आयोजनासँग ९ महिना थप गर्न माग गरेको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सिद्धबाबा सुरूङमार्ग १ सय दिनभित्र ब्रेक थ्रू (सुरूङको खन्ने काम सकिने) गर्ने प्रतिबद्धता गरेको छ।
यसैसाता सुरूङमार्गको अनुगमन गर्न आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सडक विभागका महानिर्देशक रामहरि पोखरेल लगायतको टोलीसँग अबको सय दिनभित्र ब्रेक थ्रु गर्ने प्रतिबद्धता गरेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञावलीले जानकारी दिइन्।
‘ठेक्का सम्झौता गरेदेखिकै ओभरल समय नभई पछिल्लो ५ महिनाको कामको प्रगतिलाई हेर्दा १ सय दिनभित्र ब्रेक थ्रु गर्छ भनेर विश्वास गर्न सकिने अवस्था छ,' कम्पनीलाई उद्धृत गर्दै उनले भनिन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबादेखि हेडवर्क्ससम्म एक हजार एक सय २६ मिटर लामो सुरूङमार्ग निर्माणको काम भइरहेको छ।
आयोजनासँग गरेको ठेक्का सम्झौतामा २३ सेप्टेम्बर २०२४ सम्म सुरूङको ब्रेक थ्रु (सुरूङ खन्ने काम सकिने) गर्नुपर्ने भनिएको छ। सो समयमा ब्रेक थ्रु गर्न नसक्ने भएपछि कम्पनीले समय थप्नुपर्ने माग गरिरहेको छ।
सरकारले मोबिलाइजेसन रकम दिन र सुरूङमार्ग बनाउने ठाउँभित्रका रूख कटानको स्वीकृतिका लागि ढिलाइ गरेकोले ९ महिना समय थप गर्न माग गरेको हो।
‘निर्माण कम्पनीलाई ‘एडभान्स पेमेन्ट’ गर्न ढिलाइ भएको थियो। ‘राइट अफ वे’ भित्रका रूख कटानको स्वीकृतिका लागि पनि केही ढिलाइ भएको थियो। निर्माण कम्पनीले यी दुई वटा विषयलाई लिएर ब्रेक थ्रुको गर्ने समयसीमा बढाइदिन १ वर्षको समय थप गर्न माग गर्दै आएको थियो, हामीले समय थप गर्न नसक्ने र सम्झौता अनुसारै हुनुपर्ने भनेपछि अहिले ९ महिनाको समय मागेको थियो,’ ज्ञवालीले भनिन्,'फेरि सय दिनभित्रै काम सक्छु भनेको छ।'
पाँच वर्षमा सक्ने गरी २०७८ साल फागुनमा सुरूङमार्ग निर्माणको लागि ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार २०८३ सालभित्रै सक्नुपर्ने छ। तर आधा समय बितिसक्दा जम्मा २१ प्रतिशतमात्रै काम भएको छ।
सुरूङमार्गको डिजाइनमै एक वर्ष समय खर्चियो। निर्माणको काम सुरू भएको ६ महिनामै पहिरोले सुरूङमार्गको दक्षिण र उत्तर दुवैतर्फको पोर्टलमा क्षति पुर्यायो। त्यसपछि तीन महिना काम हुन सकेन। २०८० सालको वर्षा सकिएपछि असोजदेखि मात्रै काम सुरू भयो।
यसवर्ष भने वर्षाको निर्माण अवरूद्ध भइरहँदा सिद्धबाबा सुरूङमार्गको निर्माणको काम निरन्तर जारी छ। ठेक्का सम्झौता भएको सुरूको दुई वर्ष जम्मा ११ प्रतिशत मात्र काम गरेको निर्माण कम्पनीले पछिल्लो ५ महिनामा थप १० प्रतिशत भौतिक प्रगति गरेको सुरूङमार्ग निर्माण आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीका अनुसार पछिल्लो १ महिनामा पाँच प्रतिशत प्रगति भएको छ।
‘सुरूको नौ महिना डिजाइनकै लागि भनिएको थियो। डिजाइनमै एक वर्षभन्दा बढी समय लाग्यो, एक वर्षपछि निर्माणको काम सुरू गरे पनि पहिलो वर्षको भन्दा दोस्रो वर्ष कामको गति बढेको छ, अहिलेसम्म ढिलाइ नै भइसक्यो भन्न मिल्दैन,’ ज्ञवालीले भनिन्।
ज्ञवालीका अनुसार निर्माण कम्पनीले हालसम्म मुख्य सुरूङको उत्तर र दक्षिण दुबै तर्फबाट सुरूङ खन्ने काम गरिरहेको छ। त्यस्तै तीन वटा बाइपासको काम पनि सँगसँगै अगाडि बढिरहेको छ। अगस्ट ३१ सम्म मुख्य सुरूङको उत्तरतर्फ २ सय १४ र दक्षिण तर्फबाट २ सय ७६ मिटर खनिएको छ। दुवैतर्फ गरी ४९० मिटर खनिएको छ।
त्यस्तै, १५१ मिटरको पहिलो बाइपासमध्ये एक सय १६ मिटर खनिएको छ।
त्यस्तै, एक सय ६१ मिटर लम्बाई रहेको दोस्रो बाइपास आधाभन्दा बढी र एक सय तीस मिटरको तेस्रो बाइपास पनि एक चौथाइ सकिएको छ। अबको केही दिनभित्रै बाइपास खन्ने काम पूरा हुन्छ।
त्यसपछि मुख्य सुरूङको दक्षिण र उत्तर पोर्टलसँगै बाइपासबाट समेत सुरूङ खन्न सकिने ज्ञवालीले जानकारी दिइन्।
'मुख्य सुरूङमार्ग र तीनवटा बाइपास गरी कुल १ हजार ५६८ मिटर सुरूङ खन्नुपर्नेमा हालसम्म ८१३ मिटर खनेर सकिएको छ। अब ७५५ मिटर खन्न बाँकी छ,' उनले भनिन्, 'मुख्य सुरूङ र बाइपास समेत गरी एक महिनामा दुई सय २५ मिटर खनेको आधारमा डिसेम्बरसम्म सुरूङमार्ग र तीनवटै बाइपास खनेर सक्छ भन्नेमा विश्वास गर्न सकिन्छ।'
उनका अनुसार आकस्मिक अवस्थाका लागि सुरूङलाई बाहिरी सडकमा जोड्ने गरी तीन/तीन सय मिटरको दुरीमा तीन वटा सहायक सुरूङमार्ग बनाइएको छ।
सुरूङमार्ग निर्माणसँगै बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये सात सय ८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत् साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।
उत्तरतर्फको पोर्टलमाथि एक हजार एक सय मिटर स्क्वायर क्षेत्रमा र दक्षिणतर्फको पोर्टलमाथि दुई हजार तीन सय मिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण गर्नुपर्ने छ। त्यसमध्ये हालसम्म चार सय ९५ र दक्षिणतर्फ एक हजार चार सय ९५ मिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण गरिएको छ।
त्यस्तै सुरूङमार्ग निर्माण गरिएको चट्टान सहितको पहाडमा १७ हजार ६० मिटर स्क्वायर क्षेत्रमा पनि स्लोप निर्माण गर्नुपर्ने छ। त्यसमध्ये पनि हालसम्म करिब दुई हजार मिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण भइसकेको आयोजनाले जनाएको छ।
निर्माण कम्पनीले सडकभन्दा तल तिनाउ नदीतर्फको भागमा समेत एक हजार आठ सय ६० मिटर स्क्वायर क्षेत्रमा स्लोप निर्माण गर्नुपर्ने सम्झौतामा छ। सडकभन्दा तल नदीतर्फको भागमा भने सुरूङमार्गको अन्य काम पूरा भएपछि निर्माण हुने आयोजनाले जनाएको छ।
ठेक्का सम्झौता अनुसार पाँच वर्षमा निर्माणको काम पूरा गरी सुरूङ मार्ग निर्माणपछि पाँच वर्षसम्म मर्मत तथा सञ्चालनको काम पनि निर्माण कम्पनीले नै गर्नुपर्ने छ।
आयोजनाका इन्जिनियर समेत रहेकी ज्ञवालीले यो अवधिमा बाइपास सुरूङ खन्ने र सडकमाथि स्लोप काटेर ढलान गर्ने काम पनि सँगसँगै अगाडि बढिरहेको बताइन्।
‘अहिले सुरूङमार्गको दक्षिण र उत्तर तर्फका दुबै पोर्टल, निकासको लागि राखिएका तीन वटै सुरूङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायतका काम एकैपटक अगाडि बढाइएकोले भौतिक प्रगति धेरै भएन कि भन्ने लागेको हो,’ उनले भनिन्।
बुटवल पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टान सहितको पहिरोले हरेक वर्ष मानवीयसँगै ठूलो आर्थिक क्षति हुने गरेको भन्दै सडकको सुरक्षित आवगमनको लागि सुरूङमार्गको योजना अगाडि बढाइएको थियो। सोही योजना अनुसार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का सम्झौता गरी सुरूङमार्ग निर्माणको काम गरिरहेको छ।
निर्माण कम्पनीले हालसम्म कुल ठेक्का रकममध्ये १ अर्ब ५६ करोड ७८ लाख रूपैयाँ भुक्तानी लगिसकेको छ। सम्झौता अनुसारको कामका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब रकम भुक्तानी गर्नुपर्ने कम्पनीले माग गरेको छ।
सुरूङ मार्ग निर्माणपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।