शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ।
केहीबेर रोकिने र फेरि पर्ने अहिलेको वर्षाको प्रकृति छ।
शुक्रबार र शनिबार उपत्यकामा बदली भएर चर्को घाम लागेको थियो। अन्यत्र पनि केही स्थानमा मात्रै वर्षा भएको थियो।
आइतबारदेखि भने मधेस प्रदेशदेखि लुम्बिनी प्रदेशसम्मका भू-भागहरुमा मध्यमदेखि, भारी र धेरै भारी वर्षा भयो। केही स्थानहरूमा अहिले पनि पानी परिरहेको छ।
पछिल्लो १२ घन्टामा मकवानपुरको हात्तीसुडेमा १४० मिलिमिटर, चितवनको कल्याणपुरमा १६६ मिलिमिटर, १३९.८, देवघाटमा १०८ मिलिमिटर, शक्तिखोर १२१.४ मिलिमिटर, बाराको रजुवा ९८.४, निजगढमा ६८.६ मिलिमिटर, पूर्वी नवलपरासीको दम्कौलीमा ७१.८ मिलिमिटर, डाँडामा ८९ मिलिमिटर पानी पर्यो।
साथै पश्चिम नवलपरासीको देउराली नवलमा ५६.८ मिलिमिटर, सेमारीमा ४९.४ मिलिमिटर, पाल्पाको अर्चलेमा ५६.८ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ९८.४ मिलिमिटर, भैरहवामा ९९.४ मिलिमिटर, म्याग्दीको मुनामा ६१.२ मिलमिमिटर वर्षा भएको छ।
काठमाडौंको बूढानीलकण्ठमा ४३.२ मिलिमिटर, कपनमा ३२.८ मिलिमिटर, धाप बाँधमा ४० मिलिमिटर वर्षा भएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बागमती, लुम्बिनी र गण्डकीमा तथा राति कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बाँकी भूभागमा भारी वर्षको पूर्वानुमान पनि छ।
हामीले मौसमविद् मीनकुमार अर्याललाई भदौरे झरी परेको हो भनेर सोधेका छौं। उनले मनसुनको समयमा पानी पर्ने र रोकिने भइरहने बताए। यद्यपि लगातार झरी नै पर्ने भने अहिले नदेखिएको उनको भनाइ छ।
अहिले गण्डकीका सबै जिल्ला, लुम्बिनीका नवलपुरदेखि दाङसम्म, गण्डकीका मनाङ मुस्ताङबाट तल्लो भूभागहरुमा, कोशीका पश्चिमी भूभागहरुमा पानी परिरहेको मौसविद् अर्यालले जानकारी दिए।
सुदूरपश्चिममा राति पानी पार्ने प्रणाली जाने र भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान रहेको उनले बताए। काठमाडौंमा पनि बेलुकासम्म पानी रोकिँदै पर्दै गर्ने उनले बताए।
‘जलवाष्पयुक्त हावाहरू देखिएकै छन्। केही समय रोकिने र फेरि पर्ने हुन्छ। काठमाडौंमा खासै सफा र सुधार हुने देखिएको छैन,’ उनले भने।
मौसमविद् अर्यालका अनुसार भारतको ओडिशा र आन्ध्र प्रदेशबाट सशक्त र बलियो न्यूनचापीय क्षेत्रको विकास भई मध्यपूर्वमा प्रभाव रहेका कारण त्यसले भारीदेखि धेरै भारी वर्षा भएको बताए।
‘सशक्त र बलियो न्यूनचापीय क्षेत्रको विकास भएको र त्यसले बंगालको खाडीको जलवाष्पयुक्त हावा पनि तानेर मध्य हुँदै पूर्वका भाग र विस्तारै सर्दै लुम्बिनी हुँदै कर्णाली र सुदूरपश्चिमतिर जाने देखिन्छ,’ उनले भने।
उक्त प्रणालीले प्रभाव परेका ठाउँमा अलि बढी पानी पर्ने अर्यालले बताए।
‘सिस्टम केही हदसम्म स्थिरजस्तो देखिएका कारण अलिअलि पानी त पर्छ, मध्यम खालकै हुन्छ। भारी भइहाल्यो भने पनि मनसुनको सिजन हो ठूलो रूपमा लिनुपर्दैन,’ उनले भने।
आधा भदौ नाघेपछि पानी पर्न पूरै कम हुन्छ भन्ने बुझाई भएपनि मनसुनको अवधि एक महिना बाँकी नै रहेकाले पानी पर्न अझै बाँकी नै रहेको उनले बताए।
‘जुलाई र अगस्ट पिक सिजन अफ मनसुन हो। सेप्टेम्बर सुरू भयो, अब बिस्तारै कम हुँदै जान्छ। ५/७ देखि १० दिनभित्र पूरै चेन्ज हुन्छ। पानीको मात्राचाहिँ कम होला। एउटा, दुइटा पानी पार्ने सिस्टम असोजसम्म आउँछ,’ उनले भने।
सामान्यतया मनसुन अक्टोबर २ मा बाहिरिने मान्यता छ। त्यसकारण पानी पर्ने समय अझै बाँकी रहेको अर्यालले बताए। ‘पोहोर परार पानी खड्किएर जाने अथवा नपरेर जाने भन्ने थियो। यसपालि पानी पर्न अझै बाँकी छ,’ उनले भने।