बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा धर्ना भएको छ।
बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा नेपाली कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौं माइतीघर मण्डलमा धर्ना भएको हो।
साउन २५ गतेदेखि कंकलीदेखि माइतीघरसम्म हिँडेर आएर धर्ना बसेका थिए।
तीन सातादेखिको धर्नामा सरकारले चासो नदेखाएपछि आइतबार माइतीघर मण्डलदेखि बालुवाटारसम्म खालीखुट्टा हिँडेर प्रदर्शन गर्ने लागिएको अभियन्ता रूबी खानले जानकारी दिइन्।
'हामी हिँड्ने तयारी गरिरहेका छौं, अहिले ४०/४५ जना छौं विस्तारै बाटोमा जोडिँदै जानुहुन्छ,' उनले भनिन्।
उनकाअनुसार निर्मला कुर्मीको हत्याको मुद्दा अदालतमा पुर्याउनु पर्ने हो। तर मुख्य आरोप लागेका व्यक्तिलाई मन्त्री बनाइएको छ। त्यही कारण पीडितले न्याय पाउने सुनिश्चित नभएकाले धर्नामा बस्न बाध्य भएको हो।
यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टीले पीडकलाई संरक्षण गरिरहेको उनीहरूको आरोप छ।
उनीहरूले बादशाह कुर्मीलाई मन्त्री पदबाट हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने र आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरूको छ।
तस्बिरहरू: