मोटोपन कम गर्ने एक औषधिले मान्छे बुढो हुने प्रक्रिया पनि सुस्त बनाउने देखिएको छ।
द गार्डियनमा प्रकाशित समाचार अनुसार हालै भएको नयाँ अध्ययनले तौल कम गर्न प्रयोग हुने सेमाग्लुटाइड नामक औषधिले मान्छेको बुढ्यौली प्रक्रिया सुस्त बनाउने देखाएको हो। यसका साथै मानिसलाई स्वस्थ बनाएर लामो समय बाँच्न सघाउने भएकाले सेमाग्लुटाइडले स्वास्थ्य सेवामा क्रान्ति ल्याउन लागेको गार्डियनले लेखेको छ।
सेमाग्लुटाइडले धेरै तौलका कारण मुटुको समस्या भएका मान्छेको मृत्यु खतरा कम गर्छ भन्ने यसअघिका अध्ययनले बताइसकेका थिए। तर नयाँ अध्ययन यसले सबै कारणबाट हुने मृत्यु कम गर्ने देखाएका हुन्।
येल स्कुल अफ मेडिसिनका प्रोफेसर हर्लान क्रमहोल्जका अनुसार सेमाग्लुटाइडले हृदयाघातबाट जोगाउनुका साथै स्वास्थ्य राम्रो पनि बनाउँछ।
'मान्छेको स्वास्थ्य नै राम्रो बनाउने भएकाले यसले बुढ्यौली प्रक्रिया सुस्त बनाउँछ भन्ने सुन्दा मलाई अचम्म लाग्दैन,' क्रमहोल्जलाई उद्धृत गर्दै गार्डियनले लेखेको छ।
नयाँ अध्ययनहरू र परीक्षण अमेरिकामा भएको थियो। सो परीक्षणमा मोटा, मुटुरोगी तर मधुमेह (सुगर) नभएका ४५ वर्षमाथिका १७,६०४ जना सहभागी थिए। सहभागीमध्ये आधाजसोलाई सेमाग्लुटाइड दिइयो, अरूलाई दिइएन।
यसपछि तीन वर्षसम्म उनीहरूको निगरानी गरियो। त्यो अवधिमा ८३३ जनाको मृत्यु भयो। उनीहरूमध्ये ५८ प्रतिशतको मुटु रोगका कारण र बाँकी ४२ प्रतिशतको अन्य कारणले मृत्यु भएको थियो। अन्य कारणमध्ये संक्रमण भएर सबभन्दा धेरैको मृत्यु भएको थियो।
तर सेमाग्लुटाइड दिइएकाहरूको मुटु रोग र संक्रमणका कारण मृत्यु हुने दुवै दर कम पाइएको थियो।
यसैबारे एक अध्ययनको नेतृत्व गरेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर बेन्जामिन सिरिसाले संक्रमणका कारण हुने मृत्युदर कम हुनु अचम्मलाग्दो भएको बताएका छन्।
'यसले के देखाउँछ भने, मोटोपनले विभिन्न रोगका कारण हुने मृत्युको जोखिम झन् बढाउँछ। र, त्यसलाई सेमाग्लुटाइड प्रयोग गरेर सन्तुलनमा राख्न सकिन्छ,' उनले भनेका छन्।
यसरी विभिन्न रोगका कारण हुने मृत्यु कम गर्ने सेमाग्लुटाइडले समग्रमा बुढ्यौली प्रक्रिया सुस्त पार्छ र मान्छेलाई लामो समय स्वस्थ जीवन बाँच्न सहयोग गर्छ भन्न सकिन्छ।
सेमाग्लुटाइडले वर्षमा १० देखि २० प्रतिशतसम्म वजन घटाउँछ।
मान्छेले शरीरका महत्त्वपूर्ण प्रक्रिया सञ्चालन र अरू विभिन्न काम गर्न चाहिने क्यालोरीभन्दा धेरै खायो भने, त्यो बोसोका रूपमा बस्छ। पछि केही कारणले पर्याप्त क्यालोरी खान पाएन भने त्यही थुप्रिएको बोसो पगालेर शरीरले प्रयोग गर्छ।
मानव इतिहासको लगभग सबै समयमा खाना अभाव थियो। २० औं शताब्दीको अन्त्यतिर मात्रै पृथ्वीका धेरैजसो मान्छेले अघाउन्जेल खान पाउन थालेका हुन्। अझै पनि गरिब देश र कतिपय धनी देशमा समेत सबैले भरपेट खान पाउँदैनन्।
पर्याप्त खाना अभावका बीच विकास भएको हाम्रो शरीरलाई खाना कति महत्त्वपूर्ण र दुर्लभ छ भन्ने राम्ररी थाहा छ। त्यसैले अलि धेरै खानेबित्तिकै बोसो बनाएर भण्डार गरिहाल्छ। वर्षैभरि चाहिनेभन्दा धेरै खाएपछि त्यो बोसो थुप्रिँदै गएर मान्छे मोटाउँछ।
मान्छेले खाना घटाए वा शारीरिक परिश्रम धेरै गरे पनि शरीरले भोलि खाना नपाइन सक्छ भनेर बडो गाह्रो मानेर मात्रै बोसो घटाउँछ। कतिसम्म भने, लगातार खाना घटाउने वा अधिक परिश्रम गरेर पनि चाहिने जति नखाने हो भने, शरीर बिस्तारै कम क्यालोरीमा चल्ने बन्छ। विज्ञानको भाषामा भन्ने हो भने मेटाबोलिजम कम गर्छ। यसरी गाह्रो गरी घटाएको बोसो फेरि भरपेट खान थाल्नेबित्तिकै लागिहाल्छ।
यो युगमा एकातिर लगभग सबैलाई अघाउन्जेल खान पुग्छ। अर्कातिर सवारी साधनको व्यापक प्रयोग र धेरैजसो कुर्सीमा बसेर गर्ने काम (टेबलवर्क) हुने भएकाले शरीरले अघिल्ला पुस्ताले जस्तो धेरै परिश्रम गर्नुपर्दैन। त्यसैले मोटोपन धनी देशमा मात्रै नभएर गरिब देशहरूमा पनि ठूलो स्वास्थ्य समस्या भएको छ।
मोटोपन नाप्ने सबभन्दा सरल र चल्तीको तरिका भनेको बडी मास इन्डेक्स (बिएमआई) हो। जिम गर्ने बडीबिल्डर र खेलाडीहरूमा मसल (मांसपेसी) धेरै भएकाले अलिक धेरै बिएमआई हुन्छ। साधारण मान्छेको हकमा भने बिएमआईले मोटोपनबारे लगभग सही जानकारी दिन्छ।
वजन र उचाइको अनुपातबाट बिएमआई नापिन्छ। साढे १८ अंकभन्दा थोरै बिएमआई भयो भने कम वजन, साढे १८ देखि २५ भयो भने ठीक, त्योभन्दा धेरै भए बढी र ३० भन्दा धेरै भयो भने मोटो भनिन्छ।
उदाहरणका लागि, ५ फिट ९ इन्चको मान्छे ७७ किलोभन्दा धेरै भयो भने बढी वजन भएको मानिन्छ। ९२ किलोभन्दा धेरै मोटो मानिन्छ।
त्यस्तै, ५ फिट ३ इन्चको मानिस ६४ किलोभन्दा धेरै भए बढी वजनको र ७७ किलोभन्दा धेरै भए मोटो मानिन्छ।
मोटोपनले मधुमेह, मुटुरोग, मस्तिष्काघात र दर्जन बढी प्रकारका क्यान्सरजस्ता रोगको खतरा बढाउँछ। यी रोगका लागि राज्यले ठूलो लगानी गर्नुपर्छ भने मान्छेको आयु पनि घटाउँछ।
सेमाग्लुटाइड औषधिले मोटोपन कम गर्छ। यसलाई 'जिएलपी-१ रिसेप्टर एगोनिस्ट्स' वा 'जिएलपी-१ एनालग्स' पनि भनिन्छ। जिएलपीको पूरा रूप ग्लुकागन लाइक पेप्टाइड्स हो।
हामीले खाना खाएपछि शरीरले पेटमा जिएलपी-१ हर्मोन पठाउँछ। यो हर्मोनले इन्सुलिन उत्पादन गर्न सहयोग गर्छ र रगतमा चिनीको मात्रा घटाउँछ। जिएलपी-१ को नक्कल गर्ने भएकाले यसलाई जिएलपी-१ रिसेप्टर एगोनिस्ट्स वा जिएलपी-१ एनालग्स पनि भनिएको हो।
नोवो नोर्दिस्क कम्पनीले सुरूमा यो औषधि मधुमेह रोगका लागि 'ओजेम्पिक' नाममा बजारमा ल्याएको थियो। औषधि प्रयोग गर्नेको मधुमेह नियन्त्रण हुनुका साथै वजन पनि घट्यो। त्यसपछि यो कम्पनीले 'विगोभी' नाम दिएर धेरै डोज भएको औषधि उत्पादन गर्न थाल्यो। विगोभी हप्ताको एक दिन सुईबाट लिइन्छ।
अहिले अरू कम्पनीले पनि यस्तै औषधि बजारमा ल्याएका छन्। ल्याउने क्रममा पनि छन्। र, यो खाने गोलीका रूपमा पनि ल्याउने प्रयास हुँदैछ।
जिएलपी-१ एनालग्स वा सेमाग्लुटाइड औषधिले शरीरमा इन्सुलिन बनाउन सन्देश दिनुका साथै कलेजोलाई चिनी उत्पादन गर्न लगाउने ग्लुकागनको उत्पादन दबाइदिन्छ।
यसरी यसले दुई तरिकाले रगतमा चिनीको मात्रा घटाएर मधुमेह नियन्त्रण गर्छ।
यसबाहेक, यो औषधि दिमागमा पुगेपछि मान्छेलाई अघाएको महसुस हुन्छ। अनि पाचन प्रणालीअन्तर्गत पेटबाट खाना तल जाने प्रक्रिया सुस्त बनाउँछ। यस कारण मान्छेलाई अलि धेरै समयसम्म भोक लाग्दैन। कतिसम्म भने, यो औषधि खाएपछि मान्छेले धेरै खानै सक्दैन। जबर्जस्ती खायो भने बिरामी पर्छ।
यस कारण यसले मोटोपन घटाउँदै लैजान्छ। यो औषधिसँगै शारीरिक परिश्रम बढाउने वा कसरत गर्ने हो भने त झन् धेरै वजन घट्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)