मंगल महतोले एक दशकअघि करिब दुई बिघा खेतमा आँप र अन्य केही बिरूवा लगाए। आँपको आम्दानीले पाँच महिना पनि परिवार धान्न पुग्दैन।
जबकी १६ वर्षअघिसम्म खेतमा उखु, अन्न र अन्य केही उब्जनीले परिवार मजाले चल्थ्यो। वर्षमा एक–डेढ लाख रूपैयाँ बचत पनि हुन्थ्यो। त्यस्तो उब्जनी हुने खेतमा उनले आँप लगाउनुको कारण छ। सिँचाइको गर्न नपाउँदा बाली नै नलाग्ने भएपछि बाध्य भएर सिँचाइ गर्न नसकेपछि उनले आँप बगैंचा बनाएका हुन्।
किसानहरू वर्षाकै भरमा खेती गर्छन्। वर्षा राम्रो हुँदा एक बिघा खेतबाटै उब्जेको धान र गहुँले वर्षभरि खान पुग्थ्यो। तर हरेक वर्ष खडेरी पर्न थालेपछि आफ्नो खेत हुँदाहुँदै किनेर खानुपरेको उनले बताए।
बटेश्वर गाउँपालिका–१, चित्रपरका बासिन्दाहरूले सरकारले सिँचाइको व्यवस्था गरिदिने अपेक्षा गरेको धेरै वर्ष भयो तर समस्या समाधान भएको छैन।
सिँचाइ सुविधा नभएपछि गाउँका धेरै किसान खेती छोड्ने मनस्थितिमा पुगेको मंगलको भनाइ छ।
यहाँ बोरिङ (भूमिगत पानी तान्ने मेसिन) नभएको पनि होइन। गाउँपालिकाले जगदेव महतोको खेतमा ६ लाख रुपैयाँ खर्च गरेर बोरिङ गाडेको तीन वर्ष भयो तर अझै चलेको छैन।
‘पहिलाका मेयर र वडाध्यक्षले भोट माग्न आउँदा खेतमा बोरिङ वा इनार दिने वाचा गरेका थिए तर दिएनन्। कसैकसैले बोरिङ पाए तर उनीहरू खेती गर्दैनन्,’ जगदेवले भने, ‘बोरिङ गाडेको तीन वर्षसम्म खेतमा बिजुली नपुगेन। बिजुली आएको दुई महिना पुग्यो तैपनि चलाउने सुरसार छैन।’
जगदेवको मात्र होइन, आसपासमा अन्य बोरिङ पनि चलेका छैनन्। सिँचाइ नभएपछि धेरै किसानले आँप र अन्य बिरूवा लगाएका छन्।
२०५१ सालमा स्थानीय किसान देवेन्द्र महतोको खेतमा एउटा बोरिङ गाडिएको थियो। दुई वर्ष चलेपछि बिग्रियो, मर्मत हुन सकेन। त्यसै बेला धेरै किसानले आँपको बगैंचा बनाए। केहीले बाँस र अन्य केही बिरूवा लगाए।
जगदवकै टोलका देवसुनर महतोको तीन बिघा खेत छ तर सिँचाइ हुन नसक्दा उब्जनी राम्रो छैन।
‘आकाशको भर पर्दा सिँचाइ पुगेन। उब्जनी राम्रो भएन। पोहोर साल पानी नभएर धानमा दाना नै लागेन। सिँचाइ नभएपछि गहुँ फल्दैन,’ उनले भने, ‘गएको जेठतिर अढाई कट्ठामा खुर्सानी रोपेको थिएँ। फल लाग्ने बेलामा पानी दिन सकिएन, सबै सुक्यो, २० हजार रूपैयाँ लगानी डुब्यो।’
उनका दाइ रामसुनरको खेतमा बोरिङ गाडेको तीन वर्ष भयो तर खेतसम्म बिजुली नभएर चलाउन सकेनन्। बिजुली पुगेको दुई महिना भयो। यो बोरिङ चलेपछि करिब २० बिघा खेत सिँचाइ हुनेछ।
‘हामीले धेरैपटक भन्यौं, गाउँपालिकाले सुन्दै सुनेन। जनप्रतिनिधिहरूले बिजुली पुर्याउन पहल नै गरेनन्,’ रामसुनले भने, ‘अहिले त्यहाँ एउटा निजी स्कुल आएपछि मिथिला नगरपालिकाको पहलमा बिजुली आयो। अब बोरिङमा मोटर लगाउन बाँकी छ।’
गाउँपालिकाले गाडिदिएको बोरिङबाट आसपासका खेतमा सिँचाइ गर्नुपर्छ। सिँचाइ हुने क्षेत्रफल तोकिएको हुन्छ।
देवसुनरका अनुसार गाउँपालिकाले बोरिङ गाडिदिन्छ तर मोटर दिँदैन। बिजुली भएपछि कसैले मोटर लगाउँछ र निजीजस्तो गरेर चलाउँछ।
उनले भने, ‘तार, मोटर, मिस्त्री, पाइप जस्ता काममा करिब डेढ लाख रूपैयाँ खर्च हुन्छ। एकजनाले खर्च गर्यो भने आफ्नो खेतमा मात्र पानी पटाउँछ। उसलाई मन लागे छिमेकीलाई दिन्छ, मन नलागे दिँदैन।’
उनको गाउँमा रहेको अर्को एउटा बोरिङ बिग्रेको धेरै दिन भयो, मर्मत हुन सकेको छैन। त्यो बोरिङबाट सिँचाइ हुने खेतमा यति बेला सुख्खा लागेको छ।
स्थानीयबासीहरूले बताएअनुसार बटेश्वरमा २०५२ सालदेखि बिग्रेका तीन वटासमेत गरी करिब एक दर्जन बोरिङ अलपत्र छन्। कतै बिजुली पुगेको छैन त कतै बिजुली भए पनि मोटर नभएर चलेको छैन।
किसानहरूका अनुसार बोरिङ पाउन स्थानीय नेताको नजिक हुनुपर्छ।
‘गाउँपालिका अध्यक्ष र वडाध्यक्षको नजिक नभएको किसानले बोरिङ पाउँदै। केही नेताले आफ्नो खेतमा बोरिङ गाडेका छन्। उनीहरू चासो देखाउँदैनन्,’ स्थानीय किसान महादेव महतो भन्छन्, ‘बोरिङमा मोटर लगाउन पैसा खर्च हुन्छ। जसलाई अप्ठयारो परेको छैन उसले चासो देखाउँदैन।’
एक दर्जन बोरिङ त बिगे्रेर थन्किएकै छन्। नयाँ बोरिङ नगाडेको पनि दुई वर्ष भयो। किसानहरू सिँचाइ नभएर खेतीबाट पलायन हुँदै छन्।
वडा नम्बर १ मा वडाध्यक्ष अशोककुमार महतो अलपत्र परेका बोरिङ चलाउन आफूले पहल गरिरहेको बताउँछन्। आफू निर्वाचित भएपछि बोरिङ नगाडिएको र पहिले गाडिएका धेरैवटा बिग्रेर अलपत्र परेको उनले बताए।
आगामी असोजदेखि नयाँ बोरिङ गाडिने उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष रामआशिष महतोले अलपत्र परेका धेरै बोरिङ चल्ने सम्भावना कम रहेको बताए। अलपत्र परेका धेरै बोरिङ अव्यवस्थित तरिकाले गाडिएको उनको भनाइ छ।
‘त्यति बेला डिटिएस प्रविधिबाट हावाको प्रेसर दिएर गाडिएका र नचलेका बोरिङ अब नचल्ने सम्भावना छ। त्यस्तो बोरिङ ९५ प्रतिशत असफल हुन्छ, पर्याप्त पानी आउँदैन,’ अध्यक्ष महतो भन्छन्, ‘चलेको बोरिङमा पनि ६ इन्चको पाइपमा डेढ इन्च पानी आएको छ।’
उनका अनुसार डिटिएस प्रविधिबाट बोरिङ गाड्दा पानीको तहमा पुग्यो कि पुगेन भन्ने थाहा हुँदैन। इस्टिमेट अनुसार गाडिएको हुन्छ, पानीको तहमा नपुगेको पनि हुन सक्छ।
ड्रिल प्रविधिबाट गाडेको बोरिङमात्रै सफल हुन्छ। उनले कतिवटा बोरिङ नचल्ने अवस्थाका छन् भन्ने थाहा नभएको बताए।
केही पुराना बोरिङ चलाउन विद्युतीकरणको आवश्यक रहेको र त्यसका लागि आफूले काम गरिरहेको अध्यक्ष महतोको भनाइ छ।
‘सबै वडामा क्रमिकरूपमा विद्युतीकरण हुँदैछ। एकैपटक सबै ठाउँमा पुर्याउन सकिँदैन। काम हुँदैछ,’ उनी भन्छन्, ‘बिजुली पुगेका कतिपय ठाउँमा ट्रान्सफर्मर पनि चाहिएको छ। अगामी आर्थिक वर्षमा सबै व्यवस्थापन हुन्छ।’
कर्मचारीको बदमासीले बितेका दुई आर्थिक वर्षमा गाउँपालिकामा नयाँ बोरिङ गाड्न नसकेको उनले बताए।
उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात वटा र गत आर्थिक वर्षमा सात वटा गरी १४ वटा डिप बोरिङ गाड्ने योजना रहे पनि प्रशासकीय अधिकृतले अटेरी गर्दा काम भएन।
‘गत आर्थिक वर्षमा प्रशासकीय अधिकृतले सबै बोरिङ एउटा उपभोक्ता समिति गठन गरेर गाड्दा हुन्छ भने। त्यसै गरी उपभोक्ता समिति बन्यो,’ अध्यक्ष महतोले भने, ‘फेरि उनले एउटा बोरिङको एउटा उपभोक्ता समिति चाहिने भयो भने, त्यो पनि गठन भयो। आर्थिक वर्ष सकिन लागेपछि ई–बिडिङ मार्फत गराउनुपर्ने भयो भने। प्रक्रिया अघि बढाउनू भनें तर बिदा लिएर घर बसे। कामै हुन सकेन।’
किसानहरू भने गाउँपालिकाले बोरिङ व्यवस्थित गरिदिने अपेक्षामा छन्।