बुटवलको जितगढी किल्लामा भएको युद्धमा नेपाली सेनाले ब्रिटिस सेनालाई पराजित गरी विजय हासिल गरेको सम्झना स्वरूप मंगलबार पाल्पामा रथयात्रासहित भगवती जात्रा (विजयउत्सव) निकालिएको छ।
वि.सं. १८७१ सालमा पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताको साथ लडाइँ लडेर विजयको झण्डा फहराएको थियो।
१८७१ पुसदेखि १८७२ जेठसम्म भएको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ।
त्यसैको निरन्तरता स्वरूप मंगलबार दिउँसो १२ बजे तानसेनमा २०५ औं विजयउत्सव एवं भगवती रथजात्रा निकालिएको हो। उक्त रथयात्राको अवलोकनको लागि राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा आएका छन्।
अंग्रेजसँग भएको जितगढी युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाले जितगढीमा विजय प्राप्त गरेपछि पाल्पाको तानसेनमा भगवतीको मन्दिर स्थापना गरी सिन्दुर यात्रा गरी भगवतीको जात्रा निकाल्ने छु भनी भाकल गरेका थिए। भाकल गरी लडेको लडाइँमा विजय हासिल गरेपछि १८७६ सालमा तानसेनमा भगवतीको मन्दिर निर्माण गरी भगवती जात्रा निकाल्ने परम्पराको थालनी गरेका हुन्।
विश्वको भू-भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश साम्राज्यवादलाई नेपाली भूमिमा पराजित गरेको खुशीयालीमा निकाल्न सुरू गरिएको भगवती जात्राले अहिले पनि निरन्तरता पाइरहेको छ। तत्कालीन समयमा नेपाली सेनाले चलाएको विजय जात्रा अहिले आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा स्थापित भएको छ। तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ।
कृष्ण जन्माष्टमीको राति साइत जुराएर सम्मानका साथ खट यात्राको लागि राखिएकोे भगवतीको प्रतीमालाई नेपाली सेनाका प्रमुखले कर्णेल उजिरसिंह थापाको खड्ग लिई प्रतीमालाई अगाडि लगाउँदै रथमा लगेर राख्ने गर्छन्।
भोलिपल्ट साइत जुराएर न्यायाधीशको आदेशपछि मात्रै नेपाली सेनाको सम्मान गारद अर्पणसँगै बढाइँका साथ रथ उचालिन्छ। उचालिएको रथलाई तीन पटक मन्दिर परिक्रमा गराइसकेपछि कर्णेल पूजा हुन्छ। त्यसपछि पाल्पा दरबारमा रथ लगी प्रमुख जिल्ला अधिकारीबाट पूजा भएपछि मात्र सर्वसाधारणको पूजाका लागि राख्ने गरिन्छ।
यसवर्ष पनि सोमबार राति साइत जुराएर खट यात्राको लागि राखिएको भगवतीको प्रतीमामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पौने १२ बजे पूजा गरेपछि तानसेन नगर परिक्रमाको लागि रथ उचालिएको थियो। तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट बाजागाजाका साथ निकालिएको रथयात्रालाई मुलढोकाबाट निकालेर बजार परिक्रमा गराइँदै छ। नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्रालाई बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै लगेर दिउँसो विसर्जन गर्ने चलन छ।
भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी, रुपन्देही, अर्घाखाँची, स्याङ्जा लगायतका ठाउँबाट समेत सर्वसाधारण तानसेन आएका छन्। यसपटक राष्ट्रपति र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको उपस्थितीमा निकालिएको भगवती जात्रामा सर्वसाधारणको समेत ठूलो संख्यामा उपस्थिति रहेको छ।
अंग्रेजसँग भएको युद्ध र युद्धमा अंग्रेजलाई पराजित गरी विजयसँग गाँसिएको भगवती जात्रा आज पनि उत्तिकै महत्वका साथ निकालिएको छ। विजय उत्सवको अवसरमा भगवती मन्दिर परिसर र पाल्पा दरबार क्षेत्र ध्वजा पतकाले सिंगारिएको छ। लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा मंगलबार पाल्पा जिल्लामा सार्वजनिक विदा समेत दिएको छ।
तस्बिरहरू: