्यक्षकै अगुवाइमा धर्ना दिइएपछि प्रशासन कार्यालयले निर्माण कम्पनी, हुलाकी सडक आयोजना र स्थानीय राजनीतिक दल तथा गाउँपालिकाका प्रतिनिधिहरूलाई राखेर सोमबार छलफल गरेको छ।
छिटो निर्माण सम्पन्न गर्न पटकपटक ताकेता गरेपनि ठेकेदार कम्पनीले बेवास्ता गर्दै आएको गाउँपालिका अध्यक्ष यादवले बताए। उनले संघीय सरकारले स्रोतको सुनिश्चितता गरिदिए पालिका आफैले ४ महिनामै सडक बनाउने दाबी गरे।
उनले हुलाकी सडककै कारण आफूलाई स्थानीयबासिन्दाबाट दिनहुँ आलोचना सुन्नुपरेको भन्दै अब भने सडक निर्माण नगर्दा सम्म आफूहरूको दबाव नरोकिने बताए। आन्दोलन सुरू गर्नुअघि प्रतापपुर गाउँपालिकाले पनि तत्काल सडक निर्माणको काम पुरा गर्न निर्माण कम्पनीलाई १५ दिनको अल्टिमेटम सहितको पत्राचार गरेको थियो।
नारायणचोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटर खण्ड अन्तर्गत गोपीगञ्जदेखि बेलाटारी सम्मको साढे ६ किलोमिटर सडक सबैभन्दा अस्तव्यस्त छ।
गाउँपालिका अध्यक्ष यादवले निर्माण कम्पनीले आजैदेखि काम सुरू नगरे मंगलबारदेखि ईलाका प्रशासन कार्यालयमा रिले अनसन र भदौ २८ गतेदेखि आमरण अनसन बस्ने बताए।
उनले सडक निर्माणको दबावका लागि राजनीतिक दल, सरोकारवाला, स्थानीय सबैसँग अपिल समेत गरेका छन्।
हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै सडक निर्माणमा आलटाल गर्दै आएको बताए। आचार्यका अनुसार उक्त सडकमा नाली र कल्भर्ट निर्माणको काम ८० प्रतिशत पुरा भएपनि मुख्य सडकको काम भने सुरू नै भएको छैन।
‘सडक निर्माणको लागि भएको पुरानो पिचलाई समेत भत्काए पनि निर्माण कम्पनीले सडकको मुख्य भागमा कुनैपनि काम अगाडि बढाएको छैन, सुरूका दुई वर्ष कोभिड महामारीको बहानामा काम नगरेको निर्माण कम्पनीले पछिल्ला तीन वर्षमा पनि काम सुरू नगर्दा स्थानीयमा आक्रोश पैदा भएको छ,’ आचार्यले भने।
उनले पछिल्लो पटक थप गरिएको म्याद आगामी चैतसम्म रहेपनि निर्माण कम्पनीलाई कामका लागि चैतसम्म पर्खिन सक्ने अवस्था नभएको बताए।
‘चैत महिनासम्म त निर्माणको काम पुरा गर्नुपर्छ, त्यसको लागि अहिलेदेखि नै तीव्र रूपमा निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उनले भने।
अहिले थप गरिएको सम्झौता अवधि नै अन्तिम रहेकोले यो अवधिमा काम पुरा नगरे निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोड्ने उनले बताए।
हुलाकी राजमार्ग आयोजना अन्तर्गतकै बेलाटारी–कठहवा–त्रिवेणी ९ किलोमिटर खण्डको काम पनि अलपत्र पारिएको छ। यो सडकखण्ड पनि तीन वर्षमा सक्ने गरी ‘कन्टेक प्रालि’ ले २०७६ मंसिर ११ गते ठेक्का सम्झौता गरेको थियो।
कुल २७ करोड २३ लाख ५ हजार रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पाँच वर्ष पुरा हुँदा जम्मा ५० प्रतिशत मात्रै काम पुरा गरेको छ। हुलाकी सडक आयोजना कपिलवस्तुका सूचना अधिकारी आचार्यका अनुसार बेलाटारी–कठहवा–त्रिवेणी खण्डमा पनि कल्भर्ट र नाली निर्माणको काम सकिए पनि मुख्य सडक निर्माणको काम अगाडि बढेको छैन।
हुलाकी राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३, नारायणचोकदेखि परासीसम्मको साढे १२ किलोमिटर सडकखण्ड पनि अझै अधुरै छ। यो सडक सबैभन्दा पहिले २०७३ साल फागुन १५ गते निर्माण सम्झौता गरिएको थियो।
दुई वर्षमा सम्पन्न गर्ने गरी ‘कञ्चनजंघा विरुवा शिवशक्ति जेभी, मध्यबानेश्वर’ ले २५ करोड १९ लाख ७० हजार रुपैयाँमा सडक निर्माणको ठेक्का लिएको थियो। वर्षौंसम्म अलपत्र पारेपछि निर्माण गरिएको सडकको कालोपत्रे पनि गुणस्तरहीन भएपछि गतवर्ष सडक आयोजनाले भत्काइदिएको थियो। सडक आयोजनाले भत्काएपछि उक्त खण्डमा भने कालोपत्रेको काम करिब पुरा भइसकेको सूचना अधिकारीले आचार्यले जानकारी दिए।
‘नारायणचोकदेखि परासीसम्मको सडकमा कालोपत्रेको काम करिब पुरा भइसकेको छ, सम्झौता अनुसार अब कालोपत्रे भन्दा बाहिरको सडक ग्राबेल गर्न बाँकी छ,’ उनले भने।
तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणाले पूर्व–पश्चिम राजमार्गबाट सरदर २५ किलोमिटर दक्षिणतर्फ तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्गको रूपमा हुलाकी सडक निर्माण सुरू गराएका थिए।
हुलाकी सडकको स्तरोन्नतिको काम भने २०७३/०७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेपछि मात्रै अगाडि बढेको थियो।
तर, निर्माण कम्पनीको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो सडक अलपत्र छ।
ठेक्का सम्झौता हुँदा सडक डिभिजन कार्यालय बुटवल मातहत रहेको यो सडक खण्ड आर्थिक वर्ष २०७५/७६ मा हुलाकी राजमार्ग आयोजना कार्यालय स्थापना भएपछि आयोजनामै हस्तान्तरण भएको थियो।
हुलाकी राजमार्ग अन्तर्गत रूपन्देही र कपिलवस्तुको अधिकांश खण्डको सडक निर्माण सम्पन्न भएपनि पश्चिम नवलपरासीमा भने त्रिवेणीदेखि परासीसम्म काम हुन सकेको छैन।
आयोजना अन्तर्गत परासीबाट भैरहवा, लुम्बिनी हुँदै तौलिहवा सम्मको ६६ किलोमिटर सडक एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण पूरा भइसकेको छ। परासीबाट त्रिवेणीसम्मको ७३ किलोमिटर खण्ड भने अस्तव्यस्त छ।