रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का बासिन्दा सुखु मल्लाह र उनकी श्रीमती कवुतरीको मृत्यु तीन वर्षअघि नै भइसकेको थियो।
सुखुका भतिजाहरू लालजित मल्लाह र सन्तु मल्लाह (मल्लाह दाजुभाइ) ले आफ्ना काकाकाकी नि:सन्तान रहेकाले आफूहरूले नै उनीहरू बाँचुन्जेल ख्याल गरेको र मरेपछि किरियाकर्म गरेको बताउँछन्।
उनीहरूले काकाकाकीको मृत्युपछि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरी काकाको नाममा रहेको सम्पत्ति आफूहरूका नाममा गराएका थिए।
जिल्ला अदालत, रूपन्देहीले २०७८ कात्तिक १५ गते सुखुको नाममा रहेको जमिन लालजित र सन्तुको नाममा हुने फैसला गरेको थियो। सोही अनुसार दाजुभाइले अंशबण्डा गरेका थिए।
त्यसपछि एकाएक सुखुका छोरी हौं भन्दै दुई महिलाले अड्डा अदालतमा निवेदन/ मुद्दा हाल्न थालेपछि मल्लाह दाजुभइ तीन वर्षदेखि तनावमा छन्। ती महिलाहरू आफ्ना काकाका छोरी नभएको जिकिर गर्दै उनीहरू जिल्ला प्रशासन र अदालत धाइरहेका छन्।
सुखुको मृत्युपछि आफू छोरी भएको भन्दै मालती र रिखीदेवीले सिद्धार्थनगर नगरपालिका ६ मा सुखुकी मृत्युदर्ता माग गरेका थिए। वडा कार्यालयले सुखुका छोरी नभएको भन्दै मृत्युदर्ता दिएन।
त्यसपछि उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सिद्धार्थनगर नगरपालिका र वडानम्बर ६ को कार्यालयविरूद्ध मुद्दा दिए। अदालतमा मुद्दा दर्ता गरे पनि उनीहरूले सुखु मल्लाहकी छोरी भएको पेश गर्न नसकेपछि रिट निवेदन नै खारेज गरिदिएको थियो।
मालतीले बावु दाबी गरेका सुखु र उनको जन्ममिति जम्मा ६ वर्ष फरक देखिएको र रिखिदेवीको समेत दाबी /प्रमाण नपुगेको भन्दै न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ गते रिट निवेदन नै खारेज गरिदिएको थियो।
उच्चले रिट खारेज गरेपछि पनि रिखिदेवी र मालतीले आफूहरू दुबै सुखुका छोरी भएकोले उनको मृत्युपछि लालजित र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग दाबी गर्दै रूपन्देही जिल्ला अदालतमा मुद्दा हाले।
जिल्ला अदालतमा मुद्दा दिएपछि उनीहरूले वडा नम्बर ६ का वडा सचिवको मिलेमतोमा सुखुको मृत्युदर्ता प्रमाणपत्र निकालेको मल्लाह दाजुभाइको आरोप छ।
दाजुभाइले मालती र रिखिदेवी भारतीय नागरिकका छोरीहरू भएको दाबी गर्दै उनीहरूको नागरिकता छानबिन गरी खारेजी गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।
यता मालती र रिखिको मुद्दामा जिल्ला अदालतले पनि उनीहरूको नागरिकताको यथार्थ विवरण जिल्ला प्रशासन कार्यालयसँग मगायो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले उनीहरूको नागरिकता खिचेर राख्यो। सुखुका छोरी भन्दै वडाले दिएको सर्जमिन देखाएपछि फिर्ता दिएको देखिन्छ।
सर्जमिनपछि अनुसन्धानको लागि भन्दै लिएको रिखीदेवी र मालतीको नागरिकता सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँ र मायादेवी गाउँपालिका- ३ का वडाध्यक्ष मोहम्मद रफिक खाँको रोहबरमा फिर्ता गरियो। नागरिकता फिर्ता दिँदा रिखीदेवीको साक्षी नगर प्रमुख खाँ र मालतीको साक्षी मोहम्मद रफिक बसेका छन्।
प्रशासनले नागरिकता छानबिन गर्नुको सट्टा सम्बन्धित वडामा नभई अर्कै वडाबाट सर्जमिन गराएर रिखीदेवी र मालतीले सुखुका छोरी भएको सिफारिसलाई मान्यता दिएको लालजित र सन्तको आरोप छ।
‘हाम्रो निवेदन परेपछि जिल्ला प्रशासनले रिखीदेवी र मालतीको नागरिकताबारे वडा नम्बर ६ मा सर्जमिन गर्नुपर्नेमा वडा नम्बर ८ मा सर्जमिन गर्यो। वडा नम्बर ६ का अध्यक्षले नमानेपछि मिलेमतोमा ८ मा गएर हाम्रा काका सुखुका छोरी भएको सर्जमिन गराउनुले मिलेमतो भएको प्रष्ट हुन्छ,’ लालजितले भने।
वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले सुखु मल्लाहले जीवनभर आफ्नो जग्गा कमाएर बसेको र उनीहरूका कुनै पनि सन्तान नभएकोले त्यस्तो सर्जमिन नगरिदिएको पुष्टि गरे। तर जिल्ला प्रशासनले मालती र रिखीदेवी सुखुकै छोरी भएको सर्जमिन पठाएपछि त्यसकै आधारमा जिल्ला अदालतले २०८० भदौ २६ गते फैसला गर्यो।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजालासले सुखुको जायजेथा मालती र रिखीदेवीको नाममा जाने फैसला गरिदिएको हो।
मल्लाह दाजुभाइले अंश सम्बन्धी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत, बुटवलमा पुनरावेदन गरेका छन्।
उनीहरूको नागरिकता नै गलत ढंगले लिएको आधार हुँदाहुँदै पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नागरिकता छानबिनको निवेदन बेवास्ता गरी तामेलीमा राखेको मल्लाह दाजुभाइको आरोप छ।
उनीहरूले मालती र रिखीदेवीको नागरिकता सम्बन्धी उजुरी तामेलीमा नराखी छानबिन गर्न माग गर्दै फेरि निवेदन दिएका छन्।
सुखुका छोरी हौं भनेर दाबी गर्ने मालती र रिखीदेवी भारतको बस्ती जिल्ला, मेहदावलका बदल मल्लाहका छोरी रहेको मल्लाह दाजुभाइको भनाइ छ। मालती बदलकी जेठी श्रीमतीबाट र रिखीदेवी कान्छी श्रीमतीबाट जन्मिएको लालजितले बताए।
मालती र रिखीदेवी दुबै विवाहित हुन्, दुबैका श्रीमान नेपाली नागरिक हुन्। तर दुवैको वंशजको नागरिकता छ। ती नागरिकता नक्कली भएकाले छानबिन गरी खारेज हुनुपर्ने उनीहरूको जिकिर छ।
रूपन्देहीमा दुई ठाउँ विवाह गरेकी रिखीदेवीले दुबै पतिको नामबाट फरक फरक जन्ममिति राखेर नागरिकता बनाएकी छन्। रिखीदेवीले तत्कालीन कम्हरिया गाविस ६ का प्रशुराम मल्लाहसँग पहिलो विवाह गरेकी थिइन्। अहिले सिद्धार्थनगर-८ का राजेशकुमार अग्रवालसँग विवाह गरेकी छन्। प्रशुरामको नामबाट निकालिएको नागरिकतामा जन्ममिति २०३९ साल भदौ ७ गते उल्लेख छ भने राजेशकुमार अग्रवालको नामबाट निकालिएको नागरिकतामा जन्ममिति २०३५ साल भदौ ७ गते उल्लेख छ।
उनले दुवै नागरिकतामा बाबुको नाम सुखु मल्लाह राखेर पतिहरूको सनाखतमा नागरिकता बनाएकी छन्। पहिलो नागरिकतामा प्रमाणित गरिदिने अधिकारीको नाम, हस्ताक्षर र मिति समेत उल्लेख छैन भने २०५८ साल फागुन १३ गते लिएको दोश्रो नागरिकतामा तारा बहादुर कार्कीले प्रमाणित गरिदिएका छन्।
यता मालती मल्लाहिनले २०४६ सालमा लिएको नागरिकतामा आफ्नो जन्ममिति २०१२ जेठ २० गते उल्लेख छ। उक्त नागरिकता तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मदत्त बरालले प्रमाणित गरिदिएका छन्।
जबकी उनले बाबु दाबी गरिएका सुखुको जन्ममिति २००६ साल छ। २०४० सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी दान बहादुर शाहीले प्रमाणित गरेर दिएको नागरिकतामा सुखुको ३४ वर्ष उमेर उल्लेख छ।
मालतीले रूपन्देहीको मायादेवी गाउँपालिका ३ का बसन्त मल्लाहसँग विवाह गरेकी छन् भने उनको नागरिकतामा बसन्तले सनाखत गरिदिएका छन्।
'रिखीदेवी र मालतीले बुवाको महलमा हाम्रा काका सुखु मल्लाहको नाम राखेर श्रीमानबाट सनाखत गराई वंशजको आधारमा नागरिकता निकालेका छन्। काका सुखुको मृत्यु हुनुभन्दा पहिला उनीहरूले न त बावु दाबी गरेर पालनपोषण गर्न आए, न त अंश मागे। अहिले स्थानीय केही जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा काकाका छोरी हौं भनेर सर्जमिन समेत गराएका छन्,' मल्लाह दाजुभाइ भन्छन्।
उनीहरूका अनुसार काका सुखुको नाममा सिद्धार्थनगरको दुई ठाउँमा गरी करिब १८ कट्ठा जग्गा छ। एउटा घर पनि छ। यो सबैको नगद मूल्यांकन कम्तीमा साढे दुई करोड रुपैयाँ हुन्छ।
‘काकाकाकी (सुखु र कवुतरी) दुःखबिराम हुँदा औषधि उपचार गर्यौं। मृत्युपछि पनि सबै संस्कार हामी दुई दाजभाइले गरेका हौं,’ गएको हप्ता भैरहवामा पत्रकार सम्मेलन गर्दै सन्तुले भने, ‘काकाकाकी बाँचुन्जेल हामी छोराछोरी हौं भनेर कोही पनि आएन। मृत्युपछि एकाएक नक्कली छोरी बनेर मालती र रिखीदेवीले हाम्रा काकाकाकीको सम्पत्ति खाने दाउ गरेका हुन्।'
उनीहरूले दिएको निवेदनमा अहिले बल्ल मालती र रिखीदेवीको नागरिकता छानबिन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालती र रिखीदेवीको नागरिकता प्रमाणपत्रमाथि छानबिन सुरू भएको बताए।
‘पहिला पनि सर्जमिन भएको रहेछ, पीडितहरूले पुनः तामेली जगाउन निवेदन दिनुभयो। यसबारे हामीले बुझ्यौं र निवेदन दर्ता गर्यौं,’ अर्यालले भने, ‘प्रहरी वडा कार्यालयमा गएर फेरि सर्जमिन गरेर आएको छ। अहिले अनुसन्धान हुँदैछ।’
उनका अनुसार केही तथ्यका आधारमा मालती र रिखीदेवीको नागरिकता प्रमाणपत्रबारे अनुसन्धान सुरू भएको हो।
सुखुको गाउँ (वडा नम्बर ६) मा गरिएको सर्जमिनमा सुखु मल्लाह निःसन्तान रहेको तथा मालती र रिखीदेवी भारतीय नागरिक बदल मल्लाहका छोरी हुन् रहेको भन्ने मुचुल्का भएको छ।
वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले सुखु र कवुतरी जीवनभर आफ्नो जग्गा कमाएर बसेको र उनीहरू निःसन्तान रहेको आफूलाई थाहा भएकाले सोहीअनुसार सर्जमिन मुचुल्का गरिदिएको बताए।
‘सुखुलाई म बचपनदेखि नै चिन्छु। हाम्रो जग्गाजमिन उनीहरूको परिवारले कमाएको थियो। हाम्रो घर पनि ५०–६० मिटर वरपर छ,’ उनले भने, ‘त्यसरी जानेपछि मालती र रिखीदेवी सुखुका छोरी हुन् भनेर मैले सर्जमिन गरिदिने कुरा भएन। पहिला पनि सुखुका छोरी भनेर मैले सर्जमिन नगरेपछि अर्को वडा (वडा नम्बर ८) बाट गराएर लगेछ।’
फेरि अर्को सर्जमिनका लागि प्रहरी आएपछि गाउँका पुराना बासिन्दा समेत राखेर सर्जमिन गराएको वडाध्यक्ष श्रीवास्तवले बताए।
मल्लाह दाजुभाइले वडाअध्यक्ष श्रीवास्तव, प्राध्यापक शंकरप्रसाद नेपाल, स्थानीयवासी र प्रहरीको रोहवरमा गरिएको पछिल्लो सर्जमिन सही भएको बताउँछन्।
पहिलो सर्जमिनमा हस्ताक्षर गरेका वडा नम्बर ८ का वडा अध्यक्ष राजनजंग राणाले मालती र रिखीदेवीको नागरिकताको विषयमा सर्जमिन भएको भन्ने थाहा नपाएर हस्ताक्षर गरिदिएको भन्दै आफ्नो बचाउ गरेका छन्।
उनले भने, ‘वडा प्रहरी कार्यालयबाट सर्जमिन मुचुल्का बनाएर ल्याएको थियो। मैले नागरिकतामा लेखेअनुसार सुखुका छोरी हुन् भनेर हस्ताक्षर गरिदिएँ। नागरिकताकै विषयमा सर्जमिन भएको भन्ने मलाई थाहा भएन।’
राणाले सुखु वडा नम्बर ६ का बासिन्दा भएकोले मालती र रिखीदेवी उनका छोरी हुन् कि होइनन् भन्ने आफूलाई थाहा नभएको पनि बताए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले पनि मालती र रिखीदेवीको नागरिकताको आधारमा सर्जमिन गरिदिएको बताए।
उनले भ,ने ‘उनीहरू सुखुका छोरी होइनन् भने नागरिकता बनाउँदा कसरी उनको नाम राखे, त्यतिबेला नागरिकता दिनेले ख्याल गर्नुपर्थ्यो।’