बिहीबार दिउसो पौने १ बजेको हुँदो हो, एक वृद्ध हस्याङफस्याङ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको कार्यकक्षमा पुगे।
कालो आस्कोट र ढाका टोपी लगाएका उनले छड्के झोलासमेत भिरेका थिए।
थकितजस्ता देखिने उनी आफू आफूजस्तै वृद्धहरूले दिनहुँ बेहाेर्दै आएको समस्या मुख्यमन्त्रीलाई सुनाउन आएको भन्दै उनको सचिवालयको सम्पर्कमा पुगेका थिए।
वृद्ध पिर–मर्कामा परेको हुनसक्ने ठान्दै सचिवालयले उनलाई तुरून्तै मुख्यमन्त्रीसँग भेट गराइदियो।
मुख्यमन्त्रीलाई भेट्ने बित्तिकै ती वृद्धले बाँकेको कोहलपुर नगरपालिकाले दिएको ज्येष्ठ नागरिकको परिचयपत्र देखाए।
परिचयपत्रमा लेखिएको रहेछ– नाम जुद्धप्रसाद भट्टराई, ठेगाना कोहलपुर नगरपालिका वडा नम्बर १२ मसुरी खेत र जन्ममिति १९९० भदौ १३ गते।
परिचयपत्रमा उल्लेख गरिएको जन्ममितिलाई आधार मान्दा उनको उमेर ९२ वर्ष पुगिसकेको छ।
मुख्यमन्त्रीलाई भेट्नेबित्तिकै उनले वृद्धवृद्धाले दिनहुँ बेहाेर्दै आएको सकस सुनाउन थाले।
‘सरकारले वृद्धहरूलाई सम्मान गर्नुपर्छ भनेर परिचयपत्र पनि दिएको छ। तर हामीहरू यताउता हिँडडुल गर्दा सार्वजनिक गाडी चढ्नुपर्छ। चालकहरूले चढाउनै मान्दैनन्। चढाइहाले पनि पूरै भाडा नलिई छाड्दैनन्,’ उनले गुनासो सुनाउँदै गए, ‘मुख्यमन्त्रीलाई नै भेटेर भनेपछि बुढाबुढीलाई सम्मान र सार्वजनिक सवारी साधनमा भाडा छुट होला भनेर म त भेट्न पो आएँ त!’
सरकारले ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा यातायात र स्वास्थ्योपचारमा छुट दिने भनिए पनि वृद्ध उमेरका नागरिकले नपाउने गरेको दुखेसो पोखे।
‘सकेसम्म त बाटोमा बुढाबुढीले गाडी रोके पनि चढाउन मान्दैनन्, चढाइहाले पनि पूरै भाडा तिनुपर्छ भन्छन्। कसैकसैले १ सय रुपैयाँ भाडा तोकिएको छ भने पनि भाडा डेढसय रुपैयाँ हो तपाईंले १ सय तिरे पुग्छ भन्दै पूरै लिन्छन्। बुढाबुढीलाई कति भाडा हो भन्ने थाहा हुँदैन। ५० रुपैयाँ छुट गर्यो भनेर खुसी हुन्छन्। यसरी पनि हामीहरू ठगिएका छौं,’ उनले सुनाए।
आफू दैनिकजसो घुमफिर गरिरहने भएकोले सधैं यस्तो समस्या भोगिरहनुपरेको उनको कथन थियो।
‘म ९२ वर्षको भए पनि घरमै बसिरहन मन लाग्दैन, स्कुलहरूमा गएर सानासाना नानीबाबुहरूलाई आफ्ना अनुभव र ज्ञानगुणका कुरा सुनाउँछु। मठमन्दिर घुमिरहन्छु। अहिले पनि म कोहलपुरबाट एक्लै भालुवाङ आएको छु,’ उनले भने।
भट्टराईको गुनासो सुनेपछि मुख्यमन्त्री आचार्यले कानूनमै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने उल्लेख भएकोले त्यस कार्यविधि अक्षरशः कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने आश्वासन दिए।
कानूनले ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिएको छ। सोहीअनुसार ६० वर्ष माथीका ज्येष्ठ नागरिकको लागि प्रत्येक सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गर्नुपर्ने र परिचयपत्रको आधारमा ५० प्रतिशत गाडी भाडा छुट दिने कानूनी प्रबन्ध छ। तर यो व्यवस्था पूर्ण कार्यान्वयनमा आउन नसकेको गुनासोउनीजस्तै वृद्धहरूले गर्ने गरेका छन्।
मुख्यमन्त्रीसँगको भेटमा भट्टराईले ८० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग राखेका थिए।
घरमा बस्नु भन्दा घुमेर समय बिताउन चाहने ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिनुपर्ने उनले बताएका थिए।
‘एकै ठाउँमा बसिरहँदा थला परिन्छ। स्वास्थ्यका लागि राम्रो पनि हुँदैन। घुमफिर गराउने काम राज्यले गर्नुपर्छ,’ भट्टराईले भने, ‘म घुमिरहन्छु तर, गाडीमा चढ्नै मुस्किल छ। ढाँट–छल गर्न खोज्छन्। अनाहकमा दुःख दिन्छन्। सरकारले हामीलाई सम्मानपूर्वक घुमिफिर गर्ने वातावारण बनाइदिनुपर्यो,’।
मुख्यमन्त्री आचार्यले ६० वर्ष माथीका नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटसँगै ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गर्ने बताएका थिए।
‘ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो। पाका पुस्ताको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरेर मात्र समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने हाम्रो अभियान पूरा हुन सक्छ। हाम्रो यो अभियानमा जोडिन सबैलाई मैले आग्रह गर्छु,’ मुख्यमन्त्री आचार्यले भने।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको संख्या २९ लाख ७७ हजार ३१८ छ।