भारतमा अस्पतालमै डाक्टरको बलात्कारपछि हत्या विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
चेञ्ज एक्सन नेपालले आयोजना गरेको प्रदर्शनमा अन्यले पनि स्वत:स्फूर्त रूपमा सहभागिता जनाएका थिए।
उनीहरूले माइतीघर मण्डलमा दीप प्रज्वलन समेत गरेका थिए।
पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन्।
परीक्षण गर्दा उनीमाथि बलात्कार र त्यसपछि हत्या भएको खुलेपछि कोलकातासहित भारतका विभिन्न सहरहरूमा प्रदर्शन चर्किरहेको छ। घटनाको विरोध गर्दै अभियुक्तलाई कडा कारबाहीको माग गरिएका सन्देशहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार कोलकाता प्रहरीले घटनाको भोलिपल्टै(अगस्ट १०) मा सञ्जय रोय नाम गरेका व्यक्तिलाई समातेको थियो।
मृतक डाक्टरको नङभित्र भेटिएको अभियुक्तको रगत र छालाको अंशको डिएनए पनि सञ्जयको डिएनएसँग मेल खाएकाले अभियुक्त उनै हुन् भन्ने प्रमाणित समेत भइसकेको हिन्दुस्तान टाइम्सले लेखेको थियो।
ती व्यक्ति अस्पतालकै स्वयंसेवक रहेकाले अस्पतालको सबै ठाउँमा उनलाई प्रवेश खुला थियो। उनी हरेक दिनजसो अस्पताल जान्थे। त्यस रात सेमिनार हलमा डाक्टर निदाइरहेको समयमा सञ्जय पुगेका थिए।
त्यसबेला डाक्टरले प्रतिकारका लागि भरमग्धुर प्रयास गरेको उनको नङभित्र भेटिएको छाला र रगतका धब्बाहरूले पुष्टी गर्ने कोलकाता प्रहरीले बताएको छ।
बलात्कारपछि अभियुक्तले घाँटी थिचेर डाक्टरको हत्या गरेको पोस्टमर्टम रिपोर्टमा देखिएको थियो।
तस्बिरहरू: